–रूपा अर्याल
लोकतन्त्र केवल एक शासन प्रणाली मात्र होइन, यो एक जीवनशैली हो जसले नागरिकलाई विचार, अभिव्यक्ति र सहभागिताको स्वतन्त्रता दिन्छ । तर, कागजमा उल्लेख भएको अधिकारले मात्रै नागरिकले लोकतन्त्रको स्वाद पाउँदैनन् । लोकतन्त्रको वास्तविक अनुभूति त तब मात्र सम्भव हुन्छ, जब जनताले तिनको हकलाई व्यवहारिकरूपमा महसुस गर्न सक्छन् ।
लोकतन्त्रको अनुभूति गराउने पहिलो माध्यम हो – सुशासन । जनताले राज्यबाट आवश्यक सेवा सहज र निष्पक्ष रूपमा पाए भने उनीहरूलाई लाग्छ– हामी शासनमा छौँ । सरकारी कार्यालयमा काम गर्दा घूस दिन नपर्ने अवस्था, न्यायालयमा समयमै न्याय पाउने व्यवस्था, अस्पताल र विद्यालयमा समान पहुँच हुनु, यी सबैले जनतालाई उनीहरूको आवाजको मूल्य छ भन्ने अनुभव दिन्छ ।
समान अवसर लोकतान्त्रिक अनुभूतिको अर्को पाटो हो । जब समाजका सबै वर्ग – महिला, दलित, आदिवासी, मधेसी, मुस्लिमलगायत उत्पीडित समुदायले राजनीतिमा, प्रशासनमा, शिक्षा र रोजगारमा समान सहभागिता र प्रतिनिधित्व पाउँछन्, तब मात्र लोकतन्त्रले सबैलाई छोएको हुन्छ । प्रतिनिधित्वको अर्थ केवल कुर्सीमा को बसेको छ भन्ने होइन, निर्णय प्रक्रियामा कसको आवाज कति सुनिन्छ भन्ने हो ।
लोकतन्त्रको आत्मा जनताको सहभागिता हो । मतदान गर्नु लोकतन्त्रको मूल आधार हो, तर त्यो पर्याप्त होइन । स्थानीय तहदेखि संघीय सरकारसम्मको निर्णय प्रक्रियामा नागरिकको सक्रिय भूमिका हुनु आवश्यक छ । जनता सहभागी भएनन् भने नीति जनमुखी हुँदैन । बजेट निर्माण, विकास परियोजना छनोट, योजना अनुगमनमा जनसहभागिता अनिवार्य हुनुपर्छ । जनताको साक्षरता र सचेतना अभिवृद्धि बिना यसको सम्भावना कम हुन्छ ।
लोकतन्त्रको अनुभूति गराउने अर्को महत्वपूर्ण पक्ष हो – अभिव्यक्ति स्वतन्त्रता । जब नागरिकहरू सरकारको आलोचना गर्न सक्छन्, जब पत्रकारहरू डर, त्रास बिना सत्य उजागर गर्न सक्छन्, जब साहित्य, कला र सामाजिक संजालमा खुला बहस हुन्छ, तब मात्र समाजले प्रगतिशील विचारहरू आत्मसात् गर्छ । अभिव्यक्ति स्वतन्त्रता सँगै उत्तरदायित्व पनि आउँछ, तर यो स्वतन्त्रता कुण्ठित भयो भने नागरिकले डरको शासन महसुस गर्छन्, लोकतन्त्र होइन ।
लोकतन्त्रको अनुभूतिमा शिक्षा र सामाजिक चेतनाको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । यदि नागरिकले आफ्ना अधिकार र कर्तव्य नबुझे भने उनीहरूले लोकतन्त्रको सही अर्थ बुझेको मान्न सकिँदैन । लोकतान्त्रिक मूल्यहरूको शिक्षालाई विद्यालय, परिवार, र मिडियाबाटै व्यापक रूपमा प्रवाह गर्नु आवश्यक छ ।
अन्ततः लोकतन्त्रको अनुभूति गराउन चाहने हो भने नागरिक र राज्य दुवैको भूमिकामा सुधार आवश्यक छ । राज्यले पारदर्शी र उत्तरदायी शासन दिनुपर्छ भने नागरिकले पनि सचेत, सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रको अनुभूति कुनै एकदिनको काम होइन, यो निरन्तरको अभ्यास हो – जहाँ प्रत्येक व्यक्तिले सम्मान, समानता र सहभागिताको महसुस गर्न पाउँछ ।
लोकतन्त्र तब मात्र सजीव हुन्छ, जब उसले जनताको जीवनमा आशा, अधिकार र उत्तरदायित्वको प्रकाश फैलाउँछ । यो प्रकाश सबैमा समान रूपमा पुग्दा मात्र लोकतन्त्रको अनुभूति साँचो अर्थमा सम्भव हुन्छ ।