
काठमाडौं : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको चुनाव हुने/नहुने विषयमा कतिपयको आशंका कायमै छ । तर सरकारी अधिकारीहरू चुनावका लागि आवश्यक तयारी र राजनीतिक वातावरण दुवै बनाउन लागिरहेको बताउँछन् ।
एकातिर निर्वाचन आयोगले प्रावधिक काम अगाडि बढाएको छ । अर्कोतिर सरकार राजनीतिक दलहरूसँग संवाद गरिरहेको छ । एकपक्षीय, बहुपक्षीय छलफल गरेर सरकार चुनावी वातावरण बन्दै गरेको सन्देश दिन सम्पादक र नागरिक समाजसँग समेत संवादमा रहेको छ ।
यसबेला निर्वाचन आयोग चुनावका लागि आवश्यक सामग्रीको सूची तयार पार्नमा लागेको छ । यसअन्तर्गत ७९ प्रकारका सामग्रीको सूची तयार भएको छ । त्यसमध्ये १४ प्रकारका सामग्री किन्ने तयारी छ । बाँकी सामग्री मौज्जाद रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नेपालमा उपलब्ध हुने र मुलुकबाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको छ ।’
निर्वाचनमा मतपेटिका, औंलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी आवश्यक पर्छ । कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची पनि चाहिन्छ ।
निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारामलगायत सामग्री पनि आवश्यक पर्छ ।
२०७९ सालको निर्वाचनमा कोरोना भाइरस (कोभिड–१९)को कारण माक्स, स्यानिटाइजरलगायत गरी ९४ सामग्रीको प्रयोग भएको थियो । यसपटक घटेर ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार भएको हो ।
चुनाव हुँदैन कि भन्ने कतिपयको आशंका रहेका बेला कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी आफूहरू त्यस्तो आशंकामा नरहेको र चुनावका लागि आवश्यक सामग्रीको जोहोमा लागेको बताउँछन् ।
प्रतिनिधि सभा विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा एक दर्जनबढी रिट दायर भएका छन् । सर्वोच्च अदालतमा संसद् विघटन र सरकार गठनविरुद्धको मुद्दा विचाराधीन अवस्थामै रहेको अवस्थामा के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । उनी भन्छन्, ‘अहिले नै हामीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ छैन ।’
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको अभाव नरहेको बताएकी थिइन् । गत शुक्रबार सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक पर्ने अधिकांश सामग्री आयोगसँग मौज्जाद रहेको बताएकी थिइन् ।
निर्वाचनका लागि चाहिने सामग्रीमध्ये ९० प्रतिशत आइटम निर्वाचन आयोगसँगै रहेको भन्दै उनले आवश्यक केही आइटम सम्भव भएसम्म नेपालमै किन्ने र नभए बाहिरबाट ल्याउने बताएकी थिइन् ।