२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

विश्वकप लिग-२ : युएई सिरिजमा नेपाल जितविहीन

shivam cement
२०८२ कार्तिक १९ गते १९:२२
Shares
विश्वकप लिग-२ : युएई सिरिजमा नेपाल जितविहीन

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपाल जितविहीन बनेको छ । बुधबार दुबईस्थित आइसिसी एकेडेमी मैदानमा भएको सिरिजको अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित हुँदै नेपालको यात्रा निराशाजनक ढंगले टुंगिएको हो ।

नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । यससँगै युएईले सिरिजमा दोस्रो जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ भने नेपाल लगातार चौथो हारको सामना गर्न बाध्य भयो ।

युएईको जितमा ओपनर मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । यी दुईबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी भयो, जसले युएईलाई जितको नजिक पुर्‍यायो । शाहदादले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ९६ रनको इनिङ खेले भने वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन जोडे ।

त्यसअघि, ओपनर सोहेब खानले २९ रनको योगदान दिए भने कप्तान आलिसान सराफुले १८ रन बनाए ।

नेपालका करण केसीले १० ओभरमा ५८ रन खर्चेर तीन विकेट लिए । नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल बनाएको थियो ।

नेपालको इनिङको सुरुवात नै कमजोर रह्यो । ओपनर कुशल भुर्तेल २ रनमै आउट भए । दोस्रो विकेटका लागि आसिफ शेख र भीम सार्कीले ७४ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे । आसिफले ४८ बलमा ४ चौकासहित ३४ रन बनाए भने भीमले ६८ बलमा सात चौका प्रहार गर्दै सर्वाधिक ४८ रनको योगदान दिए ।

मध्यक्रममा कप्तान रोहितकुमार पौडेल फेरि पनि निराशाजनक रहे । उनी दुई रनमै आउट भए । कुशल मल्लले भने आक्रामक ब्याटिङ गर्दै ५१ बलमा एक चौका र तीन छक्कासहित ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।

बलिङमा युएईका जुनेद सिद्दिकी, मुहमद जवादुल्लाह र ध्रुव परासरले समान दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट झारे ।

यसअघि नेपालले सिरिजका पहिलो र तेस्रो खेलमा अमेरिकाविरुद्ध तथा दोस्रो खेलमा युएईसँग पराजय भोगिसकेको थियो । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रन, दोस्रो खेलमा युएईसँग पाँच विकेट र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

यससँगै लिग-२ को हालसम्मको तालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालले २० खेलबाट जम्मा १२ अंक जोडेर सातौं स्थानमा छ भने युएई २० खेलबाट १० अंकका साथ पुछारमा रहेको छ ।

ADV

सम्बन्धित खबर