२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

झोले : शब्दार्थ विमर्श

shivam cement
२०८२ असार ४ गते ०६:०५
झोले : शब्दार्थ विमर्श

–प्रा.डा. बद्री विशाल पोखरेल 

हरेक २ कोसमा पानी फरक हुन्छ र हरेक ४ कोसमा भाषा नै भिन्न हुन्छ । परिवर्तनशील यस दुनियाँमा शब्द र यसको अर्थ र तात्पर्यमा परिवर्तन भइरहेको हुन्छ । उहिले तिलको मात्र तेल बुझिन्थ्यो, अहिले त भुस आदिको तेल भन्ने गरेर अर्थ विस्तार भएको छ । ‘गु’ अर्थात् अन्धकारबाट ‘रू’ उज्यालोतिर उन्मुख गराउने गुरूको महान् अर्थ अहिले अपव्याख्या गरिएको छ र ए, गुरू भात पकायौँ ? ए गुरूजी, गाडी कतिखेर गुडाउने हो भनिन्छ । रस शब्दको सामान्य अर्थ झोल वा तरल पदार्थ हो, तिहुन तरकारीको झोल हो । तर, उही रस शब्दको प्राविधिक र पारिभाषिक शब्दार्थ कला साहित्यका सन्दर्भमा श्रृंगार, वीर र करूणाजस्ता साहित्यिक रस वा भावहरूको परिपक्व अवस्था हो । एउटै शब्दलाई पनि कुन सन्दर्भ र प्रसंगमा प्रयोग गरिन्छ,त्यस अनुसार शब्दको अर्थ निश्चित हुन्छ । 

एउटै शब्दको विभिन्न प्राविधिक सन्दर्भमा प्रयोग गर्दा त्यसका फरक अर्थ निर्धारित वा व्याख्यायित हुन्छन् र गरिन्छन् । त्यसैले इतिहास र जनप्रशासन क्षेत्रमा प्रयोग गरिने अभिलेख शब्दका भिन्न–भिन्न अर्थ लगाइन्छ । इतिहास र पुरातत्वका सन्दर्भमा अनुसन्धान र अध्ययनको विशिष्ट सामग्री भन्ने बुझिन्छ भने जनप्रशासनमा रेकर्ड भन्ने भिन्न अर्थ बोध हुन्छ । 

जीवन जगत् सम्बन्धी दर्शनका सर्जक वा निर्माता वरिष्ठ चिन्तक विद्वान् हुन् । अध्यात्मवाद, भौतिकवाद र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र प्रजातान्त्रिक समाजवाद आदि दर्शनका प्रणेता कुनै सामान्य मानव थिएनन् । तिनको यस संसारमा उच्च र उदात्त भूमिका र महत्व रहेको छ । तिनै दर्शनका प्रकाश र प्रभावमा विभिन्न राजनीतिक प्रणालीहरू सुरू र विकसित भएका हुन् । तिनै दर्शन, दृष्टिकोण र मान्यतामा आधारित भएर राजनैतिक पार्टीका विभिन्न र मौलिक पहिचान बनेका र बनाइएका हुन् । विभिन्न रंग, आकार, प्रकारका पार्टी झन्डाहरूले उपर्युक्त कुरालाई प्रमाणित गर्छन् । तर, राजनीतिलाई गन्दा खेल भन्ने गलत भाष्य बन्यो, बनाइयो । लोकतान्त्रिक जनतान्त्रिक पार्टी र पद्धति स्वयं विकृत होइन । पार्टी राजनीति फुटबल खेलजस्तो हो । खेलाडीका कारण फुटबल खेल रफ, विकृत र गलत हुन्छ र हुनसक्छ तर स्वयं फुटबल वा राजनीति गलत होइन भन्ने भाष्य विस्तार गर्न सकिएको छैन । अनि यही विकृत भाष्यका कारण कुनै न कुनै पार्टीसित व्यक्ति आवद्ध हुने कुरालाई अवहेलना गर्न खोजिएको देखिन्छ । असंगठित हुनुभन्दा संगठित हुनु जाती कुरा हो । ‘संघे शक्ति कलौ युगे’ अर्थात् संगठित शक्ति नै बलवान् हुन्छ, एक थुकी सुकी सय थुकी नदी हुन्छ । कुन पार्टी सही र जगत हो भन्ने कुरा आफूले विचार गर्ने कुरा हो । तर पार्टीमा आबद्ध हुने कुरा स्वयं नजाती होइन । 

राजनीति जेठो नीति हो । यसैका आधारमा देशको सबै क्षेत्र परिचालित हुन्छ । राजनीतिलाई सच्याउन पनि राजनीतिमै प्रवेश गर्नुपर्छ । त्यहीँभित्र पसेर लडाइँ लड्नुपर्छ । जननेता मदन भण्डारीले जनपक्षीय पञ्चका रूपमा पञ्चायतभित्र प्रवेश गर्नुपर्छ भन्दा उतिबेलाका क्रान्तिकारी सबै नेता मदनका विरूद्ध उभिए, अनि मदनले राम्ररी सम्झाउँदै पञ्चायतको भुँडीमा प्रवेश गर्ने र भुँडी भित्रैबाट लात्ताले हानेर पञ्चायतको अन्तध्र्वंश गर्ने कुरा सविस्तार बताउनु भएको थियो । यसलाई अझ छर्लङ्ग पार्न एउटी आमाको गर्भमा रहेको ७÷८ महिनाको बालकले आमाको भुँडीभित्रबाट लात्ताले हानेको उदाहरण दिनु भएको थियो । त्यसैले राजनीति र राजनीतिक पार्टी तथा नेताका बारेका तमाम गलत भाष्य विरूद्ध व्यवहारतः बौद्धिक आँधीबेहरी सिर्जना गर्नुपर्छ र यसभित्रका तमाम विकृति र विसंगतिलाई हटाउन लागि पर्नुपर्छ । अझ आम र तमाम श्रमजीवी जनताको भाग्य भविष्य निर्माण गर्ने राजनीतिक कर्म र कर्मीलाई झोले भनेर हियाउने प्रवृत्तिविरूद्ध तर्क र तथ्यसहित खण्डन गर्नुपर्छ । 

बौद्धिक र प्राज्ञिक व्यक्तित्वले राजनीति गर्नु हुँदैन भन्ने कुरा पनि बारबार आउने गर्छ । चाणक्यले राजनीतिमा चासो नराखेको भए, भारतीय राजनीतिको अवस्था कस्तो हुन्थ्यो होला ? एउटा छलफलको विषय हो । त्यसैले सक्रिय राजनीति गर्ने/नगर्ने व्यक्तिको स्वैच्छिक विषय हो, तर राजनीतिमा बौद्धिक र सचेत समुदायले गम्भीर चासो राख्नैपर्छ र पार्टीभित्रका विकृति सच्याउने हो भने सक्रिय राजनीतिमा भाग लिनै पर्छ । किनकि घरको बरन्डामा कसेर पार्टीभित्रको संगति र विसंगति थाहा पाइन्न । पार्टीभित्र वा घरभित्रका चुल्हा चौकामा पसेर मात्र यथार्थ र वास्तविकता थाहा पाइन्छ र त्यहीभित्र पसेर लड्नु पनि पर्छ । राजनीति दिशाहीन हुन थाल्यो भने उचित दिशाहीन हुन आँट्यो भने त्यसलाई जसरी पनि तह लगाउनै पर्छ । कतिपय माक्र्सवादी प्रबुद्ध स्रष्टा, द्रष्टा, व्यक्ति र व्यक्तित्वहरू अहिलेको राजनीतिक विकृतिबाट असाध्यै खिन्न र दुःखित देखिन्छन् । तिनमा आफूलाई कुनै राजनीतिक र राजकीय उच्च पद नपाएकामा खास गुनासो छैन तर खुसामद गर्नेहरूले बारबार मौका पाउने र तिनैका कारण पार्टीसमेत लाञ्छित भएकामा गम्भीर गुनासो रहेको थाहा भयो । पार्टीका चरम विकृतिबारे नेपाल बुद्धिजीवी परिषद्को ११ राष्ट्रिय सम्मेलनको प्रतिवेदनमा नै उल्लेख गरिएको रहेछ । यिनै विकृत परिस्थिति देखेर प्रथम महिला राष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन बाध्य भएको अवस्था देखिन्छ । भण्डारी रहरले र लहडले होइन ओलीपछिको एक अब्बल, अन्तर्राष्ट्रिय ख्याति कमाएको र जबजको जिन भएका नाताले सक्रिय राजनीतिमा आउन बाध्य भएको देखिन्छ । तमाम नेता र कार्यकर्ताहरूमा जबजअनुसारको कृतित्व, चरित्र, चिन्तन, व्यवहार तथा आर्थिक नैतिक जीवन आदर्श हुने हो भने कसैले पनि झोले भन्ने हिम्मत नै गर्दैन र भनिहाल्यो भने भन्नेलाई नै जन समाजले तिनलाई लोप्पा खुवाउँछ । त्यसैले हजार सिद्धान्तभन्दा एउटा व्यवहार धेरै माने र महत्वको हुन्छ भनिएको हो । 

शब्दका अभिधा, लक्षणा र व्यञ्जना जस्ता अर्थ हुन्छन् । शब्दले दिने सोझो अर्थलाई अभिधा भनिन्छ । बुढी खोलामा घर छभन्दा अभिधार्थबाट खोलाभित्रै घर छ भन्ने बोध हुँदैन । त्यसैले बूढीखोलाका छेउ वा किनारमा घर छ भन्ने जुन अर्थ बोध हुन्छ, त्यसलाई लक्षणा भनिन्छ तर त्यही बूढी खोलमा घर छ भन्ने शब्दले बूढीखोलाका छेउको हरियाली, शीतल, शान्त र मनोहर स्थानमा घर छ भन्ने अर्थलाई व्यञ्जनार्थ भनिन्छ । यत्ति कुरा पनि नजानेर अधिकांश नेताहरू भौँतारिएको देख्दा सरम लाग्छ । गुरूको पनि गुरू हुनु पर्ने नेता प्रबुद्ध चेलासम्म बन्न सकेको देखिन्न । भाषा र वाणीका विविध बाना, बान्की, प्रकार र शैली शिल्प नै नबुझ्ने नेताको ताँती अहिले देखिन्छ । यसैले जननेता मदन भण्डारीले भूमिगत कालमा नेताहरूलाई कविता लेख्न सिकाउनु हुन्थ्यो । यसको अर्थ कम्तीमा माले वा एमाले नेताहरू कविको कर्म र भाषा शैली बुझ्नसम्म सकुन् भन्ने भावना भण्डारीको रहेको थियो । पुष्पलाल औपचारिक शिक्षामा उपल्लो स्तरको नभए पनि कला,साहित्य,संस्कृति दर्शन आदि विविध विषयमा विद्यावारिधि प्राप्त गुरूलाई समेत माक्र्सवादी सही धारका आधारमा कुनै पनि विषयको सही मूल्यांकन गर्ने ज्ञान दिन सक्नु हुन्थ्यो । शब्द प्रयोगको परम्परा र अभ्यास के कस्तो छ भन्ने कुराले पनि अर्थमा निक्कै प्रभाव पर्छ । झोले शब्द प्रायः माक्र्सवादी, अझ एमाले र लोकतान्त्रिक पार्टीका नेता र कार्यकर्ता लाई लाञ्छित गर्ने उद्देश्यबाट प्रयोग गरिएको देखिन्छ । किनभने पार्टीमा पूर्णकालीन संगठित र निरन्तर पार्टीका अनेक काममा लागिरहने कार्यकर्ता र नेता रहेका हुन्छन् र अझ परम्परागत पार्टी शिक्षण सिकाइका कारण पार्टी र नेताकै गलत गतिविधि र क्रियाकलापका बारेमा बोल्नै नपाइने कुरा कार्यकर्ता नै गर्छन्, तर जबजको शिक्षण सिकाइ पार्टी र नेतालाई सुधारात्मक खालका बौद्धिक वैचारिक लेख, टिप्पणी अन्तर्वार्ता दिन पाइन्छ । यसैले जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको हो । सकेसम्म असन्तुष्टि पार्टीभित्रै राख्ने कुरा त हो तर त्यस खालको अवसर नपाएको तीतो अनुभव पनि छ । टोपबहादुर रायमाझीका बारेमा बेलैमा बोल्न पाएको भए एक होनहार व्यक्ति बिग्रने थिएनन् । नेताका कमजोरी धेरै छन् । अधिकांश चामल बेच्न पनि जान्दैनन् । यति कुरा पार्टीभित्रै भन्न नपाएपछि कतै न कतैबाट नेता सुध्रियुन भनेर बोल्न बाध्य स्थिति छ । 

शब्द प्रयोग र अर्थ सन्दर्भका बारेमा अत्यधिक नेता अलमल्ल देखिन्छन् । एक समय वामपन्थ बाम दिशातिर बस्नेलाई भनिन्थ्यो तर समयक्रममा यसको प्रयोग कम्युनिस्ट शब्दकै समानार्थी बनेको छ । जनवाद डेमोक्रसीकै अनुवाद हो । तर, उक्त शब्दले जनताको राजनीतिक र आर्थिक दुवै अधिकार सहितको अर्थ बोध गराउँछ । त्यसले राजनीतिक अधिकार मात्र जनाउँदैन । नयाँ जनवाद पनि सारमा न्यू डेमोक्रेसीभन्दा भिन्न छ । अर्धसामन्ती अवस्थाको मुलुकमा कसरी नयाँ जनवादी क्रान्ति गर्ने र मित्र शक्तिहरूको खोजी र गोलबन्द गरी देशको आर्थिक औद्योगिक तथा कृषिजन्य उद्योग, उपार्जन र उत्पादन व्यापक गर्ने दिशामा केन्द्रित गर्ने शब्दावली हुन् । त्यसैले झोले शब्दलाई प्राविधिक वा पारिभाषिक अर्थ प्रदान गर्नुपर्छ । सामान्य अर्थ बोध गराउने रस शब्दलाई प्राविधिक र पारिभाषिक अर्थ प्रदान गरे जस्तै गर्नुपर्छ । विरोधीहरूले ‘झोले’ शब्दलाई चरम रूपमा हियाउने जुन खालको अभियान चलाएका छन्, त्यसलाई समेत निस्तेज गर्ने गरी झोले शब्दको अर्थ र आशयलाई प्राविधिक अर्थ प्रदान गरी शिष्ट र शालीन बनाउनुपर्छ । भोलिका दिनमा शब्दकोशमा झोले शब्दको विशिष्ट अर्थ कोशकारले नै शब्दकोशमा राख्नेछन् । व्यापक प्रचलनमा आएपछि शब्दको उचित अर्थ र सन्दर्भ स्थापित हुन्छ । तसर्थ, यस शब्दको बराला अर्थ प्रदान गर्नेहरूलाई सही अर्थ बताएर तिनलाई पनि उचित दिशा निर्देश गर्नुपर्छ । 

(लेखक, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise