–प्रा.डा. बद्रीविशाल पोखरेल
गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्य सटिक र मर्मस्पर्शी थियो । जसलाई सुन्ने र पढ्नेले महत्वपूर्ण सारयुक्त सन्देश पाए । ओलीको उक्त मन्तव्यमा गणतन्त्र नेपाली जनताले आर्जन गरेको उपलब्धि हो भन्ने थियो । शब्द प्रयोग गर्ने कुरामा कतिसम्म ख्याल गर्नुपर्छ भन्ने उहाँका अनेक अभिव्यक्तिबाट अवगत हुन्छ । तर, यही अवसरमा कोसी प्रदेश सरकार र पार्टीबाट सतही कार्यक्रमहरू गरिएको थाहा भयो । गणतन्त्र विषयका महत्वपूर्ण विचार र चिन्तनमूलक कार्यक्रम खास भएको पाइएन । प्रभात फेरि, रक्तदान, चियापान, फलफूल वितरण, दीप प्रज्वलन, शुभ कामना आदानप्रदान, सम्मान, पुरस्कार वितरणजस्ता कार्यक्रमहरू गरिए । ती कार्यक्रम गर्दा पनि सारसंक्षेपमा गणतान्त्रिक तथा अग्रगामी चेत चिन्तनसम्बन्धी सूक्ति, उक्ति, श्लोक र गीत उल्लेख गर्दा र गाउँदा हुन्थ्यो । नेपाली कांग्रेस सुनसरी जिल्लाको क्षेत्र नं २ ले भने भीष्मराज आङ्दम्बेको प्रमुख आतिथ्यमा विचार गोष्ठी सम्पन्न गरेको थाहा पाइयो ।
सामन्तवादले वा राजतन्त्रले हरेक घरायसी र सार्वजनिक कार्यक्रममा आफ्नो वर्गीय अपसंस्कृतिका विचार कुनै न कुनै मात्रमा प्रस्तुत गर्छ । कुनै जिल्लामा यस अवसरमा समृद्धि चित्र निर्माण कार्यशाला गरिएको पनि समाचारमा प्रकाशित भएको देखियो । उक्त कार्यक्रममा पनि प्रगतिशील कला साहित्य र संस्कृतिका अझ ‘जबज’अनुसारको प्रतिस्पर्धी प्रगतिवादी चिन्तन अभिव्यक्त गर्दा सुनमा सुगन्ध हुन्थ्यो । उपयुक्त यस्ता कार्यक्रममा प्रदेश स्तरमा उपल्ला तहका नेता मुख्य मन्त्री, मन्त्री, पार्टी अध्यक्ष र उपाध्यक्ष लगायतको प्रमुख आतिथ्य रहेको पनि समाचारमा पढियो ।
तर, गणतन्त्र केन्द्रित वैचारिक सैद्धान्तिक तथा व्यावहारिक विषय उजागर गर्ने चेतनामूलक कार्यक्रम गरिएन । सतही काममा मात्र रमाउने परिपाटी विकसित भएको हुँदा सबैतिर यस्तै भएको हुनसक्ने स्पष्ट अनुमान गर्न सकिन्छ । बारबार प्रवाह गरेको प्रगतिशील विचारले नै अग्रगामी संस्कृति र संस्कार निर्माण हुन्छ । गोयबल्सले भनेझैँ असत्य पनि हजार बार उल्लेख गर्दा जनमानसमा यसले जरा गाड्छ भन्ने कुरा राजतन्त्रका पक्षधर मानिसको ताँती हेर्दा थाहा हुन्छ । अहिले राजतन्त्रको भूत सलबलाएको र त्यसले जनमनलाई भाँड्न खोजेको कुरा नै यसको एउटा प्रमाण हो । आफ्नो वर्ग पक्षधर अपसंस्कृतिलाई सदियौँदेखि जनतालाई लट्ठ पार्दै प्रचार गरेर राजतन्त्रले गुमराहमा पारेको हो । जनताको सेवा गरेर होइन उल्टो आम श्रमजीवी जनतालाई चरम शोषण उत्पीडन गरेर पनि सामन्तवादले आम जनतालाई आफ्नू परम भक्त बनाएको स्पष्ट हुन्छ ।
यस काममा राजतन्त्रले वर्ग पक्षधर पण्डित, पुरोहित र सर्जक र कलाकारलाई बहुआयामिक रूपमा परिचालन गर्यो तर, यसलाई शिक्षाका रूपमा लिएर जनपक्षीय पार्टी शक्ति र सत्ताले भने विषयगत विज्ञ जनलाई पूरै बेवास्ता गरेको देखिन्छ । निर्दलीय निरंकुश राजशाही पञ्चायती व्यवस्थाले समेत विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरूमा बौद्धिक जनलाई अतिथि वक्ताका रूपमा परिचालन गर्ने गथ्र्यो । तर, अझै प्रगतिशील बौद्धिक प्राज्ञिक जन सर्वथा उपेक्षित देखिन्छन् । जनसत्ता शक्ति र संस्कृतिको संरक्षणको दायरा जति फराकिलो पार्ने हो भने सांस्कृतिक रूपान्तरणलाई सशक्त बनाउने हो भने विषयगत विज्ञहरूलाई राष्ट्रव्यापी रूपमा परिचालित गर्नुपर्छ । आफैँ मात्र जान्ने भन्ने अहंककारी चेत अझै सबल बनिरह्यो भने प्रतिगामी शक्ति कमजोर हुने छैन ।
सामन्तवादले वा राजतन्त्रले धार्मिक सामाजिकलगायत अनेकन रूढीलाई जनमनमा जब्बर बनायो, जनमनलाई अत्यन्त विषाक्त मैलो बनायो । मनको मैलो साबुनले धोएर किमार्थ सफा हुँदैन । यसका लागि बारबार र हजार बार चिन्तन, मनन, विचार, विमर्श गरिरहनु पर्छ । तर, अग्रगामी पार्टी र नेता देशको आर्थिक र भौतिक विकासले मात्र जनता जनसेवक सरकारका पक्षमा प्रतिबद्ध हुन्छन् भन्ने चरम भ्रममा रहेको देखिन्छ । गणतन्त्रलाई स्थापित र विकसित गर्न यसप्रति मनमस्तिष्कबाटै प्रतिबद्ध बनाउन तदनुसारको संस्कृतिको विकास गर्नै पर्छ ।
एमालेका स्थायी समिति सदस्य कर्ण थापाले एक टेलिभिजन अन्तर्वार्तामा अहिले जनतामा उत्पन्न असन्तुष्टि हाम्रै कारण भएको हो भनेका रहेछन् । उनको मतलब एमाले पार्टी र यसको नेतृत्वमा बनेको सरकारले अझै धेरै काम गर्नुपथ्र्यो, गर्न सकेन भन्ने रहेको थियो । यस कुरालाई सुस्पष्ट पारेर उनले भनेनन् । एमाले सरकारले पूरा अवधि शासन गर्न पाएको भए, अरू विकासका ठोस वा परिणाममुखी काम हुन्थ्यो भन्नुपथ्र्यो र उनले २० वर्षको अवधि व्यक्तिका लागि धेरै महत्वपूर्ण समयावधि हो तर देशका लागि १० वर्ष १० दिन बराबर हो भन्ने यथार्थ उल्लेख गर्नुपथ्र्यो । रातारात उद्योगधन्दा कल कारखाना रोजगारी पाउन र दिन सकिन्न भन्ने कटु यथार्थ थापाले उल्लेख गर्नु पथ्र्यो । कतिपय नेताका अन्तर्वार्ता सुन्दा पनि भारी सरम हुन्छ । पत्रकारले सोधेका प्रश्नलाई समेत घुमाएर उपयुक्त र सटिक जवाफ दिन सकिन्छ भन्ने सम्मको ध्यान दिएको देखिन्न ।
एमालेको विगत ओली सरकार पूरा अवधिसम्म रहेको भए नमुनाका लागि भए पनि सप्तकोसी नदीमा पानी जहाज सञ्चालन हुन्थ्यो । ग्याँस चुल्हा पनि उदाहरणका लागि कुनै वडा वा टोलमा सरकारले सुरु गथ्र्यो । नभन्दै झापा जिल्लाको अमुक टोलका घरघरका चुल्हा चुल्हामा ग्याँस पुर्याउने तयारी सुरु गरेको समाचारमा हालै आएको थियो । दमकमा ३०० बिघा जग्गामा चीनको सहयोगमा औद्योगिक ग्राम निर्माण गरी त्यहाँबाट उत्पादित उपकरणहरू दमककै बिजनेस टावरमा जम्मा गरेर विक्री वितरण गर्ने कुराको समेत जानकारीका अभावमा धेरैजसो कार्यकर्ता र नेता अलमलिएको देखिन्छ । यही संयुक्त सरकारमा रहेर गरेका कामहरू बहुआयामिक तथा कलात्मक रूपमा जनसमक्ष प्रवाह गर्ने हो सत्य जनसमक्ष उजागर हुन्थ्यो ।
जबजअनुसार धार्मिक सांस्कृतिक र संस्कारजन्य अनेक अन्धविश्वास र रूढीवादविरूद्ध सुधार आन्दोलन नगर्दा राजतन्त्रको भूतले तर्साएको हो । अझ जबजमा सामन्तवादी सांस्कृतिक अवशेष क्रमशः हटाउँदै जानुपर्ने कुरामा जोड दिएको देखिन्छ । यस्ता आधारभूत अत्यन्त महत्वपूर्ण तथा संवेदनशील विषयमा शून्य चेतका कारण प्रतिगमनकारी शक्ति हौसिएको हो । एमाले नेता, मोर्चा संगठन, बौद्धिक मञ्चहरूमा आबद्ध अधिकांश अगुवाहरू तनले मात्र गणतन्त्र पक्षधर हुन् कि भन्ने भान यस पंक्तिकारलाई परेको छ ।
रुसमा सुरुसुरुमा धर्मप्रति प्रतिबन्ध लगाइयो, तर अर्को समयमा प्रतिबन्ध खुल्ला गर्दा अत्यधिक नेता र कार्यकर्ताहरू चर्च मठ मन्दिरमा लामो लस्करमा लागेका थिए । मन मस्तिष्कमा जरा गाडेको पछौटे चिन्तन र विचार प्रतिबन्ध लगाएकै भरमा हटाउन सकिन्न । जननेता मदन भण्डारी नौरथामा सुरुसुरुमा मन्दिरमा गएर चण्डी पाठ गर्नुहुन्थ्यो, तर माक्र्सवादी चेत चिन्तन र गम्भीर मनन गरेर उहाँले पछौटे आफूभित्र जरा गाडेको पछौटे चिन्तन आफैँले हटाउनु भयो । पार्टीमा आबद्ध भएर मात्र नेता र कार्यकर्ता अग्रगामी देखिनु वा गणतन्त्रवादी हुनु र राम्ररी मनन र चिन्तन गरेर अग्रगमन प्रति दृढ हुने कुरामा आकाश जमिनको फरक हुन्छ । जरा अभियानलगायत औपचारिक र अनौपचारिक छलफल गर्दा अगुवा कार्यकर्तामा गणतन्त्रको बोधमा निक्कै समस्या देखियो । त्यसैले गणतन्त्र दिवस र प्रजातन्त्र दिवस जस्ता अवसरमा यससम्बन्धी अर्थ आशय बेलिबिस्तारपूर्वक उल्लेख गर्दा ज्ञान विस्तारित हुन्थ्यो । माओले भनेझैँ सिक्न पनि कहिल्यै नथाक्नु र सिकाउन पनि नथाक्नु भनेझैँ गरेर फुर्सदको समयमा फेस बुकमा मात्र रमाउनु भन्दा दुई कुरा कार्यकर्तालाई भन्दा र सुन्दा ज्ञान विस्तार हुन्थ्यो होला ।
नेकपा स्थापना कालदेखि नै जनगणतन्त्र पक्षधर रहेको थियो । तर, त्यसका लागि सुरमा राणा शासन अनि निर्दलीय निरंकुश पञ्चायती शासनहरू ठूला अवरोधका रूपमा थिए । राजनीतिक रूपमा भिन्न मत भएकाहरू सित सहकार्य गरेर भए पनि ती अवरोध क्रमशः हटाइयो । जनपक्षीय उम्मेदवार बनेर पञ्चायतभित्र पसेर पञ्चायतको अन्तध्र्वंश गर्ने मदनको विचारलाई सुरूमा कुनै नेताले पटक्क मानेनन् । तर, पञ्चायतको भुँडीभित्र पसेर लात्तीले हानेर पञ्चायतको अन्तध्र्वंश गर्नुपर्छ भनेर मदनले घैँटामा घाम लाग्ने गरी सम्झाएर अग्रगमनको यात्रा सुरु भएको हो । नेतामा जुनसुकै जस्तासुकै अठार वक्र नेता र कार्यकर्तालाई सम्झाउने ल्यागत र तागत हुनुपर्छ । अप्ठ्यारो प्रश्न गर्दा रिसाउने नेता के नेता ? जबजअनुसारको सच्चा नेता हो भने जस्तोसुकैलाई गलाउने क्षमता र लुर हुन्छ । पदीय उच्चताले मात्र नेता भइन्न ।
पार्टीले लोकतान्त्रिक गणतन्त्र कालमा प्रवेश गर्न पनि धेरै ठूलो लगानी गरेको छ । यही आधारमा टेकेर मात्र जबजअनुसार नेपाली विशेषता समाजवादको आधारशिला तयार गर्न सकिन्छ । राजनैतिक अधिकारमा केन्द्रित यही पुँजीवादी गणतन्त्रलाई समृद्ध बनाउनु पर्छ र यसलाई समाजवादको दिशातिर एमालेले डोर्याउनु पर्ने हुन्छ । यसैमा रमाउने र मक्ख पर्ने भन्ने सवाल पार्टीको होइन ।
यो गणतन्त्र समाज विकासको माथिल्लो चरण हो । गणतन्त्रका विरुद्ध लाग्नु अविरल बग्ने इन्द्रावतीलाई थुन्नु छेक्नु सरहको दुस्साहस हो । यसलाई कुनै पनि सचेत मानिसले समर्थन गर्न सक्दैन । कतिपय विषयमा चित्त नबुझे पनि सबै असन्तुष्टिलाई थाती राखेर गणतन्त्रका पक्षमा दृढताका साथ उभिनु सबै नेता, कार्यकर्ता र सचेत जनताको कर्तव्य हो ।
कबिला युग, दास र सामन्ती व्यवस्था हुँदै जनताको लामो त्याग, समर्पण र बलिदानबाट यो प्रणाली वा व्यवस्था प्राप्त भएको हो । यो सामन्तवाद वा राजतन्त्रभन्दा धेरै उच्च शासन व्यवस्था हो । यस व्यवस्थामा स्थापित नीति, विधि, पद्धति र प्रणालीले ढिलो चाँडो जोसुकै जतिसुकै माथिल्लो तहको भ्रष्टलाई कानुनी कार्यवाही गर्ने प्रावधान हुन्छ । यही कारणले भारतीय भूतपूर्व प्रधानमन्त्री नरसिंह राव, टोपबहादुर रायमाझी, खुमबहादुर खड्का र गोविन्दराज जोशीलगायत जेल पुगेका हुन् । गणतान्त्रिक व्यवस्थामा हरेक विकृति विसङ्गति विरुद्ध प्रतिवाद, प्रतिकार गर्ने वैधानिक व्यवस्था हुन्छ । राजतन्त्रमा हुँदैन ।
त्यसैले यो उन्नत स्तरको तुलनात्मकरूपमा अग्रगामी व्यवस्थालाई उल्ट्याउन खोज्नु सरासर प्रतिगामी सोच हो । नाकबाट सिँगान आउँछ भनेर नाक काट्न मिल्दैन । यति सामान्य विचार र चिन्तन प्रवाह नगरी गणतन्त्र दिवस मनाउनुको अर्थ के हुन्छ ? र, दिन सकिन्छ कार्यक्रम गरे पछि त्यसले के परिणाम दिन्छ भन्ने कुरा पटक्क ख्याल नगरेपछि यस्ता कार्यक्रमको औचित्य कसरी स्थापित हुन्छ ?
(लेखक, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य हुन् ।)