
काठमाडौं : विभाजनपछि नेकपा एकीकृत समाजवादी तीन चिरा भएपनि उक्त पार्टी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था एक ढिक्का रहेको छ । पार्टी विभाजन भएपछि उक्त संस्थामा आबद्ध केही वैदेशिक रोजगार व्यवसायीले राजनीति नगर्ने भन्दै निष्क्रिय बस्ने बताएको र अधिकांशले पार्टीको मुल नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा समावेश भएकाले सोही पार्टीको नीतिअनुसार संगठित हुने योजना रहेको बताएको तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका संस्थाका महासचिव मधुकर रिजालले जानकारी दिए ।
संस्थाका सचिव अनिल बोगटीले पनि निष्क्रिय बस्न चाहने बाहेक सबै व्यवसायी एकैठाउँ क्रियाशील हुने बताए ।
गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चालगायत राजनीतिक पार्टी र समूह एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी बनेको थियो ।
यी दल निकट व्यवसायीका बीचमा सहकार्य एकता हुने भएपछि वैदेशिक रोजगारका क्षेत्रमा तेस्रो ठुलो शक्तिका रूपमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतको शक्तिमा बढोत्तरी हुने मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले बताए । उनले पार्टीको पत्रपछि एकीकरणको प्रक्रियालाई अघि बढाउने बताए ।
एकीकृत संस्थामा क्रियाशील रहेका केही व्यवसायी भने नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा फर्किने तयारीमा रहेको बताइएको छ । तर को कता लाग्ने आधिकारिक रूपमा खुल्न बाँकी रहेको बताइएको छ ।