पूर्वमन्त्री रामुकमारी झाँक्रीलाई पार्टीबाटै निस्कासनको कार्बाही गर्न एकीकृत समाजवादीका नेताहरुले सुझाव दिएका छन् । सचिवालय बैठकमा नेताहरुले रामकुमारी झाँक्रीलाई निस्कासन गर्न माग राखेका हुन् । गत १४ असारमा बुटवलमा आयोजित एक कार्यक्रममा नेतृ झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे टिप्पणी गरेका थिए । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत पाटनले ३५ लाख धरौटी माग्दै तारेखमा बस्न अध्यक्ष नेपाललाई आदेश दिएको छ । यस्तो आदेश लगत्तै नेतृ झाँक्रीले ‘मरेको सिनो’ बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । यद्यपि उनको उद्देश्य पार्टी पुनर्गठन गरेर जानुपर्छ भन्ने हो । अध्यक्षमाथि गम्भीर संकट आएकाले पार्टी पुनर्गठन गरेर जानुपर्ने झाँक्रीको प्रस्ताव थियो । त्यस क्रममा ‘सिनो’ शब्द प्रयोग गरेका थिए ।
नेतृ झाँक्रीको उक्त शब्दप्रति आपत्ति जनाउँदै एकीकृत समाजवादीले स्पष्टीकरण मागेको थियो । अनुशासन आयोगका तर्फबाट झाँक्रीलाई स्पष्टीकरण सोधिएको थियो । यसै सन्दर्भमा सचिवालय बैठकमा छलफल भइरहेको छ । छलफलका क्रममा नेताहरु राजेन्द्र राई, शेरबहादुर कुँवर, मेटमणि चौधरी लगायतले निष्कासनको कार्बाही गर्न धारणा राखेका छन् । महासचिव घनश्याम भूसाल भने निस्कासनको तहमा पुग्न नहुने पक्षमा छन् । यस्तै प्रकृतिका कमजोरी हुँदा महासचिव भूसालले स्पष्टीकरण सोध्दै आएकोमा यसपटक अनुशासन आयोग मार्फत् झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ । तसर्थ पनि झाँक्रीलाई पार्टीबाट निस्कासनको निर्णय हुन सक्ने सम्भावना धेरै छ । यदि यस्तो निर्णयमा एकीकृत समाजवादी पुग्यो भने एकीकृत समाजवादीको राजनीतिक जीवनमा एउटा नयाँ मोड आउन सक्छ ।
राष्ट्रिय राजनीतिमा भने नेतृत्वमा देखिने गरेको निरंकुश प्रवृत्तिकै निरन्तरता हुनेछ । पार्टी नेतृत्वप्रति असहमति वा फरक मत राख्दा पार्टीबाटै निस्कासित गरिने प्रवृत्ति नेपालका कम्युनिष्टहरुमा निकै पुरानो हो । पछिल्लो समय एमालेका अध्यक्ष केपी ओलीले त्यस्तो प्रवृत्तिलाई निरन्तरता दिदै आएका छन् । केही महिना अगाडि मात्रै पार्टी अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावललाई निस्कासन गर्ने निर्णय एमालेले गरेको थियो । रावललाई निस्कासन गर्दा पार्टी निर्णयप्रति फरक मत राखेको भनेर विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गरिएको थियो । एमाले अध्यक्ष ओलीमा देखिएको यस्तै प्रवृत्तिको विरोध गरेर फुटेको पार्टी हो, एकीकृत समाजवादी । तर एकीकृत समाजवादीमा पनि नेतृत्वबारे टिप्पणी गर्दा निस्कासनकै निर्णय हुने संस्कृतिको थालनि हुनेछ । जबकि यसबेला नैतिकताका आधारमा माधव नेपालले चाहिँ पार्टी नेतृत्वबाट हट्नुपर्ने हो ।