२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

रूपान्तरणको आवश्यकता र चुनौतीहरू

shivam cement
चन्द्रबहादुर बस्याल
२०८२ मंसिर १ गते ०६:०५
Shares
रूपान्तरणको आवश्यकता र चुनौतीहरू

राजनीतिक दलहरू एक समाजका ऐतिहासिक र सांस्कृतिक अन्वेषक हुन् । तिनीहरूले समाजको रुपान्तरण, प्रजातान्त्रिक मूल्यहरूको रक्षा र जनताको अधिकारको रक्षा गर्नको लागि नेतृत्व प्रदान गर्ने जिम्मेवारी वहन गर्दछन् । नेपालको सन्दर्भमा, दलहरूको इतिहास कुनै न कुनै प्रकारले जनताका अधिकार र स्वतन्त्रताको लडाइँसँग जोडिएको छ । चाहे त्यो राणाशासनको अन्त्यको लडाइँ होस्, पञ्चायती शासनबाट बहुदलीय प्रजातन्त्रको स्थापना होस्, १० वर्षको सशस्त्र युद्ध होस् वा २०६२/६३ को जनआन्दोलन होस्, राजनीतिक दलहरूले हरेक क्रान्तिमा प्रमुख भूमिका निर्वाह गरेका छन् । तर, आजको नेपालको परिप्रेक्ष्यमा, दलहरूको कार्यशैली र नेतृत्वको भूमिका अनुकूल छैन ।

राजनीतिक दलहरूको मूल उद्देश्य जनताको सेवा र समाजको उन्नति गर्नु हो र यो जिम्मेवारीले दलहरूलाई केवल सत्ता प्राप्तिका लागि होइन, जनताको अपेक्षालाई सम्बोधन गर्नका लागि काम गर्न बाध्य बनाउँछ । प्रजातान्त्रिक प्रणालीमा दलहरूले जनताका प्रतिनिधिहरूलाई चयन गर्ने र नेतृत्वमा पुर्‍याउने काम गर्दछन् । यद्यपि, आजको अवस्थामा दलहरूले आफ्नो भूमिका भुल्दै, केवल सत्ता र प्रभावको खेलमा मात्र अल्झिन पुगे । सत्ता परिवर्तनको नारा दिने दलहरू आफैं सत्तामा पुगेपछि, पूर्ववर्ती गलत अभ्यासलाई जारी राख्दै जनताका चासो र आवश्यकतासँग बेखबर बन्ने गरे । यसले केवल लोकतन्त्रलाई मात्रै कमजोर बनाएन, बल्कि आम जनताको विश्वासलाई पनि खण्डित गर्‍यो । 

जसमा चाहे २००७ सालको क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेस होस् वा झापा आन्दोलन हुँदै अगाडि आएको एमाले होस् वा १० वर्षसम्म सशस्त्र युद्ध लडेर आएको माओवादी होस्, कसैको शैली र प्रवृत्ति फरक भएन । उनीहरुले सत्तामा जानुअघि जे–जस्ता नारा दिए, सत्तामा पुगेपछि ति नाराविरुद्ध नै उनीहरु उभिए । किसान र मजुदरका नारा सबैका साझा नारा हुने गरेको पाइन्छ । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषय पनि सबैको नारा भइरहेका छन् । तर, जब दलहरु सत्तामा पुगे तब ति आफ्नै नारा बिर्सिए । सबैभन्दा बिडम्वनाको विषय, उनीहरु ति नाराविरुद्ध नै उभिए । आज शिक्षा र स्वास्थ्य सरकारी हुनुपर्छ भन्ने नेताहरु नै निजी संस्था खोल्न लागि परे । जसलाई व्यापारको अंश बनाए ।

सँगै, पार्टीहरुभित्रै लोकतन्त्रको संकट उत्पन्न हुने अवस्था बन्यो । पार्टीहरूको संरचनामा, एकतावाद र शक्ति केन्द्रीकरणको प्रवृत्ति बढेको छ । लामो समयसम्म नेतृत्वमा रहेका पुराना नेतृत्वका सदस्यहरूले आफूलाई दलको एकमात्र विकल्पको रूपमा प्रस्तुत गरे । यति मात्र होइन, परिवारवाद र व्यक्तिगत स्वार्थले दलहरूको आन्तरिक प्रजातान्त्रिक अभ्यासलाई मन्द बनाएको छ । राजनीतिक दलमा रहेका सीमित व्यक्ति र सिन्डिकेटहरू राजनीतिक निर्णयहरूलाई आफ्नो स्वार्थअनुसार प्रभावित पार्दै छन् । यसले दलका अन्य सदस्यलाई रचनात्मक सहभागिता गर्ने अवसरबाट वञ्चित बनाइरहेको छ ।

भ्रष्टाचार र सत्ताको दुरुपयोग नेपाली राजनीतिको दुःखद वास्तविकता हो । राजनीतिक दलहरूले भ्रष्टाचारको विरुद्ध कुनै निर्णायक कदम चाल्नुको सट्टा त्यसलाई अँगालेर आन्तरिक शक्ति संगठनहरूलाई प्रवद्र्धन गरिरहे । दलका स्थानीय स्तरका समितिहरूबाट लिएर केन्द्रीय नेतृत्वसम्म भ्रष्टाचारको गन्ध फैलिरहेको छ । यसै कारणले गर्दा, जनतामा राजनीति र राजनीतिक दलहरूको प्रति वितृष्णा बढिरहेको छ । जेनजी आन्दोलनजस्ता जनआन्दोलनहरूले दलहरूको वास्तविकता उजागर गर्दै, पार्टीहरूको रूपान्तरणको आवश्यकता पोखेका छन् ।

जेनजी आन्दोलनका कारण, राजनीतिक दलहरूको संरचना र कार्यशैलीको पुनः मूल्यांकन आवश्यक भएको छ । जेनजी आन्दोलनले नयाँ पुस्ताको जनचेतनालाई जगाएको छ र जनतामा भएको असन्तुष्टिलाई एक साझा आवाजमा परिणत गरेको छ । यो आन्दोलन सँगै, नेपाली राजनीतिमा आमूल परिवर्तनको आवश्यकता स्पष्ट भएको छ । यस परिवर्तनको मुख्य आधार भनेको दलभित्रको आन्तरिक लोकतन्त्रको सुदृढीकरण र पारदर्शिता हुनु पर्दछ । जब दलका सदस्यहरू आफ्ना नेताहरूसँग खुला संवाद र निर्णय प्रक्रियामा सहभागी हुन्छन्, मात्र दल सही अर्थमा जनताको सेवा गर्न सक्षम हुनेछ ।

राजनीतिक दलहरूले केवल आफ्नो नेतृत्वको स्थायीत्वका लागि होइन, समाजका हरेक वर्गका चासो र समस्यालाई सम्बोधन गर्नका लागि जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ । यसका लागि दलहरूले आफूलाई रूपान्तरण गर्नु आवश्यक छ । दलहरूले आफ्नो नेतृत्वमा फेरबदल गर्न, नयाँ पुस्तालाई नेतृत्व दिने र पारिवारिक राजनीतिका प्रभावलाई समाप्त गर्न अग्रसर हुनुपर्छ । शीर्ष नेतृत्वले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने समय आएको छ । आफ्नो सत्ताका लागि सत्ता सँगै जिउने सोच र अभ्यास बदल्नु पर्छ ।

नेपालमा राजनीति साँचो अर्थमा समाजसेवाका रूपमा स्थापित गर्नको लागि दलहरूले गम्भीर कदम चाल्नुपर्नेछ । सबै दलहरूले आफ्ना संरचनामा र नेतृत्वमा परिवर्तन ल्याउने तरिका सोच्नुपर्नेछ । यसको लागि, दलहरूले आफ्नो नेतृत्वको आदर्श र कार्यशैलीमा नैतिकता र कानूनी उत्तरदायित्वका लागि अझ बढी ध्यान दिनु आवश्यक छ । केवल व्यक्तिगत शक्ति र प्रभावको खेलबाट बाहिर निस्केर, दलहरूले समग्र देशको हितमा ध्यान केन्द्रित गर्नुपर्ने छ । यसरी, जनतामा उत्पन्न भएको आक्रोश र असन्तोषलाई सकारात्मक परिवर्तनको अवसरमा परिणत गर्न सकिन्छ ।

त्यसैले, नेपाली राजनीति आज एउटा महत्वपूर्ण मोडमा पुगेको छ । जेनजी आन्दोलनले यो स्पष्ट पारेको छ कि पुराना राजनीतिक संरचनाले जनताको आकांक्षालाई पूरा गर्न सक्दैन । यसले दललाई रूपान्तरण गर्ने र समाजको साँचो नेता बन्ने अवसर दिएको छ । दलहरूको वर्तमान भूमिकामा परिवर्तन बिना, नेपाली राजनीतिलाई थप कचोट, भ्रम र असन्तोषको सामना गर्नु पर्नेछ ।

यद्यपि, नेपालको भविष्यलाई उज्वल बनाउन राजनीतिक दलहरूको रूपान्तरण अनिवार्य छ । यसका लागि राजनीतिक दलहरूले जनताको विश्वास जित्ने कसम खाएर, आफ्नो संरचना, कार्यशैली र नेतृत्वमा मौलिक परिवर्तन गर्नुपर्ने समय आएको छ । राजनीतिमा ‘सेवा’ को अवधारणा स्थापित गर्न र सत्ताको मोह त्याग्न सक्छन् भने, नेपालका राजनीतिक दलहरूले एक नयाँ युगको शरुआत गर्न सक्नेछन् ।

राजनीतिक दलहरूले जनताका लागि आफूलाई रूपान्तरण गरेर, केवल सत्ता कब्जा गर्न मात्र होइन, समाजको साँचो सेवक बन्ने आवश्यकताको महसुस गर्नुपर्नेछ । यदि यही परिवर्तनको लहरलाई सही दिशामा मोड्न सकिन्छ भने, नेपालको राजनीतिमा नयाँ र उज्वल युगको सुरुवात हुनेछ । तर, त्यसका लागि सबै राजनीतिक दलको सामूहिक प्रद्धिबद्धता आउनुपर्छ । सँगै, राज्यका केही संरचनाले त्यसलाई व्यवस्थित बनाउने नीति अघि सार्नुपर्छ ।

ADV

सम्बन्धित खबर