२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

जेनजी प्रभाव : कम्युनिस्टमा उथलपुथल, कांग्रेसमा सकस

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १९ गते ०६:३५
Shares
जेनजी प्रभाव : कम्युनिस्टमा उथलपुथल, कांग्रेसमा सकस

काठमाडौं : गत भदौ २२ अघिसम्म देशको शासन सत्ता र राजनीतिक दलहरूको शासनसत्ता जसरी चलेको थियो भदौ २४ पछि पूरै परिवर्तन भयो । जेनजी आन्दोलनबाट ठुलो मानवीय क्षति, राज्य सत्ता कब्जा र भौतिक संरचना ध्वस्त भएसँगै राजनीतिक दलहरूभित्र समेत उथलपुथलको अवस्था ल्याइदियो । 

आन्दोलनका क्रममा भागाभाग भएका स्थापित राजनीतिक दलका नेता विस्तारै सक्रिय हुँदै जाँदा पार्टीहरूमा फुटको शृंखला पुगेको हो । नेकपा एमालेबाहेकका प्रायः सबै कम्युनिस्ट दलभित्र यो आन्दोलनले उथलपुथल ल्याएको नेताहरूले स्वीकार गरेका छन् । तत्कालीन माओवादी केन्द्रले जेनजी आन्दोलनको भावना सम्बोधन गर्दै पार्टीलाई रूपान्तरित गरेर लाने नाममा मंसिरमा अर्ली महाधिवेशनको प्रस्ताव पारित गर्दै केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजन कमिटी बनाएको थियो । यो सँगै कम्युनिस्ट एकताको ढोका खुला गरेको माओवादी केन्द्र विभाजको डिलमा पुगेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नौ कम्युनिस्ट घटकबीच  बुधबार पार्टी एकता घोषणा हुँदै छ । एकताका लागि यसअघि सहमतिपत्रमा हस्ताक्षर गरेका पार्टीबीच एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने बताए । 

नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले पार्टी विघटनसँगैको अन्तिम बैठकमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले कम्युनिस्टहरूले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको टिप्पणी गरे । माके र एस विलय भए हुँदै गर्दा सोही दलका अर्को समूहले भने नयाँ राजनीतिक विचार जन्माएको घोषणसहित नयाँ राजनीतिक अभियान थालेका छन् । दुवै दलको एकता अभियानबाट अलग कित्तामा उभिएका ‘प्रगतिशील अभियान नेपाल’का नेता राम कार्कीले नेपालको कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा रहेको दाबी गरे । जेनजी आन्दोलले यो अवस्था ल्याएको उनको भनाइ छ ।

‘पछिल्लो जेनजी विद्रोहले कम्युनिस्ट पार्टीलाई विघटन गरेको छ । कम्युनिस्ट विचारधाराका सबैजसो शक्तिमा उथलपुथल ल्याइदिएको छ ।’ जनता र कम्युनिस्ट पार्टीबीच एउटा गहिरो खाडल बढ्दै जानुको कारण हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसक्नु नै भएको उनको निष्कर्ष छ । भ्रष्टाचारको मुद्दा लागेका नेता अहिले टाउकोमा कल्की लगाएर ठुल्ठुला पदमा पुगेको कार्कीले आरोप लगाएका छन् । ‘हामीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न सकेनौं । कार्कीले भने, ‘यतिका वर्षसम्म नेतृत्वलाई सुधार्न नसकेकोमा माफी माग्न चाहन्छु । नेतृत्वले दिएको दर्जानी चिन्ह मिल्काएर आएका छौं । शुभेच्छुक र शुभचिन्तकलाई समाजवादी आन्दोलनमा लाग्न आह्वान गर्दछौं ।’ यो समूहको नेतृत्व नेता जनार्दन शर्माले गरेका छन् । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा सबै कम्युनिस्ट दलभित्र उथलपुथलको स्थिति आएको नेताहरूको जिकिर छ । आन्दोलनपछि आफूलाई बलियो पार्टी बनाउने योजनासहित प्रचण्ड–माधव नेपाल पार्टी एकतामा जाँदै गर्दा संस्थापनइतर समूह अलग भएर आफ्नै धन्दामा लागेका हुन् । उनीहरूले पुरानै राजनीतिक दलको पुनर्गठनदेखि नयाँ दल दर्तासम्मको अभ्यासका लागि छलफल चलाएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचारविरोधी माग र भावनाविपरीत माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच हुन लागेको एकतालाई अस्वीकार गरेको बताए । त्यस्तै, नेकपा एसका सम्मानित नेता झनाथ खनाल महासचिव घनश्याम भुसालसहित दर्जन बढी नेताहरूले एकतालाई बहिष्कार गर्दै सोही पार्टी पुनर्गठन गरेर जाने तयारी गरेका छन् ।  विप्लव नेतृत्वको नेकपा माओवादीबाट नेता चिरन पुन एकतामा आउँदा विप्लवले भने आफ्नै नेतृत्वमा दल दर्ता गरिसकेका छन् ।  

भदौ २३ सम्म संसदीय व्यवस्थाअन्तर्गत राजनीतिक नेतृत्वको सरकारको ठाउँमा भदौ २७ बाट संसद् विघटनसहित नागरिक सरकारले देश हाँकिरहेको छ । आन्दोलनको समयमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले पनि मंसिर अन्तिमका लागि ११औं महाधिवेशनको मिति तय गरेर आवश्यक तयारी गरिरहेको एमाले महासचिव शंकर पोखरेलले बताए । सो महाधिवेशनमा एमालेमा समेत दुई ध्रुव प्रस्ट देखिएका छन् । यसले आन्तरिक पार्टीमा गहिरो प्रभाव पार्ने एमालेकै नेताहरूले बताउने गरेका छन् ।  

उता विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल कांग्रेस भने सकसपूर्ण अवस्थामा गुज्रिन पुगेको छ । पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने मुखैमा आएको कांग्रेसभित्र प्रतिनिधि सभा निर्वाचन कि पार्टी महाधिवेशन भन्ने बहसले कांग्रेसलाई विभाजनको डिलैमा पु¥याएको छ । देशको सबैभन्दा लोकतान्त्रिक दल कांग्रेसमा आवधिक महाधिवेशन गर्नसमेत आन्दोलन गर्नुपर्ने अवस्था आएपछि उसको लोकतान्त्रिक चरित्र उदांगो भएको विश्लेषक बताउँछन् । विश्लेषक शंकर तिवारीले लोकतान्त्रिक दल कांग्रेसलाई आफ्नै महाधिवेश गर्न कार्यकर्ताले आन्दोलन गर्नुपर्ने स्थिति आउनु चिन्ताजनक भएको टिप्पणी गरे ।  

कांग्रेसले असोज २८ देखि थालेको केन्द्रीय समितिको बैठक सार्दै–सार्दै कात्तिक १८ मा ल्याई पुर्‍याएको छ । भदौ २२ सम्म एक वर्ष म्याद थपेर महाधिवेशनको तयारी गर्ने योजनामा थिए ।  तर तिनै नेताहरू जेनजी आन्दोलनपश्चात् तोकिएकै समयमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वसहित आगामी निर्वाचनमा जाने बहसमा केन्द्रित छन् । संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्ने योजनाअनुसार अघि बढ्दा इतर पक्षका नेताहरू प्रतिनिधि सभाको निर्वाचनभन्दा अघि नै पार्टीमा नयाँ नेतृत्व लिएर जानुपर्ने पक्षमा छन् । 

कांग्रेस महाधिवेशनका दुई कार्यतालिका

कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि दुईवटा कार्यतालिका पेस भएका छन् । महामन्त्री गगन थापाले पुस १६–१९ सम्ममा नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गर्दा संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले थापाको कार्यतालिकालाई काउन्टर गर्दै वैशाख २७–२९ सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका हुन् । यसले कांग्रेसमा नीतिगतभन्दा पनि व्यक्तिगत रिसइबी साँध्ने काम भएको टिप्पणी भइरहेको छ ।  

महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्नुपर्ने प्रस्तावमा मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने कार्यतालिका ल्याएका हुन् ।  यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ । 

कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिर अन्तिमबाट सकिँदै छ । संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गतेसम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गतेसम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्नेगरी प्रस्ताव राखेका छन् । त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ । 

बैठकमा दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता डा. शेखर कोइराला पक्षधरको अडान छ । सोहीअनुसार उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन् । मंगलबार हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले भेलाको आयोजना गरेर केन्द्रीय नेतृत्वलाई आमनिर्वाचनअघि महाधिवेशन गर्न केन्द्रीय समितिलाई दबाब दिएका छन् । 

ADV

सम्बन्धित खबर