२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

विपद्प्रति सचेत हुने कि ?

shivam cement
२०८२ साउन २२ गते ०६:१०
विपद्प्रति सचेत हुने कि ?

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजार मंगलबार परेको छिनभरको वर्षासँगै आएको बाढीले तहसनहस बन्यो । बाढीमा परि दर्जनौंले ज्यान गुमाए । धराली गंगोत्री धामबाट नजिकैको क्षेत्र हो । जुन क्षेत्रमा नेपालीहरू पनि तीर्थ यात्रामा जाने गर्छन् । धरालीको घटनाले नेपाललाई पनि फेरि एकपटक विपद्प्रति हेक्का राख्न सुझाएको छ । किनकि नेपालका अधिकांश भूगोल धराली बजारसँग मिल्दोजुल्दो छ । यसैगरी, छिनभरमै तहसनहस हुने जोखिममा छन् । जसबाट सचेत हुनुपर्ने आवश्यकता हाम्रा लागि छ । हुन त नेपाल–चीन मितेरी पुल बगाउनेगरी रसुवामा बाढी आएको धेरै भएको छैन । जसले ठुलै तहमा जनधनको क्षति बनाएको थियो । असार २४ मा आएको सो बाढीको असर अझै पनि साम्य भइसकेको छैन । किनकि बाढीसँगै रोकिएको नेपाल–चीन आवागमन अझै पनि सहज बनेको छैन । जसले नेपालको आर्थिक गतिविधिमै पनि ठुलो असर गरेको छ । 

नेपालले विपद्जन्य घटना निरन्तर बेहोरिरहेको छ । बाढी, पहिरो, डुबानका घटना एकपछि अर्को गरी घटिरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनले पारेको प्रभावले पनि एकपछि अर्कोगरी यस्ता घटना मात्रात्मक रूपमा बढी देखिएका छन् । गत वर्षको भदौमा सोलुखुम्बुमा दुईवटा हिमताल फुट्दा थामे गाउँ नै तहसनहस बन्यो । जसमा मानवीय क्षति न्यून तहमा भए पनि भौतिक क्षति भने निकै उच्च तहमा भयो । बाढीमा परी दर्जनौं परिवारले आवास गुमाए । भदौमा हिमाली क्षेत्रमा क्षति बेहोरेको नेपालले मनसुनको अन्तिमतिर काठमाडौं उपत्यकामै क्षति बेहोर्नपुग्यो । ‘रेकर्ड ब्रेक’ वर्षासँगै आएको बाढीले उपत्यकाभित्रै ठुलो क्षेत्रलाई प्रभावित बनायो । बाढीमा परी तीन दर्जनभन्दा बढीले ज्यान गुमाए । समथर भूभाग भए पनि उपत्यकाभित्रै डुबानको अनौठो समस्या देखियो । जलवायु परिवर्तनको असर विशेषगरी पहाडी र हिमाली क्षेत्रमा देखिँदै छ । जसको प्रभाव स्वरूप यस्ता प्रकृतिका घटनामा उच्च वृद्धि भइरहेको छ ।

नेपाल आफैंमा पहाडी मुलुक हो । देशको कुल भूभागको ६८ प्रतिशत पहाडी क्षेत्रमा पर्छ । २०७८ मा भएको जनगणनाअनुसार जनसंख्याको ४२.२५ प्रतिशत जनसंख्या पहाडी क्षेत्रमा बसोबास गर्छन् । जलवायु परिवर्तनको असरले सबैभन्दा बढी पहाडी र हिमाली क्षेत्रलाई जोखिमयुक्त बनाएको छ । यस्तोमा ठुलो भूगोल र जनसंख्या जोखिममा छ । यस्तो अवस्थामा मुलुकले जलवायु परिवर्तनले पारेको प्रभाव र सम्भावित जोखिमलाई उच्च ध्यान दिन आवश्यक छ । विपद्पछि पछुताउने भन्दा विपद्अघि नै जोगिने उपाय खोज्नु अनिवार्यता छ । एकपछि अर्को गरी घटिरहेका घटनाबाट समयमै सचेत हुने कि ?

ADV

सम्बन्धित खबर

Advertise