२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

एमाले महाधिवेशन : अध्यक्षमा तेहरिने ओली प्रयास, ईश्वरको चुनौती बाधक

shivam cement
जीवन शर्मा
२०८२ मंसिर १ गते ०६:३५
Shares
एमाले महाधिवेशन : अध्यक्षमा तेहरिने ओली प्रयास, ईश्वरको चुनौती बाधक

काठमाडौं : विघटित प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा एमाले महाधिवेशनमा होमिएको छ । मंसिरको २७–२९ मा काठमाडौंमा हुने ११औं महाधिवेशनको पूर्वतयारीअन्तर्गत महाधिवेशन प्रतिनिधि छनोट अभियानमा एमालेका नेता कार्यकर्ता देशभर सक्रिय छन् ।  

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा आगामी नेतृत्वको बहस सबैभन्दा बढी चर्चामा छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानमा भएको नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था मिल्काइसकेका छन् । आफू तेस्रोपटक नेतृत्वमा आउने अभिप्रायले हटाइएको सो व्यवस्था जोगाउन लागेकाहरू यतिबेला अल्पमतमा छन् । यद्यपि उनीहरूले पार्टीलाई विधि विधान, विचार र पद्धतिअनुसार चलाउनुपर्ने पक्षमा निरन्तर लागिरहने बताउँदै आएका छन् । एमालेभित्र पछिल्लो समय पार्टी अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको टसल उत्कर्षमा पुगेको छ । 

पार्टीको महाधिवेशन नजिकिँदै जाँदा आआफ्नो समूह बलियो बनाउन नेताहरू लागिपरेका छन् ।  अध्यक्ष ओलीले शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली महेश बस्नेत, रामकुमारी झाँक्रीलगायत नेतालाई समेटेर बलियो टिम बनाउने योजनामा रहेको उनीनिकट स्रोतको दाबी छ । ओली अध्यक्ष हुँदा उपाध्यक्षमा शंकर पोखरेल र विष्णु पौडेल महासचिव प्रदीप ज्ञवाली, सचिवमा महेश बस्नेत र भर्खरै नेकपा एसबाट प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीलाई ल्याउने तयारी देखिन्छ । ओलीलाई काउन्टर दिन विद्या भण्डारीकै मुख्य सहयोगमा अध्यक्ष बन्न लागेका ईश्वर पोखरेलले टिममा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली  सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, कर्णबहादुर थापालगायत नेताहरूलाई समेटेर टिम बनाउने तयारीमा छन् । यस विषयमा छलफल चलिरहेकाले को कहाँ बस्ने भन्ने निक्र्यौल भई नसकेको सो समूहका एक नेताले बताए ।    

ओलीका सबैभन्दा नजिक मानिएकी विद्याले पार्टी नेतृत्व नै ताकेपछि ओली र उनको समूहले भण्डारीको सदस्यता नै खाइदिएका छन् । पार्टीको बहुमत निर्णयबाटै भण्डारीको संगठित सदस्यता रोकिपछि उनी ११औं महाधिवेशनमा प्रतिनिधिसमेत हुनबाट वञ्चित परेकी छन् । अध्यक्ष नै हुने योजनासहित पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले सदस्यता नपाए पनि ओलीविरुद्ध ठुलै खेल खेल्ने तयारीमा रहेको उनीनिकटका नेता बताउँछन् । भण्डारीले ११औं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने चाहना राखेका ओलीलाई  प्रतिस्पर्धाको मैदानमा भने ल्याउने पक्का छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सबल बनाएर जनतामाझ जानेकुरामा आफ्नो लडाइँ अन्तिमसम्म रहने बताए । उनी भण्डारीकै मुख्य सहयोगमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ ।  

‘एमालेलाई वैचारिक ढंगले सशक्त बनाउनुपर्नेछ,’ उनले भने, ‘त्यसका लागि ११औं महाधिवेशनमा मेरो प्रतिस्पर्धा रहन्छ । तर कोको मैदानमा हुन्छन् ? भन्ने कुरा बाँकी नै छ । सबै साथीसँग सल्लाह गरेर नै अघि बढ्छु ।’ भण्डारीको सहयोगमा अलगै समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका पोखरेलले नीति र नेतृत्वमा परिमार्जन गर्ने बहसमा पार्टी पंक्तिलाई एकाकार हुन आग्रह गरेका छन् । उनले पूर्वराष्ट्रपति भण्डारीसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराईलगायत पदाधिकारी, स्थायी समिति, केन्द्रीय कमिटी सदस्य, पार्टीको नीतिमा प्रभाव पार्न सक्ने व्यक्तित्वलगायतसँग आन्तरिक छलफल गरेका थिए ।  

पोखरेलले यस्तो अभियान चलाउँदै गर्दा अध्यक्ष ओलीले ‘आफ्नो प्रतिस्पर्धामा आउने जोकोही भए पनि झाप्पु दिने’ बताएका थिए । दुई साताअघि राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष ओलीले आफूलाई नेतृत्वबाट हटाउन कोही आए ‘झप्पु खाने’ चेतावनी दिँदै भनेका थिए, ‘बघिनी चुप लागेको छ भनेर उसको डमरु चलाउन थाल्यो भने बघिनीले यस्तो दिन्छ नि झप्पु । ‘म पनि चुपै लागेर बसेको हुन्छु, उदार हुन्छु, नरम हुन्छु । पार्टीतिर सिध्याउन खोज्यो, पार्टी निचोर्न खोज्यो भने झप्पु दिन्छु ।’

तर भण्डारी समूहले गत भदौमा भएको विधान महाधिवेशनबाट पारित दस्ताबेजमा पुनः छलफल, पुनः अनुमोदन गर्न दबाब बढाउने योजनामा छन् । आफूलाई निर्विकल्प सर्वसम्मत अध्यक्षका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणबाहेक कुनै पनि विषयमा छलफल हुन नसक्ने सन्देश दिएको ओलीको अभिव्यक्तिप्रति इतर समूहका नेता थप आक्रोशित बनेका छन् । यसअघि जेनजी आन्दोलनमा मुलुक बलिरहेकै बेला पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने बताएका थिए । अहिले पनि उनी ओलीको कार्यशैलीप्रति असन्तुष्ट छन् । ‘महाधिवेशन केवल नेतृत्व परिवर्तन मात्रै होइन, विगतको समीक्षा, भावी नीति निर्माण र नेतृत्व चयनसहितको बहस आवश्यक छ,’ पाण्डेले भने । तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा उभिएका नेता अहिले पनि ओलीको विपक्षमा छन् । 

नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएपछि ‘१० भाइ’ समूह माधव नेपाल समूहमा थिए । नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुषाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त अन्ततः नेपालले दर्ता गरेको नेकपा एसमा नगई एमालेमै थिए । पछि भीम घनश्याम भुसाल नेकपा एसमा जाँदा भीम रावलको सदस्यतासमेत गुमाएर पार्टीबाहिर बसेका थिए । उनी अहिले प्रचण्ड नेतृत्वको नेकपामा समाहित भइसकेका छन् । बाँकी आठ जना नेता ओलीको विकल्पमा नयाँ नेतृत्व खोजी गर्नुपर्ने पक्षमा छन् । 

महाधिवेशन प्रतिनिधि छनोट भइरहँदा अध्यक्ष ओली पक्षका नेता कार्यकर्तालेवडादेखि प्रतिनिधि कब्जाको रणनीति अपनाएका छन् । त्यस्तै, केन्द्रीय समिति, जनवर्गीय संगठन र विभिन्न घटकबाट छानिएका प्रतिनिधि अधिकांश ओली पक्षकै रहेको नेताहरूले दाबी गरेका छन् । ओलीलाई काउन्टर दिने तयारी गरेका विद्या–ईश्वर र सुरेन्द्र पाण्डेसहितका नेताहरूले प्रतिनिधि छनोटमा खासै माहोल तताउन सकेका छैनन् । ओलीले इतर समूहमा रहेका नेताहरूको गतिविधिलाई नियमित निगरानी राखेर विस्तारै पाखा लगाउने रणनीति लिएका छन् ।     

पार्टी सचिव गोकर्ण विष्टले विकसित घटनापछि नीति र नेतृत्व दुवैमा पुनर्गठन अनिवार्य भएकाले मुद्दामा सहमति नबने आन्तरिक प्रतिस्पर्धा हुने बताउँछन् । ‘भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमले यथास्थितिबाट पार्टी र देश चल्दैन भन्ने कुरामा हामी सहमत छौं,’ विष्टले भने । आगामी महाधिवेशनमा प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनेमा उनी विश्वस्त छन् ।  तर ओलीका निकटस्थहरूले उनको विकल्प देखेका छैनन् । 

ओलीलाई गुन्डु ल्याएर सुरक्षा दिएका एमाले नेता महेश बस्नेतले एमालेमा अहिले नै ओलीको विकल्प खोज्नेबेला नभएको बताए । उनले भने, ‘अहिले एमालेभित्र कमरेड केपी ओलीको विकल्पै छैन । ११औं महाधिवेशनमा उहाँ नै अध्यक्ष भएर मुलुकको परिस्थितिलाई सम्हाल्ने र एमालेलाई देशकै ठुलो पार्टी बनाउने अभियानमा एमाले एकताबद्ध छ ।’ जेनजीलगायत विभिन्न विचार समूहहरूका मागहरूलाई संसद्मार्फत सम्बोधन गर्न ओलीकै नेतृत्व आवश्यक भएको उनको दाबी छ ।  

अध्यक्ष ओलीले अध्यक्ष हुनेमा विश्वस्त छन् । महाधिवेशनमा आफ्नो सम्बोधन सकिएपछि महाधिवेशन नै सकिनेगरी तयारी गरेको समेत सार्वजनिक भिडियो आइरहेका छन् । ‘समय परिस्थितिअनुसार पार्टीका केही व्यक्तिहरूले महाधिवेश, महाधिवेशन भनेकाले मात्रै मैले समयअघि नै महाधिवेशन गर्न लागेको हुँ । यसमा धेरै कुरा केही हुन्नन् मेरो सम्बोधनपछि सिधै नेतृत्व चयनतिर जाने र छोटकरीमा महाधिवेशन सक्ने हो । लामो गर्न समय छैन,’ उनले भनेका थिए ।

ADV

सम्बन्धित खबर