
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार दुबईमा भएको खेलमा युएईले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । कप्तान रोहितकुमार पौडेलको शतकले पनि नेपाललाई जित दिलाउन सकेन ।
नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गर्दै सहज जित हात पार्यो ।
युएईका ओपनरहरू सुरुदेखि आक्रामक बने । आलिशान शराफले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडेका थिए भने अर्का ओपनर आर्यन्स शर्माले उत्कृष्ट ९८ रन बनाए । उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको उत्कृष्ट इनिङ्स खेले ।
उनको यो दोस्रो एकदिवसीय शतक हो । पौडेलले यसअघि मार्च २०२२ मा पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए ।
नेपालका अन्य ब्याटरहरू निराशाजनक रहे । ओपनर कुशल भुर्तेल ७ रनमै आउट भए भने भीम सार्कीले ३ रन मात्र जोडे । आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । अन्त्यतिर करण केसीले ८ बलमा १३ रन थप्दै इनिङ्सलाई २३३ सम्म पुर्याए ।
युएईका लागि जाहिद अलीले ६ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए भने जुनैद सिद्दिकीले ३ विकेट हात पारे ।
यो जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईले आफ्नो स्थिति सुधार गर्दै १८ खेलबाट ८ अंक पुर्याएको छ ।
नेपाल भने लगातार दोस्रो हारपछि सातौं स्थानमै यथावत् छ । नेपालले यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनको हार व्यहोरेको थियो ।
लिग–२ को अंकतालिकामा अमेरिका २२ खेलमा १६ जितसहित ३२ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३० अंकसहित दोस्रो, नेदरल्यान्ड्स २८ अंकसहित तेस्रो स्थानमा छन् ।
ओमान २४ अंकसहित चौथो, क्यानडा २१ अंकसहित पाँचौं, नामिबिया १९ अंकसहित छैटौं स्थानमा छन् । नेपालले १८ खेलबाट १२ अंक जोडेको छ भने युएई ८ अंकसहित अन्तिम स्थानमा रहेको छ ।
अब नेपालले शनिबार अमेरिका र बुधबार युएईसँग बाँकी दुई खेल खेल्दै भ्रमण समाप्त गर्नेछ ।