
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा वैदेशिक रोजगार पृष्ठभूमिका दुई नेता निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा तिलक रानाभाट र किरण किशोर घिमिरे निर्वाचित भएका हुन् ।
रानाभाट र घिमिरे दुवै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष हुन् । रानाभाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् । खुला ४५ केन्द्रीय सदस्यमा ३७औं स्थानमा विजयी रानाभाटले २ हजार २३८ मत पाउँदा ३८औं स्थानमा विजयी घिमिरेले २ हजार २२८ मत पाए ।
नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिमतर्फ)मा प्रतिस्पर्धा गरेका अर्का प्रतिष्ठित व्यवसायी अब्दुल सत्तार भने जित निकाल्न असफल भए । उक्त पदमा मोहम्मद फिरदोष आलम निर्वाचित भए । यसअघि केन्द्रीय समितिमा प्रवेशसमेत नगरेका आलम स्व. शेख इद्रिसका नाति तथा स्व. आफताब आलमका छोरा हुन् ।
नेपाली कांग्रेसको राजनीतिमा तराईका खम्बाका रूपमा रहेका इद्रिसप्रतिको सहानुभूतिको मत आलमलाई जाँदा योग्य र कर्मठ छवि भए पनि सत्तार पछि परेको मतदाताको प्रारम्भिक आकलन छ । सहमहामन्त्रीमा विजयी फिरदोष मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित हुने कांग्रेसका एक्ला सांसद हुन् ।
उक्त पदका लागि १४औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका अतहर कमाल मुसलमान पनि उम्मेदवार थिए । आलमले ३ हजार ३४७ मत पाउँदा सत्तारले २ हजार ७२७ र मुसलमानले ५५७ मत पाए । मुस्लिम कोटामा केन्द्रीय सदस्यका उम्मेदवार जवारदिन मिया मुन्नाले पनि जित निकाल्न सकेनन् ।
केही समयअघि व्यवसायबाट अलग भएको घोषणा गरेका ऋषि शर्मा खुला केन्द्रीय सदस्य, राधिका कटुवाल खुला महिला सदस्य, ऋषिराम कँडेल खसआर्य, अभिनयमान सिंह बस्न्यात ३५ वर्षमुनि केन्द्रीय सदस्य, कमल तामाङ र युवराज गुरुङ जनजाति केन्द्रीय सदस्य तथा राजेश्वरकुमार राय अपाङ्गतातर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए । उनीहरूले पनि जित निकाल्न सकेनन् । उनीहरूले राम्रो मत ल्याए पनि जितका लागि पर्याप्त भएन ।
महाधिवेशनमा हाल एसोसिएसनमा आबद्ध १६ जना व्यवसायीसहित विगतमा वैदेशिक रोजगार व्यवसायमा जोडिएर अलग भएका गरी ४० जनाको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेका थिए ।