२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

बौद्ध दर्शन र कूटनीति

shivam cement
२०८२ असार ५ गते ०६:०५
बौद्ध दर्शन र कूटनीति

–श्याम रोक्का

नेपाल ऐतिहासिकरूपमा प्राचीनकालदेखि नै अस्तित्वमा रहेको देश हो । यहाँ दुई महान् संस्कृति– वैदिक धर्म दर्शनमा आधारित संस्कृति र बौद्ध धर्म दर्शनमा आधारित संस्कृति अस्तित्वमा रहेका छन् । यी दुई सांस्कृतिक परम्परामध्ये बौद्ध धर्म दर्शन वा संस्कृतिका प्रणेता गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हुनाले लुम्बिनीको प्रभाव विश्व समुदायमा पर्नु स्वाभाविक छ ।

विश्वका कमजोर होस् वा शक्तिशाली देश होस्, ती देशहरूका सम्बन्ध वा कूटनीतिक व्यवहारमा बौद्ध दर्शनको महत्वपूर्ण प्रभाव पाइन्छ । बौद्ध संस्कृति वा नरम शक्तिको प्रयोगले कूटनीतिमा सफल रहेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व समुदायलाई विश्व शान्तिको आह्वान गरेर विश्वको लुम्बिनीमा ध्यानाकर्षण गरे । जसको सन्देश प्रेम, सद्भाव, भाइचारा मात्र होइन सम्पूर्ण प्राणीहरूप्रति दयावान्, शान्तिप्रेमी, मानव मूल्यको सम्मान गर्नुपर्छ र युद्ध, रक्तपात र हिंसाबाट टाढा रहनपर्छ भन्ने थियो । महासचिव गुटरेसको लुम्बिनीमा उपस्थितले विश्व समुदायबिच सद्भाव कायम गर्न खोजिएको कूटनीतिक प्रयास थियो । वर्तमान परिस्थितिमा रहेका विभिन्न देशहरूबिचको तनावपूर्ण अवस्थाको अन्त्य गर्दै संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरू बिच कूटनीतिक सम्बन्ध थप बलियो होस् भन्ने थियो ।

लुम्बिनी नेपालको छिमेकी देशहरू जनसंख्या र भौगोलिक दृष्टिले विशाल आकृतिका रूपमा रहेका भारत र चीनबिचमा छ । ऐतिहासिक कालदेखि नै बौद्ध धर्म दर्शन वा बौद्ध संस्कृतिको प्रभाव यी देशहरूमा रहेका कारण बुद्धको जन्म स्थल लुम्बिनीसँग यी देशहरूको सम्बन्ध पारस्परिक छ ।

सिद्धार्थ गौतमले बोध गयामा बोधि (ज्ञान) प्राप्त गरेर बुद्ध भएका हुन् भने जीवनको अधिकांश समय वर्तमान भारतका विभिन्न स्थानमा बिताएको र महापरिनिर्वाण पनि वर्तमान भारतकै कुशीनगरमा भएको थियो । यसरी हेर्दा एसियाका दक्षिणी विभिन्न भू–भागमा बुद्धको समयदेखि नै बौद्ध संस्कृतिको प्रभाव रहँदै आएको छ । त्यसैगरी नेपालको उत्तरी भू–भाग अर्को छिमेकी देश चीनमा पनि करिब २ हजार वर्ष अघिदेखि बौद्ध धर्म दर्शनको प्रभाव रहँदै आएको छ । प्राचीन कालमा नेपालकी राजकुमारी भृकुटीले तिब्बतमा बुद्ध धर्म संस्कृतिको प्रचारमा योगदान पु¥याएकी थिइन् । अहिले चीन जनसंख्याको दृष्टिले संसारमा सबैभन्दा धेरै बौद्ध धर्मानुयायीहरू रहेको देश हो । यी २ देशले आफ्नो ऐतिहासिक पृष्ठभूमि र वर्तमान विश्व परिवेशलाई समेत ख्याल गरेर बौद्ध दर्शनमार्फत विदेशसँगको सम्बन्ध वा कूटनीतिलाई व्यापकरूपमा प्रयोग गरेको देखिन्छ । पछिल्ला वर्षहरूमा यी २ देशबिच मात्र नभई विश्वमा नै बुद्ध दर्शनको अनुसरण गर्दै बुद्ध दर्शनले देखाएको बुद्धको मध्यमार्गी बाटो अवलम्बन गर्दा २ देशबिचका तिक्तता र तनाव कम गर्न सफल भएका छन् । 

दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, सुदूर पूर्वी एसिया र मध्य एसियाका देशमध्ये अधिकांश देशहरू भुटान, श्रीलंका, बर्मा, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, मङ्गोलिया, जापान, कोरिया, लाओस्, रुसको बुरियातीया र कल्माकीयालगायतका देशहरू बौद्ध धर्मानुयायी जनसमुदायको बसोबास भएका देशहरू हुन् । यी देशका जनता र सरकारले बौद्ध संस्कृतिलाई आदर्श मान्ने हुनाले बौद्ध संस्कृति वा बौद्ध धर्मावलम्बीको प्रभावले अन्य मुलुकमा भन्दा यी देशमा शान्तिपूर्ण वातावरण रहेको अनुभूति गर्न सकिन्छ । त्यसकारण गौतम बुद्धको जन्मस्थान लुम्बिनीप्रति विश्व मानव समुदायको ध्यान आकर्षित हुनु स्वाभाविक हो ।

नेपालको लुम्बिनीमा जन्मेर भारतको बोध गयामा ज्ञान (बोधि) प्राप्त गरेपछि गौतम बुद्धका नामले विश्वविख्यात भएका सिद्धार्थ गौतमका दर्शन समग्रमा अनेकौँ समस्याको जनजालमा परेका मानवको मुक्ति वा कल्याणमा केन्द्रित रहेका छन् । बौद्ध धर्म–दर्शमा आधारित भएर विकसित भएको बौद्ध संस्कृतिले मानव समुदायमा सद्भाव निर्माण गरेको छ भने विश्वमा बिस्तारै बौद्ध संस्कृतिको प्रभाव बढ्दै गइरहेको छ । बौद्ध संस्कृतिका कैयौँ आयामहरू नेपाली परिवेशमा विकसित, संरक्षित र सम्बन्धित भएको पाइन्छ । लुम्बिनीले नेपालको परराष्ट्र सम्बन्ध वा कूटनीतिमा सकारात्मक प्रभाव वा भूमिका खेलेको होइन यसले विश्व शान्तिको लागी खेलेको भूमिका ज्यादै महत्वपूर्ण छ ।

बुद्ध धर्मअनुसार हरेक व्यक्तिले अनिवार्यरूपले दिनहुँ ५ वटा नियम अर्थात् पञ्चशील पालना गर्नुपर्छ । हरेक व्यक्तिले दैनिक पालना गर्नुपर्ने ५ नियमहरू हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु (आफ्नो पति वा पत्नीसँग बाहेक अरूसँग यौनाचार नगर्नु), झुटो नबोल्नु र ५ जाँड रक्सी (मादक पदार्थ)को सेवन नगर्नु हो । उल्लेखित पञ्चशील मानव समुदायको विकासको आधार हो । २ देशबिच सद्भाव कायम गर्न वर्तमान समयमा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ५ वटा नियमको विकास गरिएको छ, जसलाई अन्तर्राष्ट्रिय सम्बन्धका पञ्चशील पनि भनिन्छ ।

विश्वका विभिन्न विकसित राष्ट्रहरूले आफ्ना उत्पादनको बिक्री र आवश्यक कच्चापदार्थ वा स्रोत प्राप्तिका लागि अफ्रिका, एसिया र ल्याटिन अमेरिका महादेशका कम विकसित र कमजोर देशलाई आफ्ना उपनिवेश बनाएर ती उपनिवेशहरू मध्ये कैयौंलाई देशलाई आफ्नै राज्यमा गाभेर साम्राज्य खडा गरे थिए र सन् १९१७ सम्ममा साम्राज्यवाद र उपनिवेशवाद विरुद्धको संघर्षले गति लिएको थियो । त्यसैक्रममा रुसको जनक्रान्ति सम्पन्न भयो । यसपछि संसारका अन्य क्षेत्रमा समेत राष्ट्रिय स्वतन्त्रता आन्दोलन सफल हुँदै जाँदा सोभियत संघसँग नजिक सम्बन्ध रहेका जनवादी÷समाजवादी सरकार भएका देशहरूको समूह, उपनिवेशवादी साम्राज्यवादी शक्ति राष्ट्र र यी दुवै शक्तिकेन्द्रमा असंलग्न रहेर आफ्नो विकासको मार्गमा अगाडि बढ्न चाहने तेस्रो विश्वका राष्ट्रहरू अस्तित्वमा आए ।

ती नवोदित तेस्रो विश्वका देशहरूमा चीन, बर्मा, भारत, नेपाललगायतका देशहरूको ऐतिहासिक÷सांस्कृतिक पृष्ठभूमि बुद्ध धर्म दर्शन तथा संस्कृतिसँग जोडिँदा यी देशहरूले एक आपसमा वा अन्य देशहरूसँग दौत्य सम्बन्ध स्थापना गर्दा आपसीहित र स्वाधीनता कायम राख्ने गरी बौद्ध धर्म संस्कृतिमा उल्लेखित पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धका पनि निम्नानुसारका पञ्चशील बनाएका थिए । पञ्चशील सिद्धान्तभित्र एकले अर्को देशको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, आक्रमण नगर्ने वा अनाक्रमण, अरूको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित कायम गर्ने, शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गर्ने ।

बौद्ध धर्म दर्शनको आधारमा आफ्नो देशको विदेश नीतिको विकासको सुरुवात सबैभन्दा पहिला जनगणतन्त्र चीनले गरेको देखिन्छ । सन् १९४९ को अक्टुवरमा चीनको केन्द्रीय सरकारले पञ्चशीलको तेस्रो र पाँचौँ बुँदा आफ्नो विदेश नीतिमा रहेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको थियो । त्यसपछिका दिनमा चीनले त्यस नीतिलाई पालना गरेको देखिन्छ । यसको केही समयपछि चीन र वर्माका बिचमा सम्पन्न सीमा सम्झौतामा पञ्चशीलमा उल्लेखित सिद्धान्तलाई अवलम्बन गरिएको थियो, तर यतिन्जेल यी सिद्धान्तहरूलाई पञ्चशील नामकरण गरिएको थिएन ।

सन् १९५४ मा भारत र चीनका बिच तिब्बतसम्बन्धी सन्धि गर्दा यी ५ सिद्धान्तलाई सूचीबद्ध गरिएको थियो । तर, त्यसबखत पनि पञ्चशील भनिएको थिएन । सन् १९५४ जुन २७ का दिन भारतको नयाँ दिल्लीमा चीनका प्रधानमन्त्री चाउ एनलाई र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरी पञ्चशीलको सिद्धान्त औपचारिक रूपमा जारी गरेका थिए । त्यो मितिदेखि पञ्चशील सिद्धान्त तेस्रो विश्वका नवोदित वा नवस्वाधीन राष्ट्रले अंगीकार गर्दै आएका छन् ।

१२ अप्रिल १९५५ मा इन्डोनेसियाको वाङ्डुङ्मा सुरु भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा पनि पञ्चशीलको चर्चा भयो । यस क्रममा नेपाल र चीनका बिचमा सन् १९५५ अक्टुवर १ मा सम्पन्न दौत्य सम्बन्ध पनि पञ्चशीलको सिद्धान्तमा आधारित भएर सम्पन्न भएको हो । कुनै पनि देश वा राष्ट्रको अस्तित्व र विकासका लागि गृह नीति र परराष्ट्र नीतिको सफल कार्यान्वयनको ज्यादै महत्व रहेको हुन्छ । सामान्यतः परराष्ट्र नीतिलाई गृह नीतिको विस्तारित रूप मानिए पनि परराष्ट्र नीति वा त्यसले निर्धारण गरेका उद्देश्य प्राप्तिका लागि गरिने प्रयत्नमा उत्पन्न हुनसक्ने जटिलतालाई ठम्याएर सोहीअनुसार व्यवहार गर्न सकिएन भने राष्ट्रको स्वतन्त्रता वा अस्तित्व नै संकटमा पर्न सक्छ । त्यसैले विदेश सम्बन्धको व्यवहार वा कूटनीतिमा बुद्ध दर्शनले देखाएको मध्यमार्गी बाटो महत्वपूर्ण छ ।

(लेखक, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise