२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

नेतृत्वकै कारण एमालेमा अन्तर्ध्वंश

shivam cement
प्रा.डा. बद्री विशाल पोखरेल
२०८२ कार्तिक १८ गते ०६:०५
Shares
नेतृत्वकै कारण एमालेमा अन्तर्ध्वंश

जानेबुझे श्रीखण्ड, नजान्दा श्रीखण्ड नै खुर्पाको बिँड, अगेनाको दाउरो हुन्छ । पुर्खाहरूले फालेको टालो पनि काम लाग्छ भने गुण, गरिमा र गौरवशाली प्रतिभालाई मटियामेट पार्ने खोटो नियत हाबी भएको देखिन्छ । झुटले सातपटक संसारको परिक्रमा गर्दा सत्य चाहिँ जुत्ता लगाउँदै हुन्छ रे ! तर जब सत्यले जुत्ता लगाएर एक्लै पनि हिँड्न थाल्छ, त्यसका पछि नेता र कार्यकर्ताको लामै लस्कर लाग्छ । सत्यका अगाडि असत्य, अपराध र अकार्यण्यता धुजाधुजा पारिन्छ । सुकरात, ब्रुनो, ग्यालिलियो एक्लैएक्लै थिए तर समयक्रममा झुट र फरेब माटोमुनि पुरिए । अहिले एमालेमा असत्य हाबी भएको अत्यन्त दयनीय र टिठ लाग्दो दृश्य देख्नुपरेको छ ।

प्रथम महिला राष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीविरुद्ध नेतृत्वले सरासर झुटको पुलिन्दा मिसिल बनायो र आफू दूधले धोएको प्रमाणित गर्ने दुस्साहस गरियो । यस सबालमा नोकरशाही जनवादमा अभ्यस्त सिधासादा नेता र कार्यकर्तालाई कुहिराको काग बनाउने दुस्साहस गरियो । यसमा अध्यक्ष वृत्तका एकाध छद्म कम्युनिस्ट नेताका कारण पनि कार्यकर्ता सत्यतथ्य बुझ्न असमर्थ रहे । ‘यो नेता सधैं साँचो बोल्थ्यो, अहिले पनि सत्य नै बोलेको होला’ भनेर धेरै दिन कार्यकर्तालाई झुक्याउन सकिँदैन ।

चोर बाटोतिर लागेपछि साधु कहलिएको मानिसलाई कसैले सज्जन भन्दैन । ‘साँचो डक्दैन, झुटो टिक्दैन’ भनेझैं पार्टी सचिवालयका धेरै नेताको आँखा उघ्रिएको छ । केन्द्रीय समितिको बैठकमा आफ्ना पक्षमा भारी मत छ भन्ने भ्रम देशव्यापी रूपमा फिँजाउन ताली पिट्ने जत्थाको दुर्दशा देखियो । यस्तो दृश्य सर्वथा लज्जाजनक छ ।

एमाले र जबजले बोक्रा र पलाँस मात्र होइन, चुरोमा विशेष ध्यान केन्द्रित गरेको छ । अर्घाखाँची जिल्लाको भेला देखेर र देखाएर धेरै फुर्किनुहुँदैन । मात्तिने र आत्तिने दुवै अति हुन् । अतिवादले खतिवाद निम्त्याउँछ । जबजअनुसार यो पार्टी सञ्चालन गरिएको भए, यसको र देशको उचाइ निकै माथि पुग्थ्यो । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले झैं दाँत हाँसे पनि आँत नहाँसेको दृश्य देख्नेले देखेकै छन् । यस्ता सूक्ष्म दृश्य ओलीले नै कुनै समय उल्लेख गरेझैं चर्मचक्षुले देखिँदैन । ग्यास्ट्रिक बिग्रिए अल्सर अनि क्यान्सर हुन्छ । क्यान्सरका लक्षण देखिन थालेका छन् । क्षयरोग पालेर कोही दीर्घायु भएको छैन । एमालेभित्र अन्तर्विरोधजन्य भुसको आगो सल्किएको ज्ञानचक्षुले मात्र देख्छ ।

खोटांगे एमाले नेता विशाल भट्टराईले इटहरीमा बसोबास गर्ने आफ्ना जिल्लाका नेता र कार्यकर्ता भेला गरेका थिए । त्यहाँ अध्यक्षलगायत एकाध नेताबारे सेतै कपाल फुलेका अग्रज र अनुभवी कार्यकर्ताले गरेको कटु कटाक्ष जति गर्दा पनि पुग्दैन । धेरै नै सकसक र खसखस गर्ने बानीले गर्दा यस लेखकले देशभरिका बोराका एमाले नेताको नाडी छामेको छ । अध्यक्षलाई भुइँ तहका यथार्थ सत्य नबताउँदा गुमराहमा पर्नु स्वाभाविक होला । ‘आँ गर्दा अलंकार बुझ्ने’ महान् क्षमताका अध्यक्षले बुझीबुझी बेवास्ता गरेको पनि हुन सक्ने आधार प्रमाण मसित छ ।

विद्या भण्डारीउपर अलि पहिलेको इबी साँध्न खोजेको र पार्टी सदस्यताको किचलो अध्यक्षले आफैंले झिकेको सबलाई थाहा छ । अहिले पनि सकेसम्म गलाउने, थकाउने र आखिरमा ‘हाम्रा हजुरमा पाऊ लागी गर्न बाध्य पार्ने’ नियत त्यत्तिकै थाहा हुन्छ ज्ञानचक्षुलाई । ‘संगठित सदस्यता पाऊँ’ भनेर फेरि विद्याले नम्र निवेदन दिनुपर्ने ? ‘मेरो गर्धन चिलाएको कि महाराज ! यो रुख त बांगै देख्छु’ भन्ने सामान्य निरक्षर जनताको जत्ति ज्ञान र विवेक नहुनु अति दुःखद् हो । 

घरको एउटा मूल खाँबो हल्लाएर, घरको जग खोस्रिएर घर सबल बन्दैन । विद्याको उपस्थितिले मात्र पनि आगामी महाधिवेशन स्वस्थ बन्न सक्छ । यही कुरालाई विशेष ध्यान दिएर मन, वचन र कर्मले अर्जुन दृष्टि लगाएर षड्यन्त्रकारी लागिपरेको स्पष्ट हुन्छ । यसको पूर्वतयारी सुरु नै गरियो जस्तो लाग्छ । किनभने जे उद्घोष गरियो, त्यसलाई पूरा गर्न चलखेल पनि बेलैमा गर्नुपर्छ । यस्तै चाला रहिरह्यो भने आगामी ११औं पार्टी महाधिवेशन नाम मात्रको हुन पनि सक्छ । तथापि पार्टी अध्यक्षलाई एक अभिभावककै रूपमा हामी सम्मान गर्छौं । पार्टी स्थायी समिति सदस्य कर्णबहादुर थापाले झैं अध्यक्षका पक्षमा आमनेता र कार्यकर्ता उभिन्छौं ।

नेपाललाई विखण्डन गरी रसातलमा पु¥याउन गुप्त षड्यन्त्र गर्नेहरू देश र जनताका प्रमुख दुस्मन हुन् । तिनलाई सुनपानी छर्किएर चोखो र पवित्र बनाउने अनि ओलीलाई एउटा न एउटा निहुँमा राज्य सत्ता, शक्तिको चरम दुरुपयोग गरी अभियुक्त करार गर्ने कुरा मान्य हुँदैन । यसविरुद्ध पार्टी एकढिक्का हुन्छ र हुनुपर्छ तर सिंगो पार्टीको उच्च अभिभावकले कसैलाई ओच्छ्यान, कसैलाई रच्छ्यानमा पार्नुहुँदैन । यसो गरेपछि कसैले पनि सहन सक्दैन र देख्नेसमेत लजाउँछ । अभिभावकले हाक्काहाक्की सौतेनी व्यवहार गरेपछि घरपरिवारको मन जित्न सकिँदैन र मनभित्रैबाट माया गर्न पनि मन लाग्दैन । यसो भएपछि पार्टीमा आन्तरिक एकता कहिल्यै हुँदैन ।

यो लेखक जसका पनि कमी कमजोरी उल्लेख गर्ने र आवश्यक परे निर्मम कटाक्ष गर्छ भन्ने ओलीलाई राम्रै थाहा छ । देश र जनताको हितलाई सर्वोपरि राखेर आदरणीय शहीदहरू रत्न बान्तवा, ऋषि आजाद र रामनाथहरूले ज्यान कुर्बान गरे । हामी कम्तीमा कुनै पनि पद, प्रतिष्ठा, अवसर, सरसुविधाको आश नगरी विकृतिविरुद्ध किन ठिंग सक्दैनौं ? ‘सोझो औंलाले घिउ आउँदैन’ भन्ने विद्यापक्षले बुझ्न अब ढिला भएको देखिन्छ । पार्टीभित्रै विकृत र विकृतिलाई रन्थनिने गरी बोल्नुपर्छ । कलात्मक हस्तक्षेपमार्फत धावा बोल्नुपर्छ । पहिले खलखली पसिना छुट्ने गरी प्रश्न गर्ने हो भने विकृतिको भागाभाग हुन्छ । 

विद्या भण्डारीको संगठित सदस्यतासम्बन्धी विषयलाई आफैंले निफनेर सडकमा बिस्कुनझैं सुकाएझैं छारस्ट गरेपछि उठाउन केको लाज ? मोरङ जिल्लाको सचिवालय बैठकमा पूर्वकेन्द्रीय सदस्य तथा सल्लाहकार विनोद ढकालको आलोचनात्मक समीक्षात्मक मन्तव्य सुनेर केन्द्रीय उपाध्यक्ष गुरु बराल र प्रदेश इन्चार्ज शेरधन राई नतमस्तक भएको एक सदस्यले सुटुक्क बताए । अत्यन्त सतही सूचना–सञ्चारका कारण सत्यतथ्यको अन्तर्य र यथार्थ कुरा थाहा नपाएका कार्यकर्तालाई केही दिन भ्रमित पार्न सकिएला तर जब तिनले गुह्य गुप्त सत्यतथ्य थाहा पाउँछन्, त्यति बेला ढाँटुवाको भागाभाग हुने निश्चित छ ।

‘विद्या भण्डारी राजनीतिमा आए गणतन्त्र समाप्त हुन्छ’ भन्ने महाज्ञानी पोखरेल थरी नेता कोशी प्रदेशमा मात्र होइन देशका कार्यकर्तासित कसरी मुख देखाउलान् ? जबजमा उल्लेख गरेझैं जस्तालाई त्यस्तै नगरी पार्टी बच्ने भएन, देश बाँच्ने देखिएन । पार्टी र नेतृत्वका क्रियाकलाप इतिहासमा दर्ज हुने विषय हो ।

इतिहास निर्मम हुन्छ र यसको लेखनमा विवेक र इमानको कलम चल्छ । त्यतिबेला बिहान–बेलुका अहोरात्र भजन मात्र गाउने भाट र भृत्य हुँदैनन् । एमाले जनले बुझून् – यो जबज र युगनेता मदन भण्डारीको युग हो, अमुक स्टालिनको होइन ।

ADV

ताजा खबर

सम्बन्धित खबर