
नेपालबाट भारतमा चिया निर्यात ठप्प प्राय छ । टी बोर्ड इन्डियाले लागू गरेको नयाँ नियमका कारण नेपालबाट चिया निर्यात हुन नसकेको हो । नेपालका लागि यो केवल चिया व्यापारको मात्रै समस्या होइन, भारतसँगको असन्तुलित आर्थिक निर्भरता र कमजोर व्यापार कूटनीतिको उदाहरण हो । नेपाली चिया उद्योगसँग १५ हजार बढी किसान, ६० हजार बढी श्रमिक, प्रशोधन उद्योग र निर्यात व्यवसायी जोडिएका छन् । नयाँ व्यवस्थाले प्रत्येक खेपमा अतिरिक्त परीक्षण शुल्क, जिएसटी, गोदाम खर्च र ढुवानी ढिलाइको बोझ थपेको छ । परीक्षण रिपोर्ट आउन दुई सातासम्म लाग्ने भएपछि निर्यातकर्ताहरू समस्यामा छन् । चिया निर्यातमा भारतले अवरोध गरिरहँदा चिनी आयातामा समस्या परेको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा भारतबाट चिनी आयात ठप्प छ । नेपालमा तत्काल ठुलो संकट नदेखिए पनि दीर्घकालीन रूपमा चिनी अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ । विशेषगरी दशैं–तिहार लगायतका चाडपर्व नजिकिँदा यसको असर प्रत्यक्ष उपभोक्तामा पर्नेछ ।
भारतसँग नेपालको यी तत्काल देखिएका दुवै प्रकृतिका समस्या नयाँ भने होइन । भारतले यसअघि पनि नेपाली अदुवा, अलैंची, दाल, तरकारी र चियामा क्वारेन्टिन, गुणस्तर वा लेबलिङको नाममा पटक–पटक अवरोध सिर्जना गर्दै आएको छ । केही वर्षअघि नेपाली चियामा ४० प्रतिशत आयात शुल्क लगाउने विषय उठेको थियो । त्यसबेला सरकारी तथा कूटनीतिक पहलपछि समस्या समाधान भएको थियो । फेरि पनि यस्तै पहलको माग नेपाली पक्षबाट भइराखेको छ । चिया निर्यात र चिनी आयातमा परेको वर्तमान समस्याले गम्भीर प्रश्न नेपाल पक्षमै पनि उठाउँछ । नेपाल किन यति सजिलै प्रभावित हुन्छ ? यसको सहज जवाफ पनि छ । नेपालको व्यापार संरचना अत्यधिक रूपमा भारतमा निर्भर छ ।
समस्या छ, समाधान पनि थाहा छ भने त्यसअनुसार सरकार अगाडि बढ्नुपर्छ । नेपाल सरकारले परम्परागत प्रतिक्रियात्मक शैली त्याग्नुपर्छ । समस्या आएपछि मात्र हतारमा कूटनीतिक पहल गर्ने प्रवृत्तिले दीर्घकालीन समाधान दिन सक्दैन । नेपाल सरकारले भारतीय पक्षसँग उच्चस्तरीय औपचारिक वार्ता गरी नेपाली चियाका लागि सहज संक्रमणकाल, परीक्षण प्रक्रिया सरलीकरण र सीमावर्ती क्षेत्रमा छिटो परीक्षण सुविधा माग गर्नुपर्छ । यसका साथै नेपालले आफ्नो निर्यात बजार विविधीकरण गर्नुपर्छ । नेपाली चियालाई युरोप, अमेरिका, मध्यपूर्व र पूर्वी एसियाली बजारमा स्थापित गर्न सकिन्छ । चिनी आयातको समस्याले पनि नेपाललाई पाठ सिकाएको छ, कि आत्मनिर्भरता केवल अब नारामा सीमित रहँन हुँदैन । यसकारण अहिलेका यी दुवै चुनौतीलाई नेपालले संकटका रूपमा मात्रै होइन, आफ्नो व्यापार नीति पुनर्विचार गर्ने र बजार विविधीकरणको अवसरका रूपमा लिनुपर्छ ।