
जलवायु परिवर्तन, प्रदूषण र बासस्थानको क्षतिजस्ता वातावरणीय तनावहरूले मानवको मानसिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने गर्छ । जसका कारण चिन्ता, डिप्रेसन र तनावको दर बढ्दै जान्छ । त्यसैगरी, अन्य प्राणीको स्वास्थ्य र कल्याणले पनि मानव मनोवैज्ञानिक अवस्थामा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।
प्रत्येक पशु चिकित्सक स्वभावैले एक स्वास्थ्यकर्मी हुन् । उनीहरूलाई पशुको बारेमा मात्रै होइन, मानवको स्वास्थ्यसँग सम्बन्धित पनि तालिम दिइन्छ । किनभने कुनै पनि जनावर तपाईंको ढोका ढकढक्याउँदै, भेट्न आउँदैन, त्यसैले मानिसहरूकै व्यवहार बुझ्नु आवश्यक हुन्छ ।
सन् २००८ जुलाई २७–३१ मा ब्रिटिस कोलम्बियाको भ्यानकुभरमा सम्पन्न विश्व पशु चिकित्सा सम्मेलनले पशु चिकित्सक र अन्य पशु स्वास्थ्य सेवा प्रदायकका लागि विविध शैक्षिक अवसर प्रदान गरेको थियो । जहाँ क्लिनिकल अभ्यास (निजी अभ्यास) र सार्वजनिक अभ्यास (जनस्वास्थ्य)सँग सम्बन्धित विषयमा निकै चर्चा भयो । कार्यक्रमले पशु चिकित्साका लगभग सबै पक्ष समेटेको थियो । ‘हाम्रो विविधता मनाऔं’ भन्ने नाराका साथ भएको कार्यक्रमले पशु चिकित्साको क्षेत्र निकै फराकिलो भएको कुरा प्रस्ट्याएको थियो ।
हुन पनि लगभग दुई तिहाइ (६० दशमलव ३ प्रतिशत) उदीयमान संक्रामक रोगहरू जुनोटिक अर्थात् जनावरबाट मानिसमा सर्ने गर्छन् । तीमध्ये अधिकांश (७१ दशमलव ८ प्रतिशत) वन्यजन्तुबाट उत्पन्न भएका हुन् र हालका वर्षहरूमा ती घटना बढ्दै गएका छन् । अनुसन्धानले देखाएको छ कि ५० प्रतिशतभन्दा बढी उदीयमान संक्रामक रोग ब्याक्टेरियाका कारण भएका थिए, जसमा धेरै औषधी–प्रतिरोधी जीव समावेश छन् । अध्ययनले सामाजिक, आर्थिक, वातावरणीय र पारिस्थितिक कारण र रोगको उदयबीच गहिरो सम्बन्ध देखाएका छन् । यसले नयाँ रोगहरू देखापर्न सक्ने सम्भावित क्षेत्र (जसलाई ‘उदाउँदो रोग हटस्पट’ भनिन्छ) पहिचान गर्न सहयोग पुर्याउँछ ।
विशेषगरी, कम अक्षांशका क्षेत्रहरूमा वन्यजन्तुजन्य र भेक्टरजन्य रोगहरूको जोखिम बढी छ तर त्यहाँ रिपोर्टिङ प्रणाली कमजोर छ । भेक्टरजन्य रोगहरूको लागि देशको सिमाना भन्ने कुरा हुँदैन– रोगहरू सहजै सीमापार फैलिन्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, संक्रामक रोगको नियन्त्रणका लागि विश्वव्यापी स्रोत पर्याप्त छैनन् किनकि अनुसन्धान र निगरानी कार्य ती देशमा केन्द्रित छन्, जहाँ नयाँ रोग देखिने सम्भावना कम छ । मानिस ज्ञात जुनोटिक रोगजनकको मात्र ३ प्रतिशतको प्राथमिक भण्डार हुन् तर रोगको प्रकोप पत्ता लगाउने काम प्रायः मानव केस पत्ता लागेपछि मात्र सम्भव हुन्छ । त्यसैले मानव र जनावरबीचको निगरानी प्रणाली एकीकृत हुन आवश्यक छ ।
सन् २००८ मा अमेरिकन पशु चिकित्सा संघले आफ्नो सम्मेलनमा ‘एक स्वास्थ्य’ अवधारणामाथि विशेष छलफल गरेको थियो । ‘एक स्वास्थ्य’ भन्नाले मानिस, जनावर र वातावरण– यी तीनवटाको एकमुष्ट स्वास्थ्य प्राप्त गर्न स्थानीय, राष्ट्रिय र विश्वव्यापी तहमा विभिन्न विषयका विज्ञहरूको सहकार्यात्मक प्रयास हो । पशु चिकित्सकहरूका लागि यो अवधारणा विशेष रूपमा महत्वपूर्ण छ, किनकि उनीहरू खाद्य सुरक्षा, एन्टिबायोटिक संवेदनशीलता परीक्षण, जुनोटिक रोग अनुसन्धान, उदीयमान रोग नियन्त्रण, पारिस्थितिक संरक्षण, तुलनात्मक चिकित्सा अनुसन्धान, र मानव मानसिक स्वास्थ्यमा पनि योगदान पुर्याउँछन् ।
‘एक औषधी’ अर्थात् मानव र जनावर दुवैको स्वास्थ्यलाई एउटै दृष्टिकोणबाट बुझ्ने अवधारणा पुरानो भए पनि व्यवहारमा छुट्टिएका छन् । मानव चिकित्सा र पशु चिकित्सा आज छुट्टै पेसा बनिसकेका छन् । तर पशु चिकित्सक मात्र यस्ता स्वास्थ्य व्यवसायी हुन् जसले मानिस र जनावर दुवैसँग प्रत्यक्ष सम्पर्क राख्छन् । त्यसैले उनीहरूलाई जुनोटिक रोगको जोखिम र नियन्त्रणबारे विशेष ज्ञान हुन्छ ।
पशु चिकित्सकहरूले तुलनात्मक औषधी, जुनोसिस र जनस्वास्थ्यमा गहिरो तालिम पाएका हुन्छन् । चिकित्सकहरू (डाक्टरहरू)ले भने तुलनात्मक औषधी र आनुवंशिकीमा त्यति प्रशिक्षण पाउँदैनन् । त्यसैले, पशु चिकित्सक सार्वजनिक स्वास्थ्य खतरा पहिचान गर्न बढी सक्षम हुन्छन् । घरपालुवा जनावर रोग निगरानी प्रणालीका लागि ‘सुरक्षा प्रहरी’ बन्न सक्छन्, जसले घरेलु वातावरण र वन्यजन्तुमा फैलिने रोगहरूको प्रारम्भिक चेतावनी दिन सक्छ । साथै, पशु चिकित्सकहरूले पारिवारिक डाटा र घरपालुवा जनावरहरूको स्वास्थ्य अवस्थामार्फत पारिवारिक चिकित्सकहरूसँग सहकार्य गर्न सक्छन् ।
भविष्यमा सार्वजनिक स्वास्थ्य, मानव चिकित्सा, जैव–इन्जिनियरिङ, पशु विज्ञान, वातावरणीय विज्ञान र वन्यजन्तु संरक्षणका क्षेत्रमा सबै पेसाका विशेषज्ञबीच सहकार्य आवश्यक हुनेछ । सहकार्यमार्फत मात्र हामी रोगसँग लड्न र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सक्षम हुनेछौं । धेरै पशु चिकित्सकहरूका लागि ‘एक स्वास्थ्य’ भन्ने शब्द सुन्नासाथ जुनोटिक रोगको रोकथाम र व्यवस्थापन मनमा आउँछ – चाहे त्यो विश्वव्यापी महामारी होस् वा स्थानीयस्तरको रेबिज नियन्त्रण कार्यक्रम ।
कोभिड–१९ महामारीले यस अवधारणालाई झन् प्रस्ट रूपमा उजागर गर्यो । यो एक ‘एक स्वास्थ्य’ समस्या थियो, मानिस वन्यजन्तु बजारमा गए, संक्रमण लिए र हवाई तथा जल यातायातमार्फत विश्वभर फैलियो । त्यसपछि घरेलु बिरालो र चिडियाखानाका ठुला जनावरहरूमा पनि संक्रमण फैलियो । जसले देखायो कि मानव, जनावर र वातावरणबीचको सम्बन्ध कति गहिरो छ । पशु चिकित्सकहरू सुरुदेखि नै रेबिज खोप, टोक्सोप्लाज्मोसिसबारे जनचेतना र आन्द्राका किरा हटाउने औषधी (डिवार्मिङ)मार्फत जनस्वास्थ्यमा योगदान पुर्याइरहेका छन् । उनीहरू जनावरको उपचार गर्दै गर्दा जनावर मालिकहरूको स्वास्थ्यको पनि रक्षा गरिरहेका हुन्छन् ।
दिगो स्वास्थ्य सेवा पूर्वाधार सुधार गर्न बहुआयामिक दृष्टिकोण आवश्यक छ– ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा प्रयोग, फोहोर व्यवस्थापन, पानी संरक्षण र आपूर्ति शृंखला व्यवस्थापन । रणनीतिहरूमा भवनहरूको राम्रो इन्सुलेसन, सौर्य प्यानल जडान, पुनः प्रयोग र पुनर्चक्रण, वातावरणमैत्री खरिद नीति र पानी बचत गर्ने उपाय समावेश छन् । साथै, बिरामी र समुदायको सहभागिता, रोग रोकथाममा जोड र उपचार तथा प्रविधिको दक्षता सुधार पनि महत्वपूर्ण छन् ।
कोभिड–१९ महामारीपछि ‘एक स्वास्थ्य’ अवधारणा विश्वव्यापी रूपमा पहिचान प्राप्त गरिरहेको छ । यसले संघीयस्तरमा कोष, नीति र ‘वन हेल्थ ऐन’जस्ता कानुनी प्रयासहरूको समर्थन बढाउन मद्दत गर्नेछ ।