
नेपालका राजनीतिक दलहरू आज आफ्ना विधान, सिद्धान्त र जनभावनाबाट क्रमशः टाढिँदै गएका छन् । महाधिवेशन, मूल्यांकन, पारदर्शिता र आन्तरिक लोकतन्त्रको अभाव अहिलेको प्रमुख समस्या बनेको छ । नेपाली राजनीति स्वार्थ, पद लुछाचुँडी र पैसाको खेलमा जाकिएको छ । दलहरूले आफ्नै विधान र लोकतान्त्रिक मूल्यलाई व्यवहारमा लागू गर्न नसक्दा जनविश्वास क्रमशः कमजोर बन्दै गएको छ । अहिले आत्मसमीक्षा, सच्चिने साहस र पारदर्शी नेतृत्वको पुनर्जागरण हो ।
नेपालको राजनीति अहिले आत्मविनाशको बाटोमा हिँड्दै छ । राजनीतिक दल र नेताहरूले जनभावना मात्र होइन, आफ्नै संगठनात्मक मूल्य र आन्तरिक लोकतान्त्रिक अभ्याससमेत बिर्संदै गएका छन् । दलहरूले आफूलाई देशको अपरिहार्य विकल्प ठान्ने पुरानो अहंकारले यथार्थ बुझ्नै दिएको छैन । सत्तामा निरन्तर रहिरहने सोचले दलहरूलाई आत्मसमीक्षा र सुधारप्रति अनिच्छुक बनाएको छ ।
आजका दलहरूमा सैद्धान्तिक बहसभन्दा बढी गुटगत प्रतिस्पर्धा र पद लुछाचुँडी चलिरहेका छन् । पार्टीको विधानले तोकेको समयमै महाधिवेशन, समीक्षा र नेतृत्व परिवर्तन हुनुपर्ने हो तर ती प्रायः औपचारिकता र शक्ति सन्तुलनको खेलमा सीमित भइरहेका छन् । महाधिवेशन सर्वसम्मत ढंगले सम्पन्न हुनुपर्ने ठाउँमा ‘पद जान्छ कि, समूह बाहिरिन्छ कि’ भन्ने डरले वातावरण विषाक्त बन्न पुगेको छ । यसरी भय, शंका र स्वार्थले भरिएको नेतृत्वमा साँचो सहकार्य र सम्मानको संस्कार बसाउन गाह्रो भएको छ ।
कुनै पनि संगठनको मजबुती आत्ममूल्यांकनमा हुन्छ तर हाम्रो दलहरूमा आत्ममूल्यांकन गर्ने संस्कृति नै हराएको छ । कार्यकर्ताको योगदानभन्दा पनि कसले कति पैसा खर्च ग¥यो र कति जनतालाई प्रभावित पा¥यो भन्ने आधारमा मूल्यांकन हुन्छ । नीति, दृष्टिकोण र संगठनगत कामभन्दा आफ्ना नजिकका मान्छे टिकाउने र प्रतिद्वन्द्वीलाई हटाउने प्रवृत्ति मौलाएको छ । यस्तो संस्कारले दलभित्रका सक्षम र इमानदार कार्यकर्तालाई निरुत्साहित बनाएको छ ।
आजको दलगत राजनीतिमा पैसाको प्रभाव अत्यन्त बढेको छ । एकथरी मानिस टिकट किन्न तयार छन्, अर्कोथरी टिकट बेच्न तयार छन् । नतिजा, राजनीतिक पवित्रता र नैतिकता दुवै कमजोर बनेका छन् । नेतृत्वको आचरणमा जनसेवा होइन, लगानीको प्रतिफल खोज्ने प्रवृत्ति हावी छ । राजनीतिलाई सेवा होइन, व्यवसाय बनाउने संस्कार फैलिँदै छ, जुन लोकतन्त्रका लागि दीर्घकालीन खतरा हो ।
दलभित्र अब सम्मानपूर्वक असहमति राख्ने संस्कार हराइसकेको छ । भिन्न विचार राख्ने व्यक्ति असहिष्णुता र आरोपको सिकार बन्न पुगेका छन् । नतिजा, इमानदार कार्यकर्ता विस्थापित हुन्छन् र अवसरवादी अग्रस्थानमा पुग्छन् । दलहरू ‘समान विचार र मूल्यमा आधारित परिवार’ होइन, ‘प्रतिस्पर्धी गुटहरूको बजार’जस्ता बनेका छन् ।
आजको राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक लोकतन्त्रको क्षय हो । नीतिभन्दा व्यक्ति र पैसाको वर्चस्व बढ्दै जानु हो । आत्ममूल्यांकनको अभाव, सत्तामुखी सोच र सुधारप्रति अरुचिले दलहरू भित्रभित्रै कमजोर बनाइरहेका छन् । जब दलभित्र सुधार हुँदैन, देशमा पनि सुधार सम्भव हुँदैन ।
राजनीतिक दलहरूले अब स्पष्ट बुझ्नुपर्छ, यदि महाधिवेशनलाई पनि सत्ताको खेल बनाइन्छ र टिकट तथा पद पैसा र सम्बन्धका आधारमा बाँडिन्छ, भने दलको अस्तित्व जनतामाझ टिक्दैन । दलभित्र विचार, मूल्य, लोकतन्त्र र पारदर्शिताको पुनस्र्थापना नगरी जनताको विश्वास फिर्ता ल्याउन सकिँदैन ।
समयले अब अन्तिम चेतावनी दिइरहेको छ । आत्मसुधार नगरेका दल इतिहासको पाना मात्र बन्नेछन् । जनताको नयाँ पुस्ता अब मौन दर्शक होइन, निर्णायक शक्ति बनिसकेकी छ ।
राजनीतिक दलहरूका लागि अब महाधिवेशन केवल चुनावी औपचारिकता होइन, आत्मसमीक्षा र पुनर्जागरणको अवसर हो । यदि यो अवसर गुमाइयो भने, जनताको इतिहासमा नयाँ अध्याय अरूले लेख्नेछन् ।