२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

नेपाल एयरलाइन्सको अध्यक्षमा राई, प्रवक्तामा घिमिरे

shivam cement
२०८२ कार्तिक १९ गते २०:४५
Shares
नेपाल एयरलाइन्सको अध्यक्षमा राई, प्रवक्तामा घिमिरे

काठमाडौं : नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राईलाई दिइएको छ । 

निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मंगलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहनाअनुसार निगममा देखिनेगरी सुधार गर्ने प्रतिबद्धता जनाए । उनले हाल ए ३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान १५ दिनभित्र टुंग्याउन निर्देशन दिए ।

उनले बेलाबेलामा मिडियामा र जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘ब्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु ब्यागेज टुटफुट सम्बन्धमा आएको जनगुनासो यथाशीघ्र सम्बोधन गर्न पनि निर्देशन दिए । अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियमसंगत बदर गर्नसमेत निर्देशन दिए । उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारे । 

नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उनलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूले आ–आफ्नो विभागबाट भइरहेका कामबारे जानकारी गराएका थिए ।

त्यस्तै, निमित्त महाप्रबन्धक कालाखेतीले मंगलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् । झन्डै दुई दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहेका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पुर्‍याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

ADV

सम्बन्धित खबर