संसदीय छानबिनले कुलिङ अफ पिरियड प्रकरणमा जिम्मेवार रहेको औंल्याएपछि संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद्को रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै गर्दा खतिवडाले निजामती विधेयक निर्माणका क्रममा उच्च पदस्थ कर्मचारीले दिएको दबाब र प्रभाव सम्झिए । आफ्नो कमजोरी स्वीकार गर्दै गर्दा खतिवडाले कानुन निर्माणमा स्वार्थ समूहको प्रभाव कस्तो छ भनेर औंल्याउने प्रयास गरे । अर्थात् नेपालको कानुन निर्माणमा सांसदहरू भन्दा ज्यादा कर्मचारी हावी हुने गरेको तथ्य खतिवडाको अभिव्यक्तिले उजागर गरिदिएको छ । यससँगै कुलिङ अफ पिरियडको प्रावधान निष्क्रिय बनाउने भाषा प्रयोग हुनुमा जिम्मेवार रहेकाहरूको नैतिकताको परीक्षण सुरु भएको छ ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर्याएको थियो । त्यसमा सहमत हुँदै खतिवडाले राजीनामा दिए । अर्का जिम्मेवार पात्र हुन–राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुरा । सचिव दुरा जिम्मेवारीबाट हटिसकेका छन् । संसदीय छानबिनले त्रुटिमा संलग्न रहेको भनेर औंल्याएका अर्का मुख्य पात्र हुन्– मुख्यसचिव एकनारायण अर्याल । अर्यालसहितका विभिन्न मन्त्रालयका कर्मचारीउपर के हुन्छ भन्ने प्रश्न यथावत् छ । राजनीतिक व्यक्तिले नैतिकताको आधारमा राजीनामा दिँदै गर्दा कर्मचारीले पदीय आचरणअनुकूलको व्यवहार प्रदर्शन नगरेको निष्कर्षउपर के निर्णय लिन्छन् बाँकी छ । कर्मचारीहरूको तर्फबाट कुलिङ अफ पिरियड लागू हुन नदिन लबिङ गर्दै हिँडेका मुख्यसचिव अर्याल संसदीय छानबिनको निष्कर्ष कार्यान्वयनमा कति जिम्मेवार हुन्छन् भन्ने विषय परीक्षामै छ ।
सार्वजनिक जीवन धारण गरेका व्यक्ति आमनागरिकका लागि आदर्श रूपमा रहन्छन् । यस्तो विश्वास र मानकले निरन्तरता पाउँदा मात्रै समाज सही गतिमा अगाडि बढ्न सक्छ । अन्यथा, जिम्मेवारीमा रहेकाहरू जिम्मेवार नहुने हो भने आमरूपमा नीति र थिति उल्लघंन बढ्न सक्छ । यस्तो हुन नदिन र सभ्य समाजलाई निरन्तरता दिन सार्वजनिक पदधारण गरेका व्यक्तिले समाजलाई सही सन्देश दिनुपर्छ । मुख्यसचिवको हकमा उनले गरेको व्यवहार सार्वजनिक रूपमै अभिलेखित छ । उनले सही नगरेको भनेर आमरूपमा प्रश्न उठिरहेका बेला संसदीय छानबिनले पद अनुकूल आचरण नगरेको देखाएको हो । यस्तो निष्कर्षपछि मुख्यसचिव जस्तो कर्मचारीको सबैभन्दा उपल्लो तहको व्यक्ति थप मौन रहन मिल्दैन । यसकारण मुख्यसचिवले राजीनामा दिने वा क्षमा माग्ने के विकल्प प्रयोग गर्ने हो एउटा विकल्प रोज्नुको विकल्प छैन ।