कारागारमा कैदीहरूबीच झडप हुनु सामान्य घटना जस्तो भइसक्यो । यो भन्दा विडम्बनापूर्ण अर्को विषय के हुन्छ ? कारागार र सुधारगृहहरूमा झडपका घटना दोहोरिरहेका छन् । आइतबार सिरहा कारागारमा भएको झडप पछिल्लो एउटा उदाहरण मात्रै हो । सिरहा कारागारमा झडपमा परेर १३ जना कैदी घाइते भएका छन् । के कारणले झडप भयो त ? सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको जवाफ छ, ‘आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।’ के यही कारणले मात्रै झडप भएको हो ? यसको पृष्ठभूमि कसरी तयार भयो ? यसबारे सरकारी अधिकारीहरू बोल्न तयार छैनन् ।
कुनै अपराध गरेबापत कारागारमा राखेर सुधार्ने उद्देश्यले जेल सजाय गरिन्छ । ताकि, अपराधको प्रायश्चित गरोस् र बाँकी जीवनमा गल्ती नगरोस् । यस निम्ति कारागारमा हुने व्यवहार ज्यादै महत्वपूर्ण हुन्छ । एकातिर कारागारमा बस्दा मानिसमा उत्पन्न हुने एकोहोरोपन र अर्कोतिर एकोहोरोपनलाई कम गर्नेभन्दा बढाउने वातावरण बन्दा झडपका घटना हुने हुन् । कारागारमा रहेका कर्मचारी, प्रहरी र समग्र प्रशासनको भूमिका कस्तो छ, त्यसले कैदीको मनोभाव सिर्जना गर्छ । यसले कारागारको अवस्था कस्तो बन्छ भन्ने तय गर्दछ । तर कारागार सुधारगृह जस्तो भइराखेको छैन र त एक पछि अर्को झडपका घटना भइराखेका छन् ।
२६ भदौ २०८० मा वीरगञ्जको विर्तास्थित बाल सुधारगृहमा दुई समूहबीच झडप भएको थियो । ४ असोज २०८० मा बाँकेको डुडुवास्थित जयेन्दु सुधारगृहमा झडप हुँदा घाइते भएका एक जनाको निधन नै भयो । १४ पुस २०७९ मा बाँकेको सुधारगृहमा रहेका कैदीबन्दी झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । जुन सुधारगृहमा सोही वर्ष माघको अन्तिम साता आगजनी भएको थियो । ५ भदौ २०८० मा भक्तपुरको सुधारगृहमा झडप मात्रै भएन, मूल गेट नै तोडेर बन्दीहरू बाहिर निस्किएका थिए । तिनलाई राज्यले पछि नियन्त्रणमा त लियो, तर यस्ता घटनाबाट पाठ सिकेन । एकपछि अर्को घटना कारागारमा किन भयो भन्ने अध्ययन गरेन, सुधारको नीति अवलम्बन गरेन । परिणाममा कारागार सुधारगृह बन्न सकेन र झडपजन्य घटना दोहोरिरह्यो । यसमा फेरि पनि राज्य गम्भीर बन्नै पर्छ । राज्यले अपराध गर्नेलाई जेल पठाउने काम मात्रै नगरोस्, बन्दीलाई अपराध प्रायश्चित गर्ने वातावरण पनि बनाओस्, ताकि जेलबाट निस्केको व्यक्तिले असल नागरिकको परिचय दिन सकोस् ।