
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ लाई अब दर्शकहरूले डिशहोम गो एपमार्फत हेर्न सक्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यस वर्षको एनपिएलका लागि डिश मिडिया नेटवर्कलाई ओटिटी प्रशारण अधिकार प्रदान गरेको हो ।
मंसिर १ देखि २७ गते (नोभेम्बर १७ देखि डिसेम्बर १३) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपिएलका सबै ३२ खेल डिशहोम गो एप र वेबसाइटबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
दर्शकहरूले एपमार्फत खेल हेर्नका लागि सिजन पास खरिद गर्नुपर्नेछ । मूल्य निर्धारण अनुसार नेपालका दर्शकका लागि शुल्क ३ सय रुपैयाँ, मध्यपूर्वका देशका लागि ५ सय रुपैयाँ, र अन्य देशका दर्शकका लागि १० अमेरिकी डलर तोकिएको छ ।
यो सुविधा मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । प्रयोगकर्ताले खल्ती, इसेवा, भिसा वा मास्टरकार्डमार्फत भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन् ।
डिशहोम गोले विज्ञापनरहित प्रसारणको सुविधा दिने जनाएको छ । यसपटक एनपिएलका खेल युट्युबमा प्रत्यक्ष प्रसारण नहुने भएको छ । साथै, भारतमा भने यो एपबाट एनपिएल हेर्न नपाइने कम्पनीले स्पष्ट गरेको छ ।गुणस्त
रयुक्त र अवरोधरहित स्ट्रिमिङका लागि डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । कम्पनीका अनुसार एपको नयाँ संस्करण गुगल प्ले स्टोरमा उपलब्ध भइसकेको छ, जबकि आइओएस संस्करण केही दिनमै सार्वजनिक हुने छ ।
आगामी सिजनमा आठ फ्रेन्चाइज टोलीबीच ३२ खेल हुनेछन्– जसमा समूह चरणका २८, प्लेअफका ३ र फाइनलसहितका खेल समावेश छन् । तीमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने तालिका तय गरिएको छ ।
क्यानका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरिएको छ ।
साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि पाँच सय रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि पाँच सय रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ पर्नेछ ।
यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि एक हजार पाँच सय रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ छ । प्लेअफ तथा फाइनलका लागि प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ ।