
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–५ स्थित सरस्वती आधारभूत विद्यालय, बिन्द्रामा ‘विद्यालय खानेपानी सुरक्षा योजना’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वासगेन्स परियोजनाअन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिका सदस्यहरूलाई सुरक्षित खानेपानी व्यवस्थापन, सरसफाइ, जोखिम पहिचान तथा सुधारका उपायबारे प्रशिक्षण दिइएको थियो । साथै, विद्यालयका खानेपानी स्रोत, भण्डारण तथा वितरण प्रणालीको मूल्यांकन गरी सुरक्षा योजना तयार गर्ने प्रक्रिया पनि सिकाइएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी क्लबका प्रतिनिधि र वाश समन्वय समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
समापन सत्रमा सहभागीहरूले सिकाइका अभ्यासहरू विद्यालयमा कार्यान्वयन गरी विद्यार्थीहरूको स्वास्थ्य संरक्षण र स्वच्छ वातावरण सुनिश्चित गर्न प्रतिबद्धता जनाएका थिए ।