–दिनेश अर्याल
वर्षा मौसम विकास निर्माणको दृष्टिले चुनौतीपूर्ण समय हो । कहिले अविरल झरी, कहिले पहिरो, कहिले डुबान, कहिले सडक कटान र कहिले योजना नै स्थगित हुने अवस्था आउने भएकाले वर्षायामलाई ‘निर्माण विराम’को रूपमा लिने परम्परा नेपालमा व्यापक छ । सरकारका बजेट तथा योजना कागजमा त निर्धारित समयमै सकिने गरी बनाइए पनि त्यसको कार्यान्वयन भने प्रायः वर्षायामले अवरूद्ध गरिदिन्छ । यस्तो परिस्थितिमा वर्षा केवल प्राकृतिक अवस्था मात्र नभई, नेपालको विकास बाधित गर्ने एक संरचनागत समस्या झैं देखिन्छ । तर, के वर्षायामलाई दोष दिँदै बस्नु मात्रै समाधान हो त ? या, त्यसैलाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन सकिन्न ?
नेपालमा विकास निर्माणको कार्यहरू हिउँदमा सुरू गर्नुपर्ने हो । हिउँदको समयमा मौसम खुल्ला हुन्छ, सडक सुक्खा हुन्छन्, मजदुरको उपलब्धता पनि राम्रो हुन्छ । यति हुँदा हुँदै पनि धेरैजसो योजना आर्थिक वर्षको अन्त्यतिर चैतदेखि मात्र सुरू हुन्छन् । यसले गर्दा जुन योजनाले समयमै गुणस्तरीय रूपमा सम्पन्न हुन सक्थ्यो, त्यो वर्षायाममा पनि अलपत्र पर्छ । वर्षाको पानी, पहिरो र ढुंगामाटोका कारण निर्माणस्थलमा पुग्न गाह्रो हुन्छ, कामदारको सुरक्षाको चिन्ता हुन्छ, निर्माण सामग्री ढुवानीमा अवरोध आउँछ । यस्तो बेला काम गर्दाको लागत पनि बढ्छ, तर परिणाम भने सन्तोषजनक हुँदैन ।
वर्षायामको समयमा सडक विस्तार, पुल निर्माण, भवन निर्माण वा सिँचाइ आयोजनाहरू सबैजसो प्रभावित हुने गर्छन् । कतिपय योजना त सुरू भइसकेपछि पनि छोड्नुपर्ने हुन्छ, किनभने पहिरोले बाटो अवरूद्ध बनाउँछ वा बाढीले काम गर्नै नमिल्ने बनाउँछ । निर्माणस्थलमा राखिएको सामग्री नष्ट हुन्छ, अपुग हुने गर्छ । यस्तो अवस्थामा स्थानीयबासीको आलोचना बढ्छ, अनुगमन गर्ने निकाय असन्तुष्ट हुन्छ, तर कोही जिम्मेवार ठहर्दैन ।
त्यसैले, वर्षायाममा विकास निर्माण कार्यको कमजोर प्रगति केवल मौसमी कारण मात्रै नभई, योजनाबद्धता र समय व्यवस्थापनको गम्भीर कमजोरीको परिणाम हो । हरेक वर्ष यस्तै हुने हो भने हरेक वर्षायामले देशको बहुमूल्य समय, स्रोत र श्रम खेर जान्छ । एउटा योजनालाई समयमा सम्पन्न गराउन सके, त्यसबाट जनताले तत्काल लाभ लिन सक्थे । उदाहरणका लागि, एक वटा सडक निर्माण असारमा सकियो भने त्यसले त्यो वर्षकै बाढीबाट राहत पुर्याउन सक्थ्यो । तर त्यो योजना अधुरो छ, बाटो नै अवरूद्ध छ भने त्यही बाढीले गाउँ–सहरमा थप क्षति पु¥याउँछ । यसरी वर्षायाममा अधुरो विकास उल्टै विनाशको कारण बन्न सक्छ ।
तर, वर्षा मौसमलाई पूर्णतः निष्क्रिय समयको रूपमा हेर्नु पनि यथार्थपरक हुँदैन । यदि पूर्वतयारी राम्रो हो भने वर्षायाममा पनि केही विशेष प्रकारका विकास कार्यहरू सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि, शहरी क्षेत्रमा ढल निकास, पानीको बहाव सुचारू बनाउने पूर्वाधार, डुबान न्यूनीकरणका उपाय, विद्यालयहरूमा सुरक्षित छाना निर्माण, विपद् व्यवस्थापन केन्द्रहरू तयार पार्ने आदि कार्यहरू प्राथमिकतामा राख्न सकिन्छ । वर्षामै सुरू गरिने यस्ता योजनाले आगामी वर्षाको जोखिम घटाउन सक्दछ ।
यसका लागि आवश्यक हुन्छ— विकास कार्यको वार्षिक चक्रमा मौसमीतालाई गम्भीरतापूर्वक समावेश गर्नु । आजको प्रविधिको युगमा मौसमको पूर्वानुमान, खतरा मूल्यांकन र समय व्यवस्थापन सजिलो भएको छ । कामहरूलाई मौसमअनुसार वर्गीकरण गरेर योजना बनाइयो भने वर्षायाम ऋतुमा पनि केही कार्य निरन्तर अघि बढ्न सक्छन् । उदाहरणका लागि, इनडोर निर्माण कार्य, नक्सा तयार गर्ने, ठेक्का प्रक्रिया टुंग्याउने, अनुगमन र मूल्यांकन, जनशक्ति तालिम, बजेट कार्यान्वयनको समिक्षा आदि कार्य वर्षा मौसममै गर्न सकिन्छ । यसो गर्दा बाँकी समयको उपयोग अझ प्रभावकारी हुन्छ ।
त्यस्तै, वर्षायामलाई नै लक्षित गरेर आपतकालीन संरचना विकास गर्ने अभ्यास पनि नेपालमा थालिनु जरूरी छ । अस्थायी पुल, पहिरोबाट जोगाउने पर्खाल, बाढी पूर्वचेतावनी प्रणाली, राहत गोदामहरू, उद्दार पूर्वतयारीलगायतका कार्य वर्षाको समयमा प्रभावकारी हुने गरी सुरू गर्न सकिन्छ । हरेक वर्ष एकै प्रकृतिको विपद् दोहोरिरहँदा पनि हामी पठनपाठन स्थगित गर्नु, आवागमन अवरूद्ध गर्नु, सार्वजनिक सेवा प्रभावित पार्नुजस्ता असहज अवस्था भोगिरहेका हुन्छौं । यदि पूर्वतयारी सशक्त भयो भने वर्षाले ल्याउने संकटलाई सहजै व्यवस्थापन गर्न सकिन्छ ।
अर्को पक्ष, वर्षायामलाई विकासका लागि समय नमान्ने प्रवृत्तिले असार महिनालाई ‘ढोकामा बजेट बाँड्ने महिना’ बनाइदिएको छ । वर्षैभर नचलेको काम एक महिनामा भ्याइहाल्ने हतारोमा गुणस्तर, पारदर्शिता र दीर्घकालीन उपयोगितालाई बेवास्ता गरिन्छ । यस्तो अभ्यासले विकास होइन, बजेटको अनियमितता र भ्रष्टाचारलाई पोषण दिएको छ । विकास भनेको दिगो, सहभागी र समावेशी प्रक्रिया हो । वर्षा मौसम यसलाई उल्ट्याउने समय बन्नु हुँदैन ।
अन्ततः, वर्षा मौसममा विकास निर्माणको सुस्तता वा अवरोध केवल वर्षाको दोष होइन । यो व्यवस्थापनको कमजोरी हो, नेतृत्वको अकर्मण्यता हो र दीर्घकालीन सोचको अभाव हो । समाधान भनेको प्राकृतिक चक्रलाई दोष दिएर उम्किनु होइन, त्यसलाई आत्मसात् गर्दै कार्यान्वयन प्रणालीलाई सुधार गर्नु हो । यदि योजनाहरू समयमै सुरू गरिए, बजेट कार्यान्वयन मौसमीतालाई ध्यान दिएर गरियो भने वर्षायामविकासका लागि बाधक होइन, अवसर बन्न सक्छ । अब आवश्यकता छ— वर्षायामसँग लड्ने होइन, मिलेर अघि बढ्ने सोचको निर्माण गर्ने । तबमात्र नेपालका विकास कार्यले समय, मौसम र स्रोतको सम्मान गर्दै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।