
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समितिले पुनर्निर्माण गरेको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी प्रभाग नयाँ बसपार्कमा आगजनी भएको थियो । एकता समितिको आर्थिक सहयोग तथा पहलमा पुनर्निर्माण गरिएको भवन शुक्रबार एक कार्यक्रममार्फत समितिले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र समिति अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले नवनिर्मित भवनको संयुक्त रूपमा उद्घाटन गरे । समितिले बनाएको दुईतले भवनमा ६४ जना सुरक्षाकर्मीका लागि आवास सुविधा रहेको छ ।

उद्घाटन कार्यक्रममा अतिरिक्त महानिरीक्षक कार्कीले जेनजी आन्दोलन र त्यसपछिका आगजनी तथा विध्वंसात्मक गतिविधिले संकटमा परेका प्रहरीलाई सहयोग गर्ने सामाजिक संघ–संस्थाको कार्यले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाएको बताए ।
उनले जेनजी आन्दोलनका मुख्य उद्देश्य सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै त्यस्ता चाहनाहरू पूरा गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।

गोँगबु र नयाँ बसपार्क क्षेत्र ठुलो संख्यामा नागरिकको आवागमन हुने, होटल र व्यावसायिक क्षेत्र भएकाले सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील रहेको बताउँदै कार्कीले उक्त क्षेत्रमा सुरक्षाको जिम्मेवारी प्रहरीसँगै नागरिकले पनि बराबरी रूपमा लिनुपर्ने औंल्याए ।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेका छन् भने बाँकी १३ भवन पुनर्निर्माणपछि पनि प्रयोगयोग्य नभएकाले नयाँ निर्माण गर्नुपर्ने अवस्था आएको छ ।
अतिरिक्त महानिरीक्षक कार्कीले सेवा प्रवाहमा कुनै पनि दायाँ–बायाँ र पक्षपात नगरी, पहिले आउने सेवाग्राहीलाई पहिले सेवा दिने नीतिमा प्रहरी उच्च मनोबलका साथ काम गर्नुपर्ने निर्देशन समेत दिए ।

समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले शान्ति–सुरक्षाबिना व्यवसाय सञ्चालन र नागरिकको सुरक्षित जीवन असम्भव हुने भएकाले सो क्षेत्रमा रहेका २३९ वटा वैदेशिक रोजगार व्यवसायीका तर्फबाट आर्थिक संकलन गरी प्रहरीका लागि आवश्यक आवास भवन निर्माण गरिएको बताए । उनले भविष्यमा पनि शान्ति–सुरक्षाको कार्यमा समितिको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदायस्तरबाट प्रहरी भवन निर्माणमा अग्रसर हुनु अत्यन्त सराहनीय कार्य भएको उल्लेख गर्दै यसले समाजप्रति प्रहरीको आवश्यकता र औचित्यलाई पुष्टि गरेको बताए ।
कार्यक्रममा भवन पुनर्निर्माणमा सहयोग गर्ने एकता समिति, भारतीय भुपु गोर्खा सैनिक, मित्रनगर टोल सुधार समिति, लायन्स क्लब इन्टरनेशनल ३२५, नेपाली होटल व्यवसायी संघ, ल्होत्से बहुउद्देश्यीय प्रा.लि. र सामुदायिक सेवा केन्द्रलाई कदर तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, सो क्षेत्रमा रहेका वैदेशिक रोजगार व्यवसायी, भुतपूर्व भारतीय सैनिकलगायतको उपस्थित रहेको थियो ।

