२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ट्राफिक जाम छिचोल्दै बिरामीसम्म पुग्न बाइक एम्बुलेन्स

Nada
२०८३ कार्तिक १ गते ०६:२०
Shares
ट्राफिक जाम छिचोल्दै बिरामीसम्म पुग्न बाइक एम्बुलेन्स

काठमाडौं : काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवालाई छिटो र प्रभावकारी बनाउन आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न कठिन हुने अवस्थामा बिरामीसम्म तालिमप्राप्त स्वास्थ्यकर्मी छिटो पुर्‍याउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो ।

ncell

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाबाट बाइक एम्बुलेन्स सेवा प्रारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई एम्बुलेन्स हस्तान्तरण गरिन् । उनले बाइक एम्बुलेन्सले आकस्मिक अवस्थामा बिरामीलाई समयमै प्राथमिक उपचार उपलब्ध गराउन सहयोग पुग्ने बताइन् ।

‘एम्बुलेन्स भन्नेबित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारीसाधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्‍याउन यो सेवा थालेका हौँ,’ डंगोलले भनिन् ।

उनका अनुसार, ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स अपेक्षित समयमा घटनास्थलमा पुग्न नसक्ने अवस्था आउन सक्छ । यस्तो बेला जीवन बचाउन महत्त्वपूर्ण मानिने ‘गोल्डेन आवर’ भित्रै स्वास्थ्यकर्मी बिरामीसम्म पुग्न सके उपचार प्रभावकारी बनाउन सकिन्छ ।

बाइक एम्बुलेन्समा खटिने इमर्जेन्सी मेडिकल टेक्निसियन (ईएमटी) ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको अवस्था मूल्याङ्कन गरी प्राथमिक उपचार गर्नेछन् । बिरामीको अवस्था थप बिग्रिन नदिन आवश्यक उपचार सुरु गरिनेछ । त्यसपछि चारपाङ्ग्रे एम्बुलेन्स पुगेपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।

बिरामी बोक्ने होइन, स्वास्थ्यकर्मी पुर्‍याउने सेवा

बाइक एम्बुलेन्स चारपाङ्ग्रे एम्बुलेन्सको विकल्प होइन । यसको मुख्य उद्देश्य बिरामीलाई अस्पताल लैजानुभन्दा पहिले आवश्यक स्वास्थ्यकर्मी र प्राथमिक उपचारका सामग्री घटनास्थलसम्म छिटो पुर्‍याउनु हो ।

ट्राफिक जाम, साँघुरा सडक र सवारी चापका कारण एम्बुलेन्स पुग्न ढिलाइ हुने सहरी क्षेत्रमा यो सेवा उपयोगी हुन सक्ने महानगरको अपेक्षा छ । स्वास्थ्यकर्मी समयमै घटनास्थलमा पुगेर उपचार सुरु गर्न सके घर वा घटनास्थलमै हुने मृत्यु घटाउन सहयोग पुग्ने डंगोलले बताइन् ।

बाइक एम्बुलेन्समा आकस्मिक उपचारका लागि आवश्यक सामग्रीसहितको ‘रेड ब्याग’ पनि रहनेछ । यसमा प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक उपकरण र सामग्री राखिनेछ । यसले स्वास्थ्यकर्मीलाई बिरामीको अवस्थाअनुसार तत्काल उपचार सुरु गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

बाइक एम्बुलेन्स सञ्चालनका लागि महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आज द्विपक्षीय सम्झौता भएको छ । सेवा सञ्चालनपछि यसको उपयोगिता, प्रभावकारिता र बिरामीलाई पुग्ने लाभका विषयमा तथ्य तथा घटनाको विवरण संकलन गरिनेछ ।

नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा महानगरपालिकाको लगानीले नागरिकको जीवन रक्षा गर्न योगदान पुग्ने बताए । बाइक एम्बुलेन्सको प्रयोगबाट प्राप्त अनुभव र लाभका विवरण महानगरपालिकालाई उपलब्ध गराउने उनले जानकारी दिए । ‘यसको प्रयोग र लाभलाई घटनाको विवरण र तथ्यमा राखेर महानगरपालिकालाई प्रदान गर्नेछौँ,’ श्रेष्ठले भने ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बाइक एम्बुलेन्स सेवा कार्यवाहक प्रमुखको नयाँ सोचबाट सुरु भएको बताए । यसबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ । ‘परीक्षण अवधिको समीक्षापछि यसको विकास र विस्तारको योजना बनाइनेछ,’ केसीले भने ।

महानगरपालिकाले सुरु गरेको यो सेवाले आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीलाई बिरामीसम्म छिटो पुर्‍याउने र प्राथमिक उपचारमा हुने ढिलाइ कम गर्ने अपेक्षा गरिएको छ । परीक्षण अवधिमा प्राप्त अनुभव र तथ्यका आधारमा सेवा प्रभावकारी देखिए यसको विस्तारले काठमाडौंको आकस्मिक स्वास्थ्य सेवालाई थप सहज बनाउन सक्नेछ ।

सम्बन्धित खबर