
पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको झन्डै एक महिनादेखि केन्द्रीय समिति बैठकमा छ । दुई महिनाअघिको जेनजी विद्रोहपछि बदलिएको परिस्थितिमा कांग्रेसको निर्णय पार्टी पंक्ति मात्र होइन्, सिंगो मुलुकले प्रतीक्षा गरिरहेको छ । आउँदो २१ फागुनको आमचुनावमा जाने वा प्रतिनिधि सभा पुनस्र्थापित गरेर राजनीतिलाई संवैधानिक ट्र्याकमा फर्काउने भन्नेमा कांग्रेस प्रस्ट भइसकेको छैन । विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको अनिर्णयले राष्ट्रिय राजनीतिसमेत अन्योलग्रस्त हुन पुगेको छ । अर्को ठुलो दल नेकपा एमालेले संसद् पुनस्र्थापनाका लागि हस्ताक्षर संकलन गरिरहेका बेला कांग्रेसले पनि त्यस्तै अभियान सुरु गरेको छ । त्यसले कांग्रेसको संस्थापन पक्ष संसद् पुनस्र्थापनाको बाटोमा जाने सम्भावना पनि देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने आमचुनावको पक्षमा छन् । कांग्रेसलाई आमचुनाव कि प्रतिनिधि सभा पुनस्र्थापनामा जाने टुंग्याउनभन्दा ठुलो सकस पार्टी महाधिवेशन कहिले गर्ने भन्नेछ । झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दासमेत संस्थापन पक्ष सार्ने र टार्ने रणनीतिमा देखिन्छ ।
जेनजी विद्रोहपछि संस्थापनइतर समूहको चर्को दबाबपछि सभापति शेरबहादुर देउवा कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर उपचारका लागि सिंगापुरमा छन् । तैपनि कांग्रेसमा महाधिवेशन कहिले गर्ने टुंगो लागेको छैन । संस्थापन पक्ष २१ फागुनको आमचुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ भने संस्थापनइतर पक्ष पुसमा महाधिवेशन गरेर नयाँ नेतृत्वसहित पार्टी महाधिवेशनमा जानुपर्ने अडानमा छ । कार्यवाहक सभापति खड्काले मिलनबिन्दु जुटाउन सकेका छैनन् । लोकतान्त्रिक पार्टीका केन्द्रीय बैठकमा घनिभूत छलफल हुनु स्वाभाविक छ । तर राष्ट्रिय राजनीतिलाई नै ‘डेडलक’मा राखेर कांग्रेस आफ्नो कमजोर निर्णय क्षमताको प्रदर्शन गरिरहेको छ । यसले कांग्रेसको पार्टी पंक्ति मात्र होइन्, सिंगो मुलुकमा अन्योलता सिर्जना गरिदिएको छ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको छवि परिपक्व पुरानो दलका रूपमा स्थापित छ । उसले लिने निर्णयले मुलुक आमचुनावतर्फ जान्छ वा प्रतिनिधि सभा पुनस्र्थापनाको एजेन्डामा अघि बढ्छ भन्ने टुंगो लगाउनेछ । अहिलेसम्म एमालेले संसद् पुनस्र्थापनाको एजेन्डासहित जनप्रदर्शनमा लागिसकेको छ भने १० वामघटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपालगायतका दल चुनावको पक्षमा उभिएका छन् । तथापि, चुनाव हुनेमा धेरैलाई विश्वास भने छैन । चुनाव सरकारप्रति नै प्रश्न उठ्न थालेपछि सरकार चुनावी वातावरण बनाउन संवाद, छलफल र तयारीमा जुटेको पनि छ । तर कांग्रेसको प्रस्ट निर्णय नआउँदा राष्ट्रिय राजनीतिले प्रस्ट बाटो समाउन सकेको छैन । सही राजनीतिक फैसलाका लागि पनि कांग्रेसको केन्द्रीय समिति बैठकले प्रस्ट राजनीतिक निर्णय लिन अब ढिला गर्नुहुन्न ।