२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

जलवायु परिवर्तनको मारमा हिमशृंखला

shivam cement
-जीवन शर्मा
२०८२ कार्तिक २४ गते ०६:००
Shares
जलवायु परिवर्तनको मारमा हिमशृंखला

हिउँ बादलबाट बर्सिएको वा खसेको बरफको गुच्छा हो । बादलबाट हिउँ वर्षा हुने वा खस्ने कार्यलाई हिमपात भनिन्छ । हिमपहिरो वा हिमस्खलन भनेको हिउँले ढाकिएको ढलान वा सतहमा हिउँको बाक्लो पत्र अस्थिर भई तीव्र गतिमा तल खस्ने प्राकृतिक घटना हो । यो सामान्यतया उच्च हिमाली भेगमा हिउँको तहमा असन्तुलन उत्पन्न हुँदा सुरु हुन्छ । 

हिमपहिरो हुने कारणहरू विविध छन् । निरन्तर हिमपातले हिउँको तह बाक्लो बनाउनु, तापक्रममा अचानक परिवर्तन, मानवीय गतिविधि (जस्तै– स्किइङ, मोटरस्नो सञ्चालन वा निर्माण कार्यका विस्फोट) लगायतका कारणहरूले अस्थिरता ल्याउन सक्छन् । भूकम्प वा अन्य प्राकृतिक कम्पनहरूले पनि हिमस्खलन निम्त्याउन सक्छन् । 

हिमपहिरो उच्च हिमाली क्षेत्रमा जीवन र सम्पत्तिका लागि सबैभन्दा गम्भीर प्राकृतिक जोखिमहरूमध्ये एक हो । त्यसैले नेपालसहित विश्वका पर्वतीय देशहरूमा हिमपहिरो नियन्त्रण र व्यवस्थापनका लागि अनुसन्धान, पूर्वसूचना प्रणाली र उद्धार संयन्त्र सुदृढ पार्ने प्रयासहरू भइरहेका छन् ।

दोलखामा केही समय अघि गएको हिमपहिरोले केवल भौतिक क्षति मात्र गरेको छैन, यसले हाम्रो उद्धार तथा व्यवस्थापन प्रणालीका गहिरा कमजोरीहरू पनि उजागर गरेको छ । प्रत्येक वर्षजस्तै यसपटक पनि हिउँको पहिरोले मानवीय जीवन र सम्पत्तिमा गम्भीर असर पुर्‍यायो, तर तयारी, समन्वय र तत्काल प्रतिक्रिया प्रणालीमा देखिएको अव्यवस्था अझै यथावत् छ ।

दोलखाको घटनाले देखायो कि स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय अझै कमजोर छ । उद्धार टोली ढिलोगरी पुग्नु, आवश्यक उपकरण र तालिम प्राप्त जनशक्तिको अभाव हुनु र मौसमसम्बन्धी चेतावनी प्रणाली प्रभावकारी नहुनु– यी सबै कमजोरीहरूको स्पष्ट चित्र हुन् ।

नेपालको संविधानको अनुसूची–८ ले स्थानीय तहलाई अधिकार दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७९ कार्यान्वयमा छ । उक्त ऐनको परिच्छेद ४ को धारा २२ (१) र (२) ले संघीय सरकारको तथा धारा २३ (१) र (२) ले प्रदेश सरकारको सहकार्य र समन्वय गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरेको छ । तर पनि स्थानीय सरकारहरूले विपद् जोखिम न्यूनीकरण र संरक्षणका क्षेत्रमा पर्याप्त काम गरेको देखिँदैन ।

हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिमबारे सचेत पार्नु, हिमपहिरो सम्भावित क्षेत्रहरूको पहिचान र नियमित निगरानी गर्नु, साथै तत्काल उद्धारका लागि स्थानीय स्तरमै प्रशिक्षित टोली तयार गर्नु अब अनिवार्य भइसकेको छ ।

विश्व तापक्रम निरन्तर बढ्दै जाँदा पृथ्वीका हिमशृंखलाहरू तीव्र गतिमा पग्लँदै गएका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर सबैभन्दा बढी देखिने क्षेत्र भनेकै हिमाली भू–भाग हो, जहाँ हिउँ र बरफले ढाकिएका पर्वतहरू अब खतरामा छन् । नेपाल लगायतका हिमालयन देशहरूमा विगत केही दशकयता हिउँ पग्लने दर उल्लेखनीय रूपमा बढेको छ । वैज्ञानिक अध्ययनहरूका अनुसार हिमनदीहरू छोटिँदै गएका छन्, बरफको तह पतलो हुँदै गएको छ । तापक्रम वृद्धि तथा अनियमित वर्षा चक्रका कारण पहिरो, बाढी र ग्लेशियल लेक आउटबस्र्ट फ्लड जस्ता जोखिमहरू बढिरहेका छन् ।

हिमशृंखलाहरू केवल प्राकृतिक सुन्दरता र पर्यटनको प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो जलस्रोतको मुख्य आधार हुन् । देशका नदीनालाहरू ती हिमनदीहरूबाट उत्पन्न हुन्छन् । जब बरफ पग्लने दर अस्वाभाविक रूपमा बढ्छ, जलप्रवाहको मात्रा असन्तुलित हुन्छ, जसको प्रत्यक्ष असर कृषि, ऊर्जा र जीविकोपार्जनमा पर्छ ।

नेपालले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि यसको प्रतिकूल प्रभाव गहिरो रूपमा भोगिरहेको छ । यो असमानता अन्तर्राष्ट्रिय समुदायका लागि पनि गम्भीर चिन्ताको विषय हो । हिमशृंखलाहरूको संरक्षणका लागि अब वैज्ञानिक अनुसन्धान, वातावरणमैत्री नीति र दिगो विकास अभ्यासमा जोड दिनु आवश्यक छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको ‘थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव र भविष्यका जोखिम’ नामक अध्ययनले यो क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख गरेको छ । पछिल्ला दशकहरूमा यो दर पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको पाइएको छ । हिमनदी पग्लने दर बढ्दा अमू दरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमतालहरू वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपालको भूगोल, संस्कृति र जीवनशैली हिमालयसँग घनिष्ठ रूपमा जोडिएको छ । तर आज हाम्रो गर्वको प्रतीक हिमाल र हिमताल नै हामीका लागि चुनौती बन्न थालेका छन् । जलवायु परिवर्तन र मानवीय गतिविधिको असरले हिमनदी पग्लन थालेका छन् र हिमतालहरूको पानी अस्थिर हुँदै गएको छ । यसले तल्लो क्षेत्रमा बाढी, भू–स्खलन र कृषि तथा जलस्रोत संकट निम्त्याउने खतरा बढाएको छ ।

विशेषगरी ग्लेशियल लेक आउटबस्र्ट फ्लड जोखिम विश्व स्वास्थ्य संगठन र जलवायु विज्ञहरूले चिन्हित गरेको समस्या हो । सगरमाथा क्षेत्रका इम्जा ताल, त्सो रोल्पा जस्ता तालहरूले हालैका वर्षहरूमा उच्च जोखिम प्रस्तुत गरेका छन् । हिमताल फुट्दा आउने बाढीले न केवल जीवित जनसंख्या जोखिममा पार्छ, तर आर्थिक र सामाजिक संरचनामा पनि गम्भीर क्षति पुर्‍याउँछ ।

यस कठिन परिस्थितिमा हाम्रो तयारी अपरिहार्य छ । हिमतालहरूको नियमित अनुगमन र जोखिम मापन गर्नुपर्छ । उपग्रह प्रविधि, ड्रोन र स्थानीय सर्वेक्षणमार्फत तालहरूको अवस्था ट्र्याक गर्न सकिन्छ । पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्छ, जसले बस्ती र समुदायलाई समयमै चेतावनी दिन सकोस् । आवश्यक इन्जिनियरिङ् उपायहरू अपनाउनुपर्छ, जस्तै ः मोरेन बाँधको मजबुतीकरण र नियन्त्रित पानी निकासी ।

तर केवल प्रविधि पर्याप्त छैन । स्थानीय समुदायलाई जोखिम सम्बन्धी सचेत गराउन, आपत्कालीन तालिम दिनु र सरकारी निकायसँग समन्वय गर्नु पनि अनिवार्य छ । दीर्घकालीन रूपमा जलवायु अनुकूलन नीतिहरूमा हिमताल जोखिमलाई प्राथमिकता दिनुपर्छ र प्रत्येक विकास योजनामा वातावरणीय मूल्यांकन अनिवार्य गर्नुपर्छ ।

हिमाल र हिमताल हाम्रो प्राकृतिक सम्पत्ति मात्र होइनन्, भविष्यको जीवन र समृद्धिको आधार पनि हुन् । तिनीहरूको संरक्षण र जोखिम व्यवस्थापनमा ढिलाइ गर्नु भनेको भविष्यको पीडा निम्त्याउनु हो । आजको वैज्ञानिक तयारी, नीति निर्माण र समुदायको सक्रियताले मात्र हिमतालको जोखिमलाई अवसरमा परिवर्तन गर्न सक्छ ।

ADV

सम्बन्धित खबर