२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

साउदी अरेबियासँग श्रम समझदारी गर्ने सरकारको निर्णय 

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते ०८:०६
साउदी अरेबियासँग श्रम समझदारी गर्ने सरकारको निर्णय 

काठमाडौ : नेपाल र साउदी अरेबियाबीच श्रम गर्ने सरकारले निर्णय गरेको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको छ ।  

सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताको प्रयास हुँदै आएकोमा लामो समयको प्रयासपछि श्रममन्त्री शरतसिंह भण्डारीले यसलाई अन्तिम रूप दिएका हुन् । लाखौं नेपालीको वैदेशिक रोजगार गन्तव्य रहेको साउदी अरेबियासँग श्रम समझदारी गर्न बाटो खुलेको मन्त्री भण्डारीले बताए । यस सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानवअधिकारको सिद्धान्तअनुसारका अधिकार प्राप्त गर्ने र ‘इम्प्लोयर पे मोडल’अनुसार सुविधा प्राप्त गर्नेछन् । सबै श्रम गन्तव्य मुलुकसँग गरिने श्रम सम्झौतामा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानवअधिकारलाई केन्द्रमा राखिने मन्त्री भण्डारीले जानकारी दिए ।  

श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरिरहेको बताएका छन् । मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रहरूको समेत विस्तृत समीक्षा गरिरहेको बताउँदै पुष्करले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानवअधिकार उलंघनका विषयमा नेपाल सरकारले शून्य सहनशीलता नीति अपनाइएको बताए । नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल–साउदी श्रम सम्झौता स्वागतयोग्य रहेको बनाउँदै अन्य मुलुकमा समेत यस्ता सम्झौता गर्न सुझाव दिएका छन् । श्रम तथा रोजगारका क्षेत्रका विज्ञ युवराज बस्नेतले नेपाली श्रमिक विदेशी भूमिमा सामाजिक संरक्षण प्राप्त गर्नेमा यो सम्झौताले ध्यान दिएको बताए ।   

सन् २०३४ मा हुने फिफा विश्वकप आयोजनाको तयारीस्वरूप साउदीले विगतमा श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवासुविधाको सुनिश्चितता गरेको छ । कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रूपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको देखिन्छ । यसअघि नै ‘साउदी फन्ड’को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।
साउदी अरबमा काम गर्ने नेपालीहरूले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । हाल ४ लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेसामा कार्यरत छन् । यद्यपि, नेपाली आप्रवासी कामदारहरूले जटिल समस्याको सामना गरिरहेको सरोकारवाला बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise