२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

सप्तरीको जनता माध्यमिक विद्यालयमा १० वर्षपछि विद्यालय व्यवस्थापन समिति चयन

shivam cement
मनु यादव निरज
२०८२ कार्तिक १५ गते १९:४९
सप्तरीको जनता माध्यमिक विद्यालयमा १० वर्षपछि विद्यालय व्यवस्थापन समिति चयन

सप्तरी : सप्तरीको खडक नगरपालिका वडा नं. १ सिस्वा-बेलहीस्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमिक विद्यालयमा १० वर्षपछि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट रामकुमार साह अध्यक्षमा विजयी भएका छन् ।

उनले मनोज कुमार चौधरी, बसन्त राम, ललिता देवी साह र सरस्वती कुमारी यादवलाई पराजित गर्दै निकटतम प्रतिस्पर्धीभन्दा १०२ मत बढी प्राप्त गरे । कुल ६८५ मतदातामध्ये ५५६ मत खसेको थियो ।

नवनिर्वाचित सदस्यहरूमा श्रवण कुमार मण्डल, अञ्चला कुमारी मण्डल र श्याम कुमार राम छन् ।

विजयी अध्यक्ष साहले हाजिरी नियन्त्रण, १५-१५ दिनमा विद्यार्थी तथा शिक्षकहरूलाई परीक्षाद्वारा प्रोत्साहन, शैक्षिक गुणस्तर सुधार, अनुशासन र भौतिक पूर्वाधार विकासमा समर्पित रहने प्रतिबद्धता जनाए । उनले विद्यालयलाई समुदायमै उत्कृष्ट शैक्षिक केन्द्र बनाउने लक्ष्य राखेका छन् ।

मतदान निष्पक्ष र पारदर्शी भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्र रायले बताए ।

यसअघि अध्यक्षविहीन समितिका कारण प्रशासनिक कार्य, बजेट स्वीकृति र विकास योजना प्रभावकारी हुन सकेका थिएनन् । अब नयाँ नेतृत्वसँगै विद्यालयको प्रगति र विद्यार्थी हितमा सशक्त पहल हुने अपेक्षा छ । प्रधानाध्यापक रविन्द्र प्रसाद चौधरीले यो जानकारी दिए ।

निर्वाचन अधिकृत तथा खडक नगरपालिका शिक्षा शाखा प्रमुख विरेन्द्र कुमार यादवले निर्वाचन सफल भएकोमा बधाई दिँदै नयाँ समितिलाई शैक्षिक सुधारमा अग्रसर रहन आग्रह गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर