२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

कम्युनिष्ट पार्टीका नेताहरू काम चलाउ मात्रै भए

shivam cement
२०८२ कार्तिक २३ गते ०६:३०
Shares
कम्युनिष्ट पार्टीका नेताहरू काम चलाउ मात्रै भए

जेनजीको आन्दोलनपछि विच्छिप्त बनेका नेताहरू विस्तारै लयमा फर्कंदै गर्दा पार्टीहरू पुनर्गठन, पुनर्जागृत र एकीकृत हुनेक्रम पनि चलेको छ । कतिपय पार्टी एकीकरण हुँदा सोही पार्टीभित्र विद्रोह गर्ने नेता पनि छन् । जेनजी आन्दोलनको प्रभावस्वरूप भर्खरै नेपालका १० वामपन्थी दलबीच एकता भएसँगै नेपाली कम्युनिष्ट पार्टी निर्माण  भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कम्युनिष्ट घटकका नेता एक ठाउँ भएका हुन् । 

तर उनीहरूमा नेता व्यवस्थापनको समस्या फेरि आउन सक्नेछ । पुराना नेता एकै ठाउँ रहँदा सत्ता र शक्तिका लागि पार्टी फुट, एकता र फेरि फुटको अवस्था बेहोरेर पाका भइसकेका नेताबीचको अल्कालीन एकता भए पनि दीर्घकालीन रूपमा नेता व्यवस्थापन कसरी हुन्छ ? र पार्टीलाई लामो समय सग्लो राख्न सकिन्छ कि सकिँदैन ? भन्ने चिन्ताको घेराभित्र नेताहरू छन् ।

नेपाली कम्युनिष्ट पार्टी पूर्वप्रधानमन्त्रीहरूको क्लब घरजस्तो बनेको नेकपा एकीकृत समाजवादी)का असन्तुष्ट पक्षले आरोप लगाएको छ । त्यस्तै, माओवादीका नेता जर्नादन शर्मा प्रभाकरसहितको सानो समूहले पार्टीमा विद्रोह नै गरिसकेका छन् । जेनजी आन्दोलनको भावनाअनुसार नेतृत्व हस्तान्तरण गर्ने र भ्रष्टाचारको अन्त्यका निमित्त काम गर्नुपर्ने चुनौती नेताहरूमाथि छँदै छ । पुराना दलका पुुराना नेता एकीकरणका नाममा नयाँ पार्टी बनाए पनि उनीहरूको प्रवृत्ति सुध्रिएको देखिँदैन । यसै सन्दर्भमा रहेन नेपाली कम्युनिष्ट पार्टीका नेता मेटमणि चौधरीसँग मध्यान्हका लागि जीवन शर्माले गरेको कुराकानीको सम्पादित अंश :

जेनजी आन्दोलनपछिको नेपाललाई कसरी हेर्नुभएको छ ? 

एउटा कुरा त अब जेन्जी आन्दोलनपछि नेपाल मनोवैज्ञानिक रूपमा एउटा कोर्समा प्रवेश गरेको छ । मुलुक अब समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने कुरा नेपाली समाजले बुझेको छ । भ्रष्टाचारको अन्त्य र सुशासनका लागी सबैले मिलेर काम गर्नुपर्छ भन्ने कुराको चेतना यो आन्दोलनले दिएको छ । राजनीतिक दलहरूले यसलाई संस्थागत गर्दै जेनजी र आम नागरिकका भावनालाई प्रतिनिधित्व गर्नु पर्दछ ।  

मुलुकलाई सुशासनतर्फ अघि बढाउने र युवालाई जिम्मेवारी दिने कुरा नेपाली समाजले बुझ्यो भन्नुभयो । तर बुझ्नुपर्ने राजनीतिक दल र प्रशासनिक निकायले चाहिँ बुझेन र सुध्रिएको अवस्था पनि छैन, यो अवस्थामा भ्रष्टाचार कसरी रोकिन्छ ? 

एउटा कुरा त हामीले आफंै स्वघोषणा गर्ने कुरामा ध्यान दिनुपर्छ । यहाँले भनेको जस्तो पोलिटिकल पार्टीका नेताहरू अब आफूले करेक्सन गर्ने, म भ्रष्टाचार गर्दिनँ भन्ने खालको कमिटमेन्ट गर्ने ठाउँमा त पुगेका छैनन् होला । किनकि उनीहरूको बेहोरा त्यस्तै देखिन्छ । तर पनि युवाहरूको त्यो विषयमा ध्यान दिनुपर्छ । ४६ साल ४८ सालदेखि एउटै अनुहार टेलिभिजनमा हेर्दा मान्छेलाई राम्रो लागेको छैन । यो कुरा नेताहरूले बुझ्नुपर्छ । उहाँहरूले पनि अब हामी एक÷दुई वर्षपछि छोड्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।

पार्टीहरू त र नेताहरू सुध्रिएलान जस्तो लाग्छ तपाईंलाई ?  

हाम्रो नेता माधव नेपालले त मलाई बिदाइ दिनुस् भन्ने तरिकाले बोल्नुभएको थियो । यो सम्मेलनपछि हुने महाधिवेशनबाट म बिदा लिन्छु, पढ्छु, लेख्छु, डुल्छु, अनुभव बटुल्छु भन्ने तरिकाले कुरा गर्नुभएको छ । सम्भवतः कमरेड प्रचण्ड र उहाँको बीचमा यो सहमति भएको पनि छ । यद्यपि बाहिर ल्याइएको छैन । दुइटै नेताले अब छोड्ने नयाँ जेनेरेसनलाई दिनुपर्छ भन्ने ठाउँमा त हुनुहुन्छ । तर अब न्यु जेनेरेसनलाई सबै मान्छेले कति एक्सेप्ट गर्न सक्छन् ? जस्तै माओवादीका पक्षबाट को आउने हो ? हाम्रोतिरबाट को आउने हो ? सबैको साझा नेता (अध्यक्ष) बन्न त सबैले पत्याइदिनुपर्ने विश्वास गर्नुपर्ने मान्छे हुनुपर्‍यो नि । जो महाधिवेशन प्रतिनिधि हुन्छन्, क्याडर हुन्छ अथवा शुभचिन्तक हुन्छ, उहाँहरूलाई कन्फिडेन्स त हुनुपर्‍यो नि । त्यसले कुनै ठाउँ लगेर बिगारेन, भत्काउँदैन, भड्खालोमा हाल्दैन भन्ने विश्वासिलो व्यक्तित्व हुनुपर्‍यो । 

पार्टी एकता पछाडि नेपाली कम्युनिष्ट पार्टी एउटा बलियो पार्टी बनेको छ । तर नयाँ नेतृत्वको अभाव देखिन्छ होइन ? 

अब हामीजस्ता मान्छेले हिम्मत गर्नुपर्छ । म आजै यति ठुलो कम्युनिष्ट पार्टीको अध्यक्ष हुन्छु भन्ने त सोचेको छैन । तर हुनका लागि म अगाडि बढ्छु । अध्यक्ष हुन कार्यकर्ताको मन जित्नुपर्‍यो, त्यो भयो भने नयाँ नेतृत्व आउन सक्छ । तपाईं भएन भने हुँदैन भन्ने तरिकाले सोच्न थाल्यो भने उहाँहरू रिपिट हुन बाध्य हुनुपर्छ । भोलि अध्यक्ष हुन सक्ने सम्भावित पोस्टमा चाहिँ मेरो उम्मेदवार हुन्छ र त्यही तरिकाले मेरो भूमिका रहन्छ । आजै अध्यक्ष हुन थाल्यो भने मान्छेले पत्याउँदैन विश्वास पनि गर्दैन । इन्टरनेसनल पावर पनि छ उसले पनि मलाई पत्याउनुपर्‍यो । मैले अब अध्यक्ष बन्नका लागि आफूलाई स्थापित गर्ने र कार्यकर्ताको मन जित्ने कुरा गर्छु । मभन्दा सिनियर जो हुनुहुन्छ उहाँहरू पनि लाग्नुपर्‍यो । एक खालको दास मनोवृत्ति छ कि उसको विरोध गर्‍यो । हटाइदिन्छ भन्ने लाग्ने, उसको विरोध गर्‍यो आउने अवसर पनि पाइँदैन भन्ने पनि लाग्ने अनि त्यो कारणले उहाँले जेजे भन्छ उहाँले जति गल्ती गरे पनि तपाईं ठिक ठिक हो भन्ने जुन हाम्रो मनोविज्ञान छ । यसले कम्युनिष्ट पार्टी हाम्रो सिस्टम सबैलाई कमजोर बनाइराछ । म चाहिँ त्यो अभियानमा लाग्छु । बेठिक तरिकाले नेतालाई बिग्रिने बिगार्ने गरी बोल्नु हुन्न । आफ्नो एजेन्डा आफ्नो प्रस्ताव त राख्न पाइयो, त्यही प्रस्तावमार्फत जनता कार्यकर्तालाई कन्भिन्स गर्न सकियो भने नेतृत्व गर्ने ठाउँमा पुग्न सकिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको एउटा सदस्य हुनुहुन्छ । तपाईंहरू माथि पनि सैद्धान्तिक वैचारिक विचलन देखियो भन्ने आरोप छ । यो आरोपबाट कसरी मुक्त हुनुहुन्छ ?

अहिले त हामी कोही पनि नेता कार्यकर्ता राजनीतिक दलहरू सिद्धान्तमा आस्था राख्छौं सिद्धान्तमा विश्वास गर्छौं भनेर कसैले पनि धाक नलाए हुन्छ । मैले रूखमा भोट हालिसकेको छु । रूखले मलाई भोट हालिसकेको छ । सूर्यले गाईलाई हालिसकेको छ । गाईले सूर्यलाई हालिसकेको छ । अनि सूर्यले अनेकौं स्वतन्त्र व्यक्तिलाई राजासँग जोडिएका त्यस्ता ब्याकग्राउन्ड भएका मान्छेलाई समेत आफ्नो उम्मेदवार बनाएको छ । त्यसैले राजनीति निष्ठा दर्शन सिद्धान्त यो अहिले अलि बेकारका कुरा हुन् । तर के छ भने हामीजस्ता दर्शन सिद्धान्तमा विश्वास गर्ने मान्छेहरूले जति सकिन्छ त्यसमा ढाल्ने काममा लाग्नुपर्छ । त्यो प्रयास गर्नुपर्छ । कांग्रेसलाई भोट हालिसकेपछि म कम्युनिष्ट हुन सक्छु ? म पुँजीवादी ढाँटेर अगाडि बढे नि त । अथवा अर्कोले कसैले कसैलाई भोट हाल्यो, कांग्रेसले हामीलाई भोट हालिसकेको छ । ऊ कम्प्लिटली के डेमोक्रेट हो त ? त्यसैले यो अहिलेको अवस्थामा यहाँले गरेको प्रश्न ठिक छ । तर आजको दिनलाई हामीले प्रस्थान बिन्दु मानेर दर्शनमा आधारित हाम्रा व्यवहार, कार्यशैली, दृष्टिकोण र योजना बनाएर जानुपर्छ । अबको नेपाली समाजलाई दर्शन, सिद्धान्त, विचार, दृष्टिकोणमा आधारित कोर्सतर्फ अगाडि बढाउनुपर्छ । 

पार्टी एकताले तपाईंहरूलाई क्षेत्रको हिसाबले र समग्र राजनीतिमा पनि फाइदै होला होइन ? 

व्यक्तिगत रूपमा त फाइदा किन नहुने, यति धेरै पार्टी एक ठाउँमा आइसकेपछि चुनाव जित्ने कुरा हुन्छ । सहयोग पनि छ । कार्यकर्ताहरू पनि उत्साहित भएर लाग्नुभएको छ । र यसले सिंगो कम्युनिष्ट आन्दोलनलाई पनि समृद्ध गर्ने कुरामा सबैलाई फाइदा हुन्छ । अहिले कम्युनिष्ट पार्टीका मान्छे पनि काम चलाउ मात्रै छन् । अहिलेको समस्या सम्बोधन गर्ने तर भोलि के हुन्छ त्यो विषयमा ध्यान नदिने नेता छन् । जब मान्छे दृष्टिविहीन दृष्टिमा च्युत हुन्छ त्यसपछि यस्तै खाले कम्प्रोमाइजका कुरा हुन्छ । सिंगो कम्युनिष्ट पार्टीले फाइदा हुनेगरी हामीले काम गर्नुपर्छ ।

नेपाली कम्युनिष्ट पार्टीमा जेष्ठ नागरिक नेता जम्मा भएका छन् । उनीहरूको पद प्रतिष्ठाको लडाइँमा फेरि पार्टी फुट्छ भन्ने लागेको छैन ? यसको आयुको कति हो भन्ने केही आँकलन गर्नुभएको छ कि ?

विकास भन्ने चाहिँ द्वन्द्वबाटै हुन्छ र त्यहीबाट समृद्धि प्राप्त गर्ने हो । द्वन्द्वले नै एकता निर्माण गर्ने हो र यो सधैंभरि चलिरहने प्रक्रिया हो । आज हामी एकता गयांै भोलि विभाजन हुँदैनौं भन्ने हुँदैन । विभाजन हुन्छ फेरि अरू धारसँग जोडिन्छ । यसरी विभाजित हँुदै एकता गर्दै अगाडि बढ्ने हो । यो विकासको नियम पनि हो । समाज विकास, मानवको विकास यसरी नै अगाडि बढ्छ । तर अब जति सकिन्छ मिलेर अगाडि बढ्ने कुराका लागि एउटा फ्रेमिङ गर्ने त्यसैभित्र सबैलाई अटाउने कुरामा ध्यान दिन सक्यौं भने यो दीर्घकालीन हुन्छ । नभए फेरि विभाजन हुन्छ । यो त भोग्दै आइराखेका छांै नि । म आज नेपाली कम्युनिष्ट पार्टीमा छु । यसभन्दा अगाडी एकीकृत समाजवादीमा थिएँ । त्योभन्दा अगाडि नेकपा भएँ । त्यसभन्दा अगाडि एमाले थिएँ । त्यसभन्दा अगाडि माओवादी थिएँ । मेरो आफ्नै जीवनमा यति लामो विद्रोह र एकता गर्दै गर्दै आइपुगेको छु ।

ADV

सम्बन्धित खबर