२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

‘क्रिकेट कुम्भ’ आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

shivam cement
२०८२ मंसिर १ गते ०६:२५
Shares
‘क्रिकेट कुम्भ’ आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे भिडन्त हुनेछ । यस सिजन पहिलोपटक ठुलो संख्यामा फ्लडलाइट खेललाई प्राथमिकता दिइएको छ, जसअनुसार ३२ खेलमध्ये २३ खेल रातिको समयमा सञ्चालन हुनेछन् ।

क्यानले यस सिजनका लागि दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने व्यवस्था गरेको छ । तर उद्घाटन खेलको टिकट दुई दिनअघि नै ‘सोल्ड आउट’ भइसकेको थियो । भौतिक भिड व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै क्यानका सचिव पारस खड्काले दर्शकलाई घरमै बसेर टेलिभिजन तथा अनलाइनबाट खेल हेर्न आग्रह गरेका छन् । मंसिर १ देखि २७ गतेसम्म चल्ने लिगमा लिग चरण, प्लेअफका तीन खेल र फाइनलसहित ३२ खेल हुनेछन् ।

टिकट दरमा पनि यसपटक फरक–फरक दर लागू गरिएको छ । उद्घाटन खेलका लागि साधारण टिकट ५०० र प्रिमियम १५०० रुपैयाँ तोकिएको छ । अन्य दिन हुने लिग खेलमा साधारण ५०० र प्रिमियम १००० रुपैयाँ निर्धारण गरिएको छ भने प्लेअफ तथा फाइनलका खेलका लागि जनरल १००० र प्रिमियम २००० रुपैयाँ पर्नेछ । सिजनल पास १५ हजार रुपैयाँमा खरिद गर्न सकिने क्यानले जनाएको छ । क्यानले यस संस्करणबाट करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन खेलमा भिड बाक्लो हुने आंकलन गर्दै काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आइतबार विशेष ट्राफिक योजना सार्वजनिक गरेको छ । त्यसअनुसार सर्वसाधारणका सवारी साधन तीनकुने नजिकको मैदान, घडी आइल्याण्ड क्षेत्र, आयुर्वेदिक अस्पताल परिसर, टियु गेटदेखि भिसी कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट–सानेपा खोला करिडोरमा पार्किङ गर्न मिल्नेछ । भिआइपी तथा भिभिआइपीका लागि भने टियु ग्राउण्डको मुख्य गेटभित्र छुट्टै पार्किङ व्यवस्था मिलाइएको छ । कार्यालयले तोकिएको स्थान बाहेक अन्यत्र पार्किङ नगराउन सबैलाई आग्रह गरेको छ ।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सोमबारदेखि सुरु हुन लागेको एनपिएलका खेलमा कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन गृह मन्त्रालय र सुरक्षा निकायलाई कडाइका साथ सतर्क रहन निर्देशन दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापासँगको ब्रिफिङमा उनले फ्लडलाइटमा रातिको समयमा हुने खेलका कारण सुरक्षा व्यवस्था थप कडा र व्यवस्थित हुन आवश्यक रहेको बताए ।

एनपिएलका सबै खेल नेपालमा स्टार स्पोट्र्ससँगै कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछन् भने अनलाइन दर्शकका लागि डिसहोम गो ओटिटी प्लेटफर्ममार्फत उपलब्ध हुनेछ । क्यानले यसपटक प्रसारण मापदण्ड र दर्शक पहुँच दुवै विस्तार गर्न प्रसारण साझेदार थपेको जनाएको छ ।

आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीमा ११ नेपाली तथा ४ देखि ६ जना विदेशी खेलाडी राख्न अनिवार्य गरिएको छ । यसअनुसार प्रतियोगितामा कम्तीमा १२० र बढीमा १३६ खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने जनकपुर बोल्ट्स अनिल साहको कप्तानीमा मैदान उत्रिँदैछ । चितवन राइनोज कुशल मल्ल, काठमाडौं गोर्खाज करण केसी, पोखरा एभेन्जर्स कुशल भुर्तेल, लुम्बिनी लायन्स रोहित पौडेल, कर्णाली याक्स सोमपाल कामी र सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रनेछन् ।

यस संस्करणमा अन्तर्राष्ट्रिय स्तरका धेरै चर्चित खेलाडी सहभागी हुने भएकाले प्रतियोगिता थप आकर्षक हुने अनुमान गरिएको छ । विराटनगरको स्क्वाडमा फाफ डु प्लेसिस र मार्टिन गप्टिलजस्ता खेलाडी छन् भने जनकपुरतर्फ इमरान ताहिर, वायन पार्नेल र दिल्ली क्यापिटल्सका पूर्व खेलाडी निकोल लोफ्टी–इटन रहेका छन् । चितवनको तर्फबाट डेविड मलान तथा पोखराको तर्फबाट जेसन रोय र जेम्स नीशम मैदान उत्रनेछन् । लुम्बिनी लायन्समा डार्सी सर्ट र जेजे स्मिथजस्ता चर्चित खेलाडी छन् भने कर्णाली याक्सका स्क्वाडमा नाजिबउल्लाह जद्रान र म्याक्स ओ डाउड रहेका छन् । सुदूरपश्चिम रोयल्सले भने स्कट कुगेइलिन र क्रिस लिनजस्ता आक्रमक खेलाडीलाई अनुबन्धन गरेको छ ।

दिउँसो हुने खेल पौने १२ बजे सुरु हुनेछन् भने रातिका खेल ४ बजे हुनेछ । क्यानले यसपटक एनपिएललाई नेपाली क्रिकेटको सबैभन्दा व्यवस्थित संस्करण बनाउन व्यापक तयारी गरेको जनाएको छ ।

फ्लडलाइटको चमक, विदेशी स्टारहरूको उपस्थिति, कडा प्रतिस्पर्धा र दर्शकको उत्साहसँगै कीर्तिपुर यस महिनाभरि ‘क्रिकेट सिटी’मा रूपान्तरण हुने निश्चित देखिएको छ ।

ADV

सम्बन्धित खबर