
काठमाडौं : वैदेशिक रोजगारी व्यवसायीहरूले मलेसियाको रोजगारी व्यवस्थित गर्ने नाममा हुन थालेको सिन्डिकेटलाई परास्त गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित संघर्ष समितिको आयोजनामा मंगलबार भएको बृहत् व्यवसायी भेलामा व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर ‘नो सिन्डिकेट’ व्यानरसहित सो प्रतिबद्धता जनाएका हुन् ।

व्यवसायी भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष एवं संघका सल्लाहकार नवराज केसी, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, राजेन्द्र भण्डारी, हरिबहादुर पाण्डे क्षेत्री, पूर्वअध्यक्षहरू दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमल ढकाल, रोहन गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधानको उपस्थिति रहेको थियो ।

त्यस्तै, भेलामा वैदेशिक रोजगार व्यवसायी तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ, एकिकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका उपाध्यक्ष बाबुराम खड्का, वैदेशिक रोजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मी, व्यवसायी मदनकुमार महत, वैदेशिक रोजगार युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष भुवनसिंह गुरुङले आफ्नो संघको गत निर्वाचनको मुख्य एजेन्डा नै सिन्डिकेटको विरोध रहेको बताउँदै वर्तमान कार्यसमिति सिन्डिकेटविरुद्ध कडाइका साथ उभिएको बताए । केही व्यवसायीले अनेकौं शंका–उपशंका गरेर सामाजिक सञ्जालमा लेख्ने गरे पनि संघको कार्यसमिति सिन्डिकेटविरुद्ध प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गुरुङले भने, ‘ढुक्क हुनुस्, जताबाट तौलिए पनि वर्तमान कार्यसमिति फस्दैन, सिन्डिकेट लाग्दैन ।’

अध्यक्ष गुरुङले एक हजार ६२ वैदेशिक रोजगार व्यवसायीमध्ये अझै २ सय ४५ व्यवसायीको सिन्डिकेटविरोधी प्रतिबद्धता प्राप्त नभएको र सबैको प्रतिबद्धता आएपछि संघले व्यवसायीहरूको प्रतिबद्धतासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने जानकारी दिए ।
संघका पूर्वअध्यक्ष ढकालले संघको नेतृत्वलाई विभिन्न खालका प्रलोभन आउने भएकाले नेतृत्व सचेत हुनुपर्ने बताए । उनले हाल सार्वजनिक भएको मलेसियाको मापदण्ड पूरा गर्न सक्ने व्यवसायी पहिचान गरी उनीहरूलाई संघमा बोलाएर कुनै पनि प्रकारको सिन्डिकेटविरुद्ध सामूहिक प्रतिबद्धता लिए सिन्डिकेटको ढोका नै बन्द हुने र व्यवसायीबीच देखिएको त्रास र अन्योल पनि समाप्त हुने सुझाव संघको नेतृत्वलाई दिए ।

पूर्वअध्यक्ष रोहन गुरुङले हाल मलेसियाले अगाडि सारेका १० वटा मापदण्डमध्ये गत असारमै ९ बुँदा तयार भएको भन्दै सिन्डिकेटविरुद्ध व्यवसायी एकता जरुरी रहेको बताए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले ‘१ हजार भन्दा बढी ब्यवसायीको पेटमा लात हानेर ८/९ जनाले मात्रै व्यापार गर्ने’ प्रवृत्तिविरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिए । केही समय पहिले नै सिन्डिकेटधारी सक्रिय रहेकोमा विभिन्न कारणले शिथिल भएको, तर अहिले सरकार परिवर्तनका कारण अवस्था तरल भएकाले उनीहरू फेरि सक्रिय भएकाले व्यवसायी एकजुट हुन जरुरी रहेको बताए ।

मञ्चका अध्यक्ष जनक रावलले नेपालको संविधान र ऐन–कानुनविरुद्ध सिन्डिकेट लगाउन खोज्ने व्यवसायीलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले भने, ‘अहिले जुन नाम आएका छन्, उनीहरूले अरूले गरेको व्यवसाय बन्द गरेर एकलौटी गर्ने दुस्प्रयास गरे उनीहरूका निवास घेराउ गरिनेछ, सडकमा ल्याइनेछ ।’
गणतान्त्रिक मञ्चका अध्यक्ष तथा संघका सल्लाहकार धनलाल जैसीले मञ्चमा आबद्ध कुनै पनि व्यवसायी सिन्डिकेटमा संलग्न नहुने भन्दै, व्यवसायी र कामदारको पेटमा लात हान्ने उद्देश्यले आएको सिन्डिकेटविरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्नुको विकल्प नभएको बताए ।
संघका सल्लाहकार तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले संघले सिन्डिकेटविरुद्ध खबरदारी गर्नुपर्ने र सम्पूर्ण व्यवसायीले दायाँबायाँ नगरी साथ दिनुपर्ने बताए ।

संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले सिन्डिकेटधारीले व्यवसायीबाट म्यानपावर कम्पनी छनोट गरिदिने भन्दै ठुलो रकम उठाएको आरोप लगाउँदै तीन दिनभित्र सिन्डिकेटका लागि लिएको रकम फिर्ता गर्न आग्रह गरे । तीन दिनभित्र फिर्ता नगरे भौतिक कारबाहीको सुरुवात गरिने उनले चेतावनी दिए ।

वरिष्ठ व्यवसायी हेम गुरुङले आफू कुनै पनि प्रकारको सिन्डिकेटमा सहभागी नहुने बताउँदै वैदेशिक रोजगारीमा कामदार पठाएको संख्याका आधारमा नभई नेपाल सरकारले दिएको लाइसेन्सका आधारमा सबै व्यवसायी बराबरको हैसियतमा रहेको बताए । हाल मापदण्डका नाममा व्यवसायीबीच फुट ल्याउने प्रयास भइरहेको भन्दै उनले व्यवसायी विभाजित नभई एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
संघका निवर्तमान सचिव कर्णराज कटुवालले सिन्डिकेटका लागि चिनिएका व्यक्तिहरू पनि भेलामा सामेल भएको र उनीहरूले विगतमा सिन्डिकेट लगाउन गरेको चलखेलका केही प्रमाण आफूसँग रहेको बताए । ती व्यक्ति सिन्डिकेटको खेलबाट पछि नहटे आफूले ती प्रमाण सार्वजनिक गर्ने उनले चेतावनी दिए ।
कार्यक्रम सञ्चालन संघका महासचिव महेशकुमार बस्नेतले गरेका थिए । तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेलले सिन्डिकेटविरुद्ध कविता वाचन गरेका थिए ।

संघर्ष समिति संयोजक तथा संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको सभापतित्वमा कार्यक्रम भएको थियो । संयोजक खोखालीले सिन्डिकेटधारीहरू योजनाबद्ध तरिकाले आएको भन्दै आगामी दिनमा थप एकताबद्ध र सशक्त हुनुपर्ने बताए ।



