
दसैं नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । धार्मिक आस्था, पारिवारिक मिलन, सामाजिक सद्भाव र पुस्तान्तरणसँग जोडिएको यो पर्व नेपाली जीवनपद्धतिकै महत्त्वपूर्ण हिस्सा हो । तर रोजगारी, अध्ययन र अवसरको खोजीमा ठूलो सङ्ख्यामा नेपाली विदेशिएपछि दसैंको स्वरूप बदलिँदै गएको छ । परिवारसँग प्रत्यक्ष भेटघाट र पुनर्मिलनको पर्व अहिले धेरैका लागि दूरीबीच सम्झना साट्ने अवसर बनेको छ ।
देशभित्र पर्याप्त रोजगारी नहुनु, श्रमको उचित मूल्य नपाइनु र परिवारको आर्थिक दायित्व पूरा गर्नुपर्ने बाध्यताले युवालाई विदेश जान प्रेरित गरेको छ । उच्च शिक्षा, व्यावसायिक अवसर र स्थायी बसोबासका कारण पनि नेपालीको विदेश पलायन बढेको छ। यसको सकारात्मक पक्ष पनि छ । विदेशमा काम गर्ने नेपालीले पठाउने विप्रेषणले लाखौँ परिवारको दैनिक जीवन, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार र घर निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । राष्ट्रिय अर्थतन्त्रमा समेत विप्रेषणको ठूलो भूमिका छ । तर आर्थिक लाभसँगै वैदेशिक रोजगारीले सिर्जना गरेको सामाजिक र भावनात्मक मूल्यलाई पनि बिर्सन मिल्दैन । दसैंमा परिवारका सदस्यहरू एक ठाउँमा भेला हुनु हाम्रो परम्पराको महत्त्वपूर्ण विशेषता हो । टाढा रहेका आफन्त घर फर्कन्छन्, ठूलाबडाबाट टीका र जमरा ग्रहण गर्छन् र आशीर्वाद लिन्छन् । तर रोजगारीको प्रकृति, बिदाको अभाव, लामो दूरी र महँगो यात्रा खर्चका कारण विदेशमा रहेका धेरै नेपाली चाहेर पनि घर फर्कन सक्दैनन् ।
यसको विरोधाभास स्पष्ट छ– विदेशबाट पैसा आउँछ, तर मानिस आउँदैन । परिवारको आर्थिक अवस्था सुध्रिन्छ, तर पारिवारिक आत्मीयतामा दूरी बढ्न सक्छ । घरमा भौतिक सुविधा थपिन्छन्, तर भावनात्मक रिक्तता रहिरहन्छ । यही आजको नेपाली समाजको एउटा महत्त्वपूर्ण यथार्थ हो ।
विशेषगरी वृद्ध आमाबुबाका लागि सन्तानको विदेश बसाइँ गहिरो अनुभूतिको विषय हो । उमेर ढल्किँदै जाँदा सन्तानको साथ र सहयोगको आवश्यकता बढ्छ । तर त्यही समयमा सन्तान रोजगारीका लागि विदेशमा हुन्छन् । दसैंजस्तो पारिवारिक पर्वमा उनीहरूको अनुपस्थिति अझ खट्किन्छ । पैसा पठाएर आर्थिक दायित्व पूरा गर्न सकिएला, तर आमाबुबाका लागि सन्तानको प्रत्यक्ष उपस्थिति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
बालबालिकामा पनि यसको प्रभाव पर्न सक्छ । आमाबुबामध्ये एक वा दुवै विदेशमा हुँदा उनीहरू हजुरबा–हजुरआमा वा अन्य आफन्तको संरक्षणमा हुर्कनुपर्ने अवस्था धेरै परिवारमा छ । प्रविधिले भिडियो कलमार्फत सम्पर्क सहज बनाए पनि प्रत्यक्ष भेटघाटको पूर्ण विकल्प बन्न सक्दैन । सँगै बसेर कुराकानी गर्नु, दुःखसुख बाँड्नु र पारिवारिक संस्कार सिक्नुको आफ्नै महत्त्व हुन्छ । त्यसैले वैदेशिक रोजगारीलाई विप्रेषणको दृष्टिले मात्र हेर्नु पर्याप्त छैन । वृद्ध अभिभावकको एक्लोपन, बालबालिकाको अभिभावकीय अभाव र पारिवारिक सम्बन्धमा आउने परिवर्तनलाई पनि राष्ट्रिय बहसको विषय बनाउनुपर्छ ।
यसको अर्थ विदेश जाने नेपालीलाई दोष दिनु होइन। धेरैका लागि विदेश जानु रहरभन्दा बाध्यता हो । स्वदेशमा पर्याप्त रोजगारी नहुनु, श्रमको सम्मानजनक मूल्य नपाइनु र भविष्यप्रतिको अनिश्चितताले युवालाई विदेश जान बाध्य बनाएको छ । समस्या विदेश जानु मात्र होइन, विदेश जानुपर्ने बाध्यता हो ।
स्वदेशमै पर्याप्त र सम्मानजनक रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायन घटाउन सकिन्छ । कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, निर्माण, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्न आवश्यक छ । युवाको सीप र उद्यमशीलतालाई प्रोत्साहन गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ ।
त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई देशको विकाससँग जोड्नुपर्छ । उनीहरूले कमाएको रकम उपभोगमा मात्र सीमित नभई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी हुने वातावरण बनाउनुपर्छ । यसबाट वैदेशिक रोजगारीबाट प्राप्त आर्थिक लाभलाई दीर्घकालीन राष्ट्रिय विकासमा उपयोग गर्न सकिन्छ ।
समृद्धि प्रतिव्यक्ति आयले मात्र मापन हुँदैन । परिवारका सदस्य सँगै बस्न पाउने अवस्था, वृद्ध आमाबुबाले सन्तानको साथ पाउने र युवाले आफ्नै देशमा भविष्य देख्न सक्ने वातावरण पनि समृद्धिका महत्त्वपूर्ण सूचक हुन् । त्यसैले दसैंले उठाउने प्रश्न भावनात्मक मात्र होइन, आर्थिक र नीतिगत पनि हो । किन नेपाली युवाले भविष्यको खोजी देशबाहिरबाट सुरु गर्नुपर्छ ? किन आफ्नो श्रमको उचित मूल्य खोज्न हजारौँ किलोमिटर टाढा जानुपर्छ ? यसको उत्तर राज्यको नीति, रोजगारी सिर्जना र अर्थतन्त्रको संरचनामा खोजिनुपर्छ ।
दसैंलाई टीका, जमरा, नयाँ कपडा र पारिवारिक भोजमा मात्र सीमित गर्नु हुँदैन । यो आत्मसमीक्षाको अवसर पनि हो । विप्रेषणले घरको आर्थिक अवस्था सुधारिरहँदा पारिवारिक सम्बन्ध कमजोर त भइरहेका छैनन् ? आर्थिक समृद्धिको खोजीमा आत्मीयता र सामाजिक सम्बन्धको मूल्य त चुकाइरहेका छैनौँ ? यी प्रश्नले राज्य र समाज दुवैलाई सोच्न बाध्य बनाउनुपर्छ ।
परदेशी नेपालीको पसिनाले अर्थतन्त्र धानेको छ, तर उनीहरूको अनुपस्थितिले परिवारमा खालीपन पनि सिर्जना गरेको छ । त्यसैले सरकारले वैदेशिक रोजगारीबाट प्राप्त आर्थिक लाभसँगै त्यसका सामाजिक प्रभावलाई पनि नीतिगत प्राथमिकतामा राख्नुपर्छ ।
दसैंको वास्तविक मर्म पारिवारिक पुनर्मिलन, आत्मीयता र आशीर्वाद हो । विप्रेषणले घरको चुलो बले पनि सन्तानको अनुपस्थिति पैसाले पूर्ण रूपमा पूर्ति गर्न सक्दैन । अबको राष्ट्रिय लक्ष्य नेपाली युवाले विदेश जान पाउने अधिकारसँगै स्वदेशमै रोजगारी र अध्ययनको अवसर पाउने अवस्था निर्माण गर्नु हो। विदेश जानु विकल्प बनोस्, बाध्यता होइन । दसैंमा घर फर्किनु सपना होइन, जीवनको सहज अवसर बनोस् ।