
रौतहट : रौतहट फतुवा बिजयपुर नगरपालिका–१० दुधिआवास्थित माध्यमिक विद्यालय दुधिआवामा नमूना नवनिर्मित विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । शिक्षा मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तर्गत निर्माण गरिएको तीन तले १२ कोठे सुविधासम्पन्न भवन करिब ३ करोड ७० लाख रुपैयाँको लागतमा तयार गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रबिन्द्र जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले संयुक्त रूपमा भवनको उद्घाटन गरेका छन् ।
सो अवसरमा कार्यवाहक नगर प्रमुख खातुनले विद्यालयमा शिक्षकको अभाव देखिएको उल्लेख गर्दै छिटो सञ्चालनका लागि आवश्यक शिक्षकको व्यवस्थापन नगरपालिकाले प्राथमिकताका साथ गर्ने प्रतिबद्धता जनाइन् । उनले विद्यालयको स्तर सुधार तथा गुणस्तरीय शिक्षा प्रवर्धनका लागि स्थानीय तहबाट निरन्तर सहयोग गरिने बताइन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख सुधीर कुशवाहा, इन्जिनियर महम्मद फिरोज, योजना प्रमुख रामाशंकर यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय जनप्रतिनिधि, अभिभावक, समाजसेवी, सञ्चारकर्मी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।