
सिराहाको मिर्चैयाका रवीन्द्र यादव १८ वर्षदेखि कतारमा छन् । ‘बेला–बेला घर आउँछु । यो १८ वर्षमा केही दसैं नेपाल आएर पनि मनाएको छु,’ उनी भन्छन्, ‘यसपालि त कतारमै भएकोकाले ड्युटीमा जानुपर्छ ।’
निर्माण क्षेत्रमा काम गर्ने रवीन्द्र समय निकालेरै भए पनि दसैंमा परिवारसँग टेलिफोनमा कुरा गर्छन् । यादवका अनुसार सिराहामा उत्साहका साथ दुर्गा पूजा हुने गर्छ । कतारमा रहँदा उनलाई यसकै ज्यादा याद आउँछ । विदेशमा रहँदा उनी यसपालि दुर्गा पूजा कस्तो भयो ? कस्तो हुँदै छ भनेर उनी परिवारलाई सोध्छन् ।
‘मोबाइलले धेरै सहज बनाएको छ । कुराकानी गर्न पाइहालिन्छ,’ उनी भन्छन्, ‘टीकाको दिन पनि परिवारका सदस्यहरूसँग फोनमा कुराकानी हुन्छ । मोबाइलबाटै आशीर्वाद लिइन्छ ।’
रवीन्द्रका चारजना दाजुभाइ र तीनजना बहिनी छन् । परिवारसँगै रहने चाहना हुँदाहुँदै बाध्यताले विदेश जानुपरेको छ ।
लामो समय विदेशमा बसेर काम गर्दा आर्थिक रूपमा केही सहज पनि भएको छ । तर चाडपर्वको समयमा परिवारसँग नहुनुको पीडाले पोल्छ । रवीन्द्र भन्छन्, ‘बैंक ब्यालेन्स त हुन्छ, तर दसैंमा परिवारसँगै बसेर टीका लगाउन पाउनुको खुसी अर्कै हुन्छ । यसको याद त आइहाल्छ ।’
लामो समय परदेश बसेका यादवको अबको चाहना भने बुढेसकाल नेपालमै बिताउने हो । उनी भन्छन्, ‘बुढेसकालमा नेपालमै बसेर दसैं मनाउने हो ।’
कतारमै निर्माण क्षेत्रमा काम गरिरहेका रामप्रसाद बजगाईंको अनुभव पनि उस्तै छ, परदेशको कमाइले नेपालमा परिवार चलाउन केही सहजता दिन्छ, तर दसैंको पारिवारिक खुसी भने मोबाइलको स्क्रिनमै सीमित गरिदिन्छ ।
बजगाईं पाँच वर्षदेखि कतारमा छन् । निर्माण क्षेत्रमा काम गर्छन् । दसैंमा बिदा पाउँदैनन् । ‘हामी धेरै नेपालीहरू यहाँ छौं,’ बजगाईं भन्छन्, ‘दसैंलगायत चाडपर्वमा परिवारसँग मोबाइलमा कुरा गर्छौं । कसै–कसैले मोबाइलबाटै आशीर्वाद लिन्छन् ।’
उनका अनुसार दसैंको दिन पनि काम गर्नुपर्ने हुन सक्छ । तथापि, कम्पनीले नेपालीहरूको चाड दसैं हो भन्ने ख्याल गर्छन् । खुसी होऊन् भनेर टीकाको दिन कम्पनीले मिठाई दिने गर्छन् ।
‘कोठामै ल्याएर मिठाई राखिदिन्छन् । त्यसपछि साथीभाइ मिलेर मिठाई खान्छौं, उनी सुनाउँछन् ।
दसैंमा परिवारसँग बसेर मासुका परिकार खान नपाए पनि कम्पनीले दिने सानो उपहारले नेपालीहरूमा केही खुसी थप्ने गर्छ । नेपालीका लागि दसैंको सांस्कृतिक र भावनात्मक महत्त्व गहिरो छ । तर अन्य देशका नागरिकका लागि नेपाली दसैंको त्यही भावनात्मक महत्त्व नहुन सक्छ । त्यसैले कतिपय कम्पनीले नेपाली कामदारलाई लक्षित गर्दै दसैंको टीकाको दिन लड्डु तथा मिठाई दिन्छन् ।
परदेशमा घरको टीका र परिवारको साथको विकल्प त बन्न सक्दैन, तर कम्पनीले दिने त्यही लड्डुु नेपाली कामदारका लागि दसैंको एउटा सानो खुसी बन्छ ।
घरमा दसैं मनाउँदा पाक्ने मासुका परिकारको स्वाद सम्झिँदै परदेशमा लड्डु खाएर बाँडेर दसैं मनाउनु परे पनि नेपालीहरू खुसी नै हुन्छन् ।
तर सहज हुँदा भने नेपालीहरू खसी काटेर मासुका परिकार बनाएर पनि खान्छन्, दसैं मनाउँछन् ।
कतार जानुअघि बजगाईंले दुबईमा २७ महिना र साउदी अरबमा २५ महिना काम गरेका थिए । उनी सम्झन्छन्, ‘दुबई र साउदी रहँदा भने साथीभाइ मिलेर खसी काटेरै दसैं मनायौं ।’
यी प्रतिनिधि पात्र हुन् । परदेशमा रहेका अधिकांश नेपालीको दसैं नेपाल र नेपालमा रहेका परिवार सम्झिएरै बित्छ । सरकारी तथ्यांकअनुसार नै ४० लाख बढी नेपाली हाल भारतबाहेकका मुलुकमा बसोबास तथा काम गरिरहेका छन् । यसमध्ये खाडी क्षेत्रमा मात्रै २० लाख बढी नेपाली छन् ।
रोजगारी, अध्ययन तथा अन्य कारणले विश्वका विभिन्न मुलुकमा नेपाली पुगेका छन् । वैदेशिक रोजगारीको हिसाबले नेपाली कामदार १७३ देशमा छन् । तर श्रम स्वीकृतिका लागि सरकारले तोकेका र खुला गरेका गन्तव्यको सूचीमा भने १६८ वटा देश छ । यसमध्ये खाडी क्षेत्रमा मात्रै १७ लाख २० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको विवरण छ । कतार, साउदी अरब, युएई, कुवेत, ओमान र बहराइन नेपालीका प्रमुख गन्तव्य हुन् ।
राष्ट्रिय जनगणना तथा श्रम आप्रवासनसम्बन्धी सरकारी प्रतिवेदनले पनि साउदी अरब, कतार, युएई, मलेसिया र कुवेतलाई नेपाली कामदारका प्रमुख पाँच गन्तव्यका रूपमा देखाएको छ । नेपालको वैदेशिक रोजगारीको मुख्य गन्तव्य खाडी मुलुकसँगै मलेसिया पनि हो ।
यी देशमा रहेका नेपाली कामदारहरू सबैको उस्तै–उस्तै पारिवारिक पृष्ठभूमि छ । परदेशमा पनि उस्तै तरिकाले चाडपर्व मनाउँछन् । मिल्दा खसी काटेरै खान्छन् । नमिल्दा लड्डुमै रमाउँछन् । परिवारसँग टेलिफोनमा कुराकानी गर्छन् । कसैले मोबाइलको स्क्रिनमै टीका लगाएर आशीर्वाद लिन्छन् त कसैले अर्को दसैंमा भेट्ने वाचा गर्छन् ।