
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत शिवराज अस्पताल बहादुरगंज आइतबार दिनभरि प्रहरीको कडा सुरक्षा घेरामा रह्यो । अस्पताल परिसरमा भीड, तनाव र चर्काचर्की बढेपछि नेपाल प्रहरीले अस्पताल क्षेत्रमा नियन्त्रण लिएर सुरक्षाको व्यवस्था कडा बनाएको थियो ।
कृष्णनगर–५ निवासी अमित कुमार चौधरी र अनिल कुमार चौधरीले उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष तथा शिवराज अस्पताल व्यवस्थापन समितिका सदस्य रितेश शर्मामार्फत निवेदन दिँदै अस्पतालका चिकित्सक तथा मेसु डा.विनोद बढ़ईमाथि निजी व्यावसायिक स्वार्थमा आधारित व्यवहार गरेको, अस्पतालमा उपलब्ध औषधि नदिइ बिरामीलाई पीडा दिएको गम्भीर आरोप लगाएका छन् ।
निवेदनमा उल्लेख भए अनुसार २०८२/०७/२३ गते ८५ वर्षीया चन्द्रवती कुर्मीलाई उपचारका लागि अस्पताल ल्याइएपछि डा.बढ़ईले लेखेका ४ औषधिमध्ये ३ औषधि बाहिरको मेडिकलबाट खरिद गर्नुपरेको र बाँकी १ औषधि भने डा.बढ़ईकै निजी मेडिकलमा मात्र उपलब्ध रहेको बताइए पनि त्यो औषधि समेत नदिएको आरोप लगाइएको छ । निवेदनमा ‘सरकारी अस्पतालमा जागिर खाएर निजी व्यापार, बिरामीको ज्यानसँग खेलवाड’ गरिएको उल्लेख छ ।
यता शिवराज अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार रहेको स्पष्ट पारेको छ । अस्पतालका अनुसार सो बिरामीमा मायोकार्डियल इन्फाक्र्सन (हृदयघात)को पुष्टि भएपछि एस्पिरिन, एटोरभास्टेटिन, क्लोपिडोग्रेल तत्काल उपलब्ध गराई आवश्यक उपचारपश्चात जिबिसी अस्पतालमा रिफर गरिएको जनाएको छ ।
अस्पतालले त्यस दिन एनटिजी औषधि स्टोरमा उपलब्ध नभएको स्वीकार गर्दै, बिरामीका आफन्तले चिकित्सक र अस्पतालमाथि अभद्र व्यवहार, धम्की र सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपसमेत लगाएको छ ।
घटना सार्वजनिक भएपछि अस्पताल परिसरमा चाप, तनाव र भीड बढ्दै गएको थियो । तर सो विवाद समाधानका लागि अस्पताल व्यवस्थापन समिति, नगरपालिका वा स्वास्थ्य शाखाका पदाधिकारीहरू घटनास्थलमा उपस्थित नदेखिएको स्थानीयको टिप्पणी छ ।