२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

नेपालको लगातार तेस्रो हार

shivam cement
२०८२ कार्तिक १५ गते १९:२९
नेपालको लगातार तेस्रो हार

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल ४ विकेटले अमेरिकासँग पराजित भएको हो ।

२ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ औं ओभरमै खेल सकिँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका साइतेजा मुक्कमल्लले ७५ र मिलिन्द कुमारले ७० रनको योगदान दिए । उनीहरूले चौथो विकेटका लागि १२३ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए । मुक्कमल्ल १०१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै करण केसीको बलमा आउट भए । त्यस्तै मिलिन्द ६६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सन्दीप लामिछानेको बलमा क्याच आउट भए । सयान जहानजिरले ३६ रन जोड्दा सन्दीपकै बलमा बोल्ड भए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिँदै ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले समान १–१ विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी रहँदा २ सय ७१ रनमा अलआउट भएको थियो ।

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ६७ बलमा ७५ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । अन्त्यतिर करण केसीले ३१ बलमा आक्रामक ४९ रनको पारी खेले । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे ।

अमेरिकाका बलर हर्मीत सिंहले ३ विकेट लिए भने सौरभ नेत्रभल्कर र नोस्टुस केन्जिगेले समान २–२ विकेट झारे । जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

यो जितसँगै अमेरिका लिग–२ को तालिकाको शीर्ष स्थानमा यथावत् छ । अमेरिकाले २३ खेलबाट ३४ अंक जोडेको छ भने नेपाल १९ खेलबाट १२ अंकका साथ सातौं स्थानमा यथावत् छ ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा युएईसँग ५ विकेटले हार व्यहोरेको थियो ।

नेपालले अब आफ्नो चौथो खेल बुधबार युएईविरुद्ध खेल्नेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर