२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको अनुगमन

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक २७ गते २१:१४
Shares
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको अनुगमन

‎बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था बुझ्न स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाको आयोजनामा र एक्सन एड नेपाल तथा कमैया महिला जागरण समाज नेपालको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको हो ।

अनुगमन टोलीले निर्माण स्थलहरूमा कार्यरत मजदुर र निर्माण व्यवसायीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या सुन्नुका साथै सुझाव संकलन गरेको थियो । कार्यक्रममा जिल्ला दररेट, सुरक्षा सामग्रीको प्रयोग, दुर्घटना बीमा र सामाजिक सुरक्षा कोष सम्बन्धी विषयमा छलफल भएको थियो ।

श्रमिकहरूले कार्यस्थलमा मास्क र सुरक्षा उपकरणको अभाव, हाजिरी कार्ड नपाउनु र बीमा सुविधाको जानकारी नपाउनु जस्ता समस्याहरू बताएका छन् ।

गाउँपालिका अध्यक्ष जमानसिंह के.सी.ले श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै, श्रमिकहरू पनि संगठित भएर आफ्ना हकका लागि सचेत हुनुपर्नेमा जोड दिए । उनले ठेकेदारहरूलाई आवश्यक सुरक्षा सामग्री र हाजिरी कार्ड तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । 

उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक लक्ष्मी कुमारी चौधरीले श्रमिकहरूलाई जिल्ला दररेट सुनिश्चित गर्न र हाजिरी कार्ड बिना काम नगर्न आग्रह गर्दै आफ्ना हकप्रति सचेत रहन आग्रह गरिन् ।

अनुगमन टोलीमा अध्यक्ष के.सी. र उपाध्यक्ष चौधरीसँगै वडा नं. ३ का अध्यक्ष एवम् सामाजिक विकास शाखा संयोजक निर्मल चौधरी, वडा नं. ५ का अध्यक्ष एवम् पालिका प्रवक्ता धर्मप्रकाश चौधरी, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, योजना शाखा प्रमुख कुन नारायण चौधरी, कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र प्रसाद थारु र बोर्ड समिति सदस्य देवी थारुलगायतको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर