२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

दसैंमा पनि ड्युटी, अरूको खुसीका लागि खटिनेहरू

Nada
सपना बोहरा
२०८३ कार्तिक १ गते ०६:२५
Shares
दसैंमा पनि ड्युटी, अरूको खुसीका लागि खटिनेहरू

काठमाडौं : देशभर दसैंको रौनक छाएको छ । बजारमा किनमेल गर्नेको भीड छ, गाउँ फर्किने यात्रुको लर्को छ र घरघरमा टीका तथा जमराको तयारी चलिरहेको छ । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका–आशीर्वाद लिने र वर्षभरिको थकान बिर्सने पर्वका रूपमा दसैंलाई लिइन्छ । तर यही उत्सवका बीच अत्यावश्यक क्षेत्रका ठूलो जनशक्ति कार्यस्थलमै खटिरहेको छ ।

ncell

चिकित्सक र स्वास्थ्यकर्मीको दसैं अस्पतालमै बित्छ । सडकमा ट्राफिक प्रहरी यात्रुको आवागमन व्यवस्थापन गरिरहेका हुन्छन् । सुरक्षाकर्मी नागरिकको सुरक्षामा खटिएका हुन्छन् भने यातायात मजदुर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सक्रिय हुन्छन् । होटल तथा रेस्टुरेन्टका कामदार, सरसफाइकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवामा कार्यरत कर्मचारी पनि दसैंमा नियमित जिम्मेवारीबाट अलग हुन पाउँदैनन् ।

दसैं सबैका लागि बिदा र उत्सवको समय बनेको छैन । कतिपयका लागि यो अरूको यात्रा सुरक्षित बनाउने, बिरामीको उपचार गर्ने, सेवा अवरुद्ध हुन नदिने र सार्वजनिक जीवन सहज बनाउने जिम्मेवारी पूरा गर्ने समय हो । उनीहरूकै निरन्तर खटाइले चाडपर्वका बेला पनि जनजीवन सहज रूपमा सञ्चालन भइरहेको हुन्छ ।

सुरक्षामा हजारौं प्रहरी

दसैं, तिहार र छठमा सार्वजनिक स्थानमा मानिसको आवागमन बढ्छ । बजारमा किनमेल गर्नेको भीड लाग्छ भने लामो बिदाको अवसरमा धेरै मानिस उपत्यकाबाट बाहिरिन्छन् । यस्तो अवस्थामा चोरी, लुटपाट, दुर्घटना र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि थप चुनौतीपूर्ण हुन्छ ।

यही आवश्यकतालाई ध्यानमा राखेर सरकारले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । नेपाल प्रहरीका अनुसार दसैं, तिहार र छठलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै दसैं सुरक्षाका लागि ८ हजार १५ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्ले बताए । 

सुरक्षाकर्मीको यो परिचालनले नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउन खोजिएको उनी बताउँछन् । तर यसका लागि खटिने प्रहरीका धेरै सदस्यले भने परिवारसँग बसेर दसैं मनाउने अवसर पाउँदैनन् । अरूको सुरक्षा सुनिश्चित गर्न उनीहरू चाडपर्वकै समयमा पनि आफ्नो जिम्मेवारीमा रहनुपर्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि अक्टोबर १६ को बिहानसम्म ३ लाख ४८ हजार ३१४ यात्रुले उपत्यका छाडेका थिए । यात्रुको चाप बढेसँगै सडकमा सवारीसाधनको व्यवस्थापन, दुर्घटना नियन्त्रण र यात्रुलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन ट्राफिक प्रहरी खटिएका छन् ।

सडकमा घण्टौँ उभिएर सवारी आवागमन व्यवस्थित गर्ने ट्राफिक प्रहरीका लागि पनि दसैं कार्यस्थलमै बित्न सक्छ । यात्रुहरू सुरक्षित रूपमा घर पुगेर परिवारसँग चाड मनाउन सकून् भन्ने उद्देश्यले उनीहरूले आफ्नो बिदा र पारिवारिक भेटघाटलाई पछि सार्नुपर्छ ।

सीमादेखि राजमार्गसम्म सुरक्षाकर्मी

दसैंमा सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा मात्र सीमित हुँदैन । सीमा सुरक्षा, उद्धार, विपद् व्यवस्थापन र संवेदनशील क्षेत्रको निगरानीमा सशस्त्र प्रहरी बल नेपालका जनशक्ति पनि परिचालित हुन्छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं डिआइजी नेत्रप्रसाद कार्कीले यस वर्ष दसैंमा २८ हजार १२६ जनशक्ति घर नगई ड्युटीमा खटिएका बताए । असोज २२ देखि लागू गरिएको योजनाअन्तर्गत उक्त जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५०० जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनी बताउँछन् । 

चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन देशभर १४१ नागरिक सहायता कक्ष, १६ स्वास्थ्य सहायता कक्ष र १३ पर्यटक सहायता कक्ष स्थापना गरिएको छ । मुख्य राजमार्गमा उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ भने १६ स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारीसाधन तैनाथ गरिएको छ ।

सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक प्वाइन्ट तथा पैदल र मोबाइल गस्ती परिचालन गरिने व्यवस्था गरिएको छ । संवेदनशील स्थानको निगरानीका लागि २१ ड्रोन र सीमा नाकामा रहेका ४१२ सीसीटीभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यी व्यवस्थाले चाडपर्वमा सुरक्षा र उद्धार सेवालाई प्रभावकारी बनाउन खोजिएको देखाउँछन् । तर यस्ता सेवा सञ्चालनमा राख्न ठूलो जनशक्ति आवश्यक पर्छ । त्यसैले सर्वसाधारणले दसैं मनाइरहँदा सुरक्षाकर्मीको ठूलो हिस्सा भने कार्यस्थलमै जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ ।

बिरामीको उपचारमा स्वास्थ्यकर्मी

चाडपर्वमा अस्पतालको सेवा रोकिन सक्दैन । बिरामीको अवस्था, आकस्मिक दुर्घटना र अन्य स्वास्थ्य समस्याले बिदा कुर्दैनन् । त्यसैले अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकले दसैंमा पनि सेवा दिनुपर्छ ।

चिकित्सक र नर्सहरु अस्पतालमै व्यस्त हुन्छन् । ‘विदा मिलाउनै मुस्किल हुन्छ । स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले पनि स्वास्थ्यकर्मी सबैलाई एकैपटक दसैं आउँदैन् । पालो मिलाउनुपर्छ’ लमजुङमा कार्यरत डा गितु गैरेले भनिन् । चाडवाडका बेला दुर्घटनालगायत आकस्मिक बिरामी धेरै आउने भएकाले पनि ड्युटी छाड्न नमिल्ने उनी बताउँछिन् । 

परिवारसँग बसेर दसैं मनाउने चाहना हुँदाहुँदै बिरामीको उपचारलाई प्राथमिकता दिनुपर्ने अवस्था उनीहरूको पेसागत जिम्मेवारी हो । अस्पतालमा आकस्मिक सेवा सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको पालो मिलाउनुपर्ने हुन्छ । एम्बुलेन्स चालक र अन्य सहयोगी कर्मचारी पनि आवश्यकताअनुसार तयारी अवस्थामा रहनुपर्छ ।

सडक दुर्घटना, बिरामीको आकस्मिक अवस्था र अन्य स्वास्थ्य समस्यामा तत्काल सेवा उपलब्ध हुनु नागरिकका लागि महत्त्वपूर्ण हुन्छ । स्वास्थ्यकर्मीको निरन्तर उपस्थितिले नै चाडपर्वका बेला पनि उपचार सेवा सञ्चालनमा रहन्छ ।

सेवा अवरुद्ध हुन नदिने प्राविधिक

दसैंको समयमा विद्युत्, खानेपानी, दूरसञ्चार र इन्टरनेट सेवा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । परिवारसँग सम्पर्क गर्न, यात्रा व्यवस्थापन गर्न र दैनिक काम सञ्चालन गर्न यी सेवाको सहज उपलब्धता आवश्यक पर्छ ।

विद्युत् आपूर्ति अवरुद्ध भएमा मर्मत गर्नुपर्ने हुन्छ । खानेपानीको आपूर्ति प्रभावित भएमा तत्काल समस्या समाधान गर्नुपर्छ । दूरसञ्चार तथा इन्टरनेटमा समस्या आएमा प्राविधिक कर्मचारी परिचालित हुनुपर्छ । यस्ता सेवा अवरुद्ध हुँदा चाडपर्वको समयमा समेत जनजीवन प्रभावित हुन सक्छ । त्यसैले सम्बन्धित निकायले आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टका कर्मचारी, सरसफाइकर्मी, खाद्यान्न आपूर्तिमा संलग्न कामदार र सञ्चारमाध्यमका पत्रकार तथा प्राविधिक कर्मचारीले पनि दसैंमा काम गरिरहेका हुन्छन् । होटलमा पाहुनालाई खाना खुवाउनेदेखि सडक तथा सार्वजनिक स्थान सफा राख्ने र समाचारमार्फत नागरिकलाई सूचना उपलब्ध गराउनेसम्मका काम निरन्तर चलिरहेका हुन्छन् ।

चाडपर्वमा काम गर्नु जिम्मेवारी भए पनि श्रमिकको अधिकारलाई बेवास्ता गर्न मिल्दैन । सार्वजनिक बिदामा काम गर्ने कर्मचारी तथा श्रमिकले कानुनअनुसार पाउनुपर्ने सुविधा सुनिश्चित गर्नु रोजगारदाताको दायित्व हो ।

श्रम ऐन, २०७४ ले सार्वजनिक बिदा तथा साप्ताहिक बिदामा काम लगाइएका श्रमिकका लागि सट्टा बिदासम्बन्धी व्यवस्था गरेको छ । श्रम तथा रोजगार कार्यालय टेकुको सार्वजनिक जानकारीअनुसार अतिरिक्त समय काम गरेबापत पनि कानुनबमोजिम सुविधा पाउने व्यवस्था छ ।

त्यसैले चाडपर्वमा काममा खटिने श्रमिकलाई आवश्यक सुविधा, विश्राम र सट्टा बिदाको व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ । कामको आवश्यकताका नाममा श्रमिकको पारिवारिक जीवन र अधिकारलाई बेवास्ता गर्नु उचित हुँदैन ।

दसैंको खुसी परिवारसँगै बसेर मनाउनु धेरैको चाहना हो । तर समाजका सबै मानिसले एकै समयमा बिदा लिन सम्भव हुँदैन । कसैले उपचार गरेर, कसैले सुरक्षा दिएर, कसैले यात्रुलाई गन्तव्यमा पुर्‍याएर त कसैले अत्यावश्यक सेवा सञ्चालन गरेर अरूको दसैं सहज बनाइरहेका हुन्छन् ।

उनीहरूका लागि पनि दसैं उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले अरूको खुसीका लागि कार्यस्थलमा खटिने श्रमिकको योगदानको सम्मान गर्नु र उनीहरूको अधिकार सुनिश्चित गर्नु आवश्यक छ ।

सम्बन्धित खबर