२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

चेम्बर र विश्व बैंकबीच निजी क्षेत्रको अवस्थाको विषयमा छलफल

shivam cement
२०८२ कार्तिक १९ गते २०:५४
Shares
चेम्बर र विश्व बैंकबीच निजी क्षेत्रको अवस्थाको विषयमा छलफल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा एक कार्यक्रमको आयोजना गर्दै चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायी र विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीबीचमा सो छलफल भएको हो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेन–जी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखेका थिए । उनले देशका अथाह प्राकृतिक स्रोतहरूको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिने बताएका थिए ।

नेपाललाई अति कम विकसित मुलुक (एलडिसी)बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । उनले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सबल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । 

भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पतिजस्ता क्षेत्रमा लगानीका ठुलो सम्भावना रहेको र यी क्षेत्रहरूमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

जेन–जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे । छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए । 

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्धन, नीति सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

ADV

सम्बन्धित खबर