२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

एनपिएललाई आइसिसीको मान्यता

Nada
२०८३ असोज ३० गते १९:२४
Shares
एनपिएललाई आइसिसीको मान्यता

काठमाडौं : नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक टी–२० मान्यता प्राप्त गरेको छ । एनपिएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकायबाट औपचारिक मान्यता पाएसँगै नेपाली घरेलु क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुने अपेक्षा गरिएको छ । यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर उकास्न, विदेशी खेलाडीको सहभागिता बढाउन तथा नेपाली क्रिकेटलाई विश्व क्रिकेट समुदायसँग थप नजिक ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

ncell

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले औपचारिक मान्यता दिएको जानकारी गराएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा यस उपलब्धिलाई नेपाली क्रिकेटको विकास र विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा उल्लेख गरिएको छ ।

क्यानका अनुसार आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता दिएको हो । प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ । सिद्धार्थ बैंकको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताले यसपटक अन्तर्राष्ट्रिय मान्यतासहित नेपाली क्रिकेटको व्यावसायिक र प्रतिस्पर्धात्मक यात्रालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

एनपिएलले आइसिसीबाट औपचारिक मान्यता पाएसँगै प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्ने विषयमा थप सहजता हुने अपेक्षा गरिएको छ । यसअघि आइसिसीले एनपिएलको एक संस्करणमा टेस्ट मान्यता प्राप्त राष्ट्रका बढीमा चार खेलाडी मात्र अनुबन्ध गर्न सकिने गरी अनुमति दिएको थियो ।

तर, यस मान्यतासँगै विदेशी खेलाडीको सहभागितामा रहेको उक्त सीमासम्बन्धी व्यवस्था परिवर्तन हुने र फ्रेन्चाइज टोलीहरूले थप विदेशी खेलाडी भित्र्याउन सक्ने व्यवस्था लागू हुने जनाइएको छ । यसले टोलीहरूलाई आफ्नो आवश्यकता, रणनीति र खेलाडीको उपलब्धताका आधारमा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी तथा प्रतिभाशाली खेलाडी छनोट गर्ने अवसर प्रदान गर्नेछ ।

यसैबीच एनपिएलको तेस्रो संस्करण सञ्चालन भइरहेकै समयमा नेपालमा आइसिसी एसिया सम्मेलनसमेत आयोजना हुने भएको छ । क्यानका सचिव पारस खड्काका अनुसार सम्मेलन आगामी नोभेम्बर १९ देखि २१ अर्थात् मंसिर ३ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा एसियाका टेस्ट मान्यता प्राप्त राष्ट्रका साथै एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसैगरी, अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ अतिथिहरूको समेत उपस्थिति रहने क्यानले जनाएको छ ।

एसिया सम्मेलन नेपालमा आयोजना हुनु नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट समुदायसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । सम्मेलनमा विभिन्न क्रिकेट राष्ट्रका प्रतिनिधि सहभागी हुने भएकाले क्रिकेटको विकास, प्रतियोगिता व्यवस्थापन, सदस्य राष्ट्रबीचको सहकार्य र क्षेत्रीय क्रिकेटका विषयमा छलफल हुने बताइएको छ ।

नेपालले सम्मेलन आयोजना गर्दा अन्तर्राष्ट्रिय क्रिकेट समुदायमाझ आफ्नो संगठनात्मक क्षमता, प्रतियोगिता सञ्चालनको अनुभव र क्रिकेट विकासप्रतिको प्रतिबद्धता प्रस्तुत गर्ने अवसर पनि पाउनेछ । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले सम्बन्ध विस्तार गर्न तथा भविष्यमा विभिन्न प्रतियोगिता र क्रिकेटसम्बन्धी गतिविधि सञ्चालनका लागि सहकार्यको वातावरण बनाउन सहयोग पुर्‍याउन सक्छन् ।

क्यानले सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले एनपिएलका महत्वपूर्ण खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने जनाएको छ । सम्मेलनको अवधिमा प्रतियोगिताको इलिमिनेटर तथा फाइनल खेल पर्ने भएकाले अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले नेपालको फ्रेन्चाइज क्रिकेटलाई नजिकबाट हेर्ने अवसर पाउनेछन् ।
 

ताजा खबर

सम्बन्धित खबर