२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

बौद्ध र सनातन धर्ममा विजया दशमी

Nada
डा. उद्धव पुरी
२०८३ असोज ३० गते ०६:०५
Shares
बौद्ध र सनातन धर्ममा विजया दशमी

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं वा विजयादशमी सनातन तथा हिन्दू धर्मावलम्बीको प्रमुख र लामो पर्वमध्ये एक हो । दशमीको दिनलाई दुर्गा र रामसँग जोडेर आसुरी शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाउने परम्परा छ । सनातन मान्यताअनुसार देवी दुर्गाले महिषासुर तथा भगवान् रामले सीताको हरण गरी दानवीय स्वरूप देखाएका रावणको वध गरेको सम्झनामा विजयादशमी मनाइन्छ । अन्याय, अत्याचार र अमानवीय प्रवृत्तिमाथि सत्य र धर्मको विजय भएको दिनका रूपमा यसलाई लिइन्छ । त्यसैले यस अवसरमा देवीको आराधना र रामको पूजा विशेष मानिन्छ ।

ncell

नेपाल र भारतका केही स्थानमा दसैंलाई मांसाहारी पर्वका रूपमा मनाउने चलन छ भने अन्य धेरै स्थानमा सनातन धर्मावलम्बीले शाकाहारी रूपमा पर्व मनाउँछन् । बौद्ध परम्परामा पनि विजयादशमीको आफ्नै अर्थ र अभ्यास छ । विशेषगरी काठमाडौं उपत्यकामा सनातन र बौद्ध समुदायले आ–आफ्नो परम्परा र मान्यताअनुसार दसैं मनाउँदै आएका छन् । कतिपय अवस्थामा यी परम्परा यति नजिक देखिन्छन् कि समुदाय छुट्याउनसमेत कठिन हुन्छ । 

विजयादशमीको दिन थेरवाद र महायान बौद्ध परम्परामा अहिंसा, शान्ति र हिंसा त्यागको दिनका रूपमा पनि स्मरण गरिन्छ । यस दिन विहार तथा चैत्यमा विशेष पूजा–आराधना गरिन्छ र अहिंसा, शान्ति तथा सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गरिन्छ । यस सन्दर्भमा मौर्य सम्राट अशोकको प्रसंग महत्त्वपूर्ण मानिन्छ । बौद्ध परम्परामा विजयादशमीलाई अशोकले हिंसाको बाटो त्यागी बौद्ध धर्म तथा धम्मको मार्ग अपनाएको दिनका रूपमा स्मरण गर्ने गरिन्छ ।

गौतम बुद्धको महापरिनिर्वाणपछि करिब तीन सय वर्षपछि अशोकको समय सुरु भएको मानिन्छ । त्यतिबेला हालको भारत एउटै राज्य थिएन । विभिन्न राज्य र साम्राज्य अस्तित्वमा थिए । तीमध्ये पाटलीपुत्र शक्तिशाली राज्यका रूपमा परिचित थियो, जुन अहिलेको विहार राज्यमा पर्ने पटना आसपासको क्षेत्र हो । 

अशोक राजा विन्दुसारका छोरामध्ये एक तथा मौर्य साम्राज्यका संस्थापक चन्द्रगुप्त मौर्यका नाति थिए । उनी राजगद्दीको स्वाभाविक उत्तराधिकारी थिएनन् । तर शासनसत्ताप्रतिको महत्त्वाकांक्षाका कारण उनले दाजुभाइसँग संघर्ष गरे र अन्ततः राजगद्दीमा पुगे । 

राजा बनेपछि उनले राज्य विस्तारको अभियान तीव्र बनाए । छोटो समयमै मौर्य साम्राज्य भारतीय उपमहाद्वीपको ठुलो भूभागसम्म फैलियो । यही विस्तारवादी अभियानका क्रममा कलिंगसँग उनको भयानक युद्ध भयो । इसापूर्व २६१ तिर भएको कलिंग युद्धमा अशोक विजयी भए । तर युद्धले ठुलो जनधनको क्षति भयो । हत्या, विनाश र पीडाको त्यो दृश्यले उनलाई गहिरो रूपमा विचलित बनायो । विजयपछि पनि उनी शोक र पश्चात्तापमा परे । त्यसपछि बौद्ध भिक्षु उपगुप्तसँगको भेटले उनको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याएको बौद्ध परम्परामा उल्लेख पाइन्छ । उपगुप्तको शिक्षाबाट प्रभावित अशोकले विगतको हिंसात्मक जीवनप्रति पश्चात्ताप गर्दै बौद्ध धर्म र धम्मको मार्ग अपनाउने अठोट गरे ।

त्यसपछि अशोकको जीवनको दिशा नै परिवर्तन भयो । उनले हतियार र हिंसाको बाटो त्यागेर अहिंसा, धार्मिक सहिष्णुता, सत्य र प्राणीहितलाई प्राथमिकता दिए । त्यसैले बौद्धमार्गीका लागि विजयादशमी एउटा पर्व मात्र होइन, हिंसामाथि अहिंसा र अशान्तिमाथि शान्तिको नैतिक तथा आध्यात्मिक विजयको दिन पनि हो । 

अशोकले आफू मात्र धम्मको मार्गमा लागेनन्, बौद्ध शिक्षाको प्रचार–प्रसारमा पनि ठुलो योगदान दिए । आफ्ना परिवार र अनुयायीलाई समेत यस अभियानमा सहभागी गराउँदै बौद्ध शिक्षा भारतवर्षभन्दा बाहिरसम्म फैलाउन भूमिका खेले । बुद्धका आर्यसत्य, शान्ति, मैत्री र करुणाजस्ता शिक्षाले विभिन्न भूगोल र समुदायमा प्रभाव पार्न थाले । 

यसरी एउटै विजयादशमीलाई सनातन परम्पराले दैवी शक्तिको विजयका रूपमा सम्झन्छ भने बौद्ध परम्पराले अहिंसा, शान्ति र करुणाको विजयका रूपमा स्मरण गर्छ । अर्थ र अभ्यास फरक भए पनि दुवै परम्पराले अन्ततः असत्यमाथि सत्य, हिंसामाथि अहिंसा र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिन्छन् । 

सम्बन्धित खबर