
काठमाडौंमा रहेका देवर–देउरानीकी सानी छोरीसँग कुरा गर्दै थिएँ । कुराकानीकै क्रममा उनले अचानक सोधिन्, ‘हजुरहरू दसैंमा कहिल्यै पनि नेपाल नआउनुहुने किन हो ?’
उनको त्यो सरल प्रश्नले एकछिन मन छोयो । सुन्नासाथ मन नेपाल पुग्यो– घरको आँगनमा, आफन्तको भिडमा, बाल्यकालका ती दसैंका सम्झनामा ।
हुन पनि दसैंमा नेपाल नजानु हाम्रो रहर होइन, परिस्थितिले बनाएको दूरी हो । हाम्रो परिवारले नेपाल छोडेको यही अक्टोबर ४ मा १२ वर्ष पुगेछ । दसैंको भोलिपल्टै देश छोडेर हिँडेको त्यो दिन आज पनि सम्झनामा ताजै छ ।
आज हामी नेपालबाट करिब १० हजार ७०० किलोमिटर टाढा क्यानडामा छौं । आउजाउमै कम्तीमा चार दिन लाग्ने भएकाले चाहेर पनि चाडपर्वमा नेपाल पुग्न सहज छैन । सायद त्यसैले होला, परदेशमा दसैं अलि बढी भावुक हुन्छ ।
बाल्यकालको दसैं
दसैं सम्झिनासाथ बाल्यकाल आँखाअगाडि आउँछ । त्यतिबेला दसैं भनेकै नयाँ लुगा, निधारभरि रातो टीका, कानपछाडि जमरा, आफन्तको घरमा जाने, दक्षिणा थाप्ने र दिनभर रमाउने समय थियो । अहिले सम्झिँदा लाग्छ– आशीर्वादभन्दा दक्षिणाकै मोह बढी थियो कि !
जसले धेरै दक्षिणा दिनुहुन्थ्यो, उहाँको घर छुटाउन्नथ्यौं । साँझ सबैजना जम्मा भएपछि कसले कति दक्षिणा पायो भनेर पैसा गनिन्थ्यो । धेरै पाउनेसँग अलि डाहा र कम पाउनेलाई हेरेर मनमनै खुसी हुने बालसुलभ रमाइलो पनि दसैंकै हिस्सा थियो ।
मेरो बाल्यकालको दसैं पोखराको घर र मामाघरतिर बित्यो । कामका सिलसिलामा टाढा रहने बुबाआमा पनि दसैंमा घर फर्किनुहुन्थ्यो । उहाँहरू आएपछि घरको रौनक नै अर्कै हुन्थ्यो । आफन्त भेटघाट, घरको चहलपहल र आँगनदेखि भान्सासम्मको उत्साहले दसैंलाई विशेष बनाउँथ्यो ।
विवाहपछि दसैंको अर्थ फेरियो । उत्साहसँगै जिम्मेवारी थपियो । दुर्गा पूजा, घर सफा गर्ने, नयाँ लुगा किन्ने, खसीको चाँजोपाँजो मिलाउने, नयाँ पैसा साट्ने, मिठामिठा परिकार बनाउने र आफन्तसँग भेटघाट गर्ने क्रम चल्थ्यो ।
परिवारसँग बसेर तास खेल्नु पनि दसैंको रमाइलो थियो । ‘म्यारिज’ त मैले विवाहपछि नै सासूससुरा, श्रीमान्, देवर र अमाजूहरूबाट सिकेकी हुँ । आज पनि त्यो खेल सम्झिँदा परिवारसँग बिताएका ती दिन सम्झिन्छु ।
बुहारी भएपछि दसैंमा चटारो पनि बढ्यो । खाना पकाउने, पाकेको काक्रोको अचार बनाउने, घर सफा गर्ने र पाहुनाको सत्कार गर्दागर्दै दिन बित्थ्यो । पछि विश्वविद्यालयको काम, अनुसन्धान र लेखनले चाडपर्वको बिदा पनि व्यस्त बन्न थाल्यो । तर नवरात्रिमा मन्दिर जाने, पूजा गर्ने र परिवारसँग समय बिताउने क्रम भने छुटेन ।
परदेशको दसैं
आज हामी परदेशमा छौं । यहाँको दसैं नेपालमा बिताएको दसैंजस्तो कहाँ हुन्छ र ! दसैं नजिकिँदै जाँदा घर, परिवार, आफन्त, टीका, जमरा, खानपिन र गाउँघरको माहोल झन् सम्झना आउँछ । क्यानडामा दसैंका लागि नेपालमा जस्तो सार्वजनिक बिदा हुँदैन । त्यसैले काम र छुट्टी मिलाएर चाड मनाउनुपर्छ ।
तर दसैं नजिकिँदै गएपछि नेपाली समुदायमा छुट्टै चहलपहल सुरु हुन्छ ।
‘खसी कहाँ पाइन्छ ?’
‘मासु ल्याइसक्नुभयो ?’
केही परिवार मिलेर फार्मतिर गएर खसीको मासु ल्याउँछौं । घरमा मासु आइपुगेपछि बल्ल मनले भन्छ–‘अब त दसैं आयो ।’
सप्ताहान्तमा साथीभाइ र परिवारसँग भेटघाट, खानपिन, टीका र कहिलेकाहीँ तास खेल्ने क्रम चल्छ । नवरात्रिमा घरमा चण्डी पाठ गर्ने, मन्दिर जाने र पूजा गर्ने गर्छौं । नेपालमा जस्तो बुबाआमा र आफन्तको हातबाट टीका लगाउन नपाए पनि फोन र भिडियो कलमार्फत जोडिन्छौं । अनुहार हेर्छौं, शुभकामना दिन्छौं र ठुलाबडाको आशीर्वाद लिन्छौं ।
क्यानडामा नेपाली समुदाय पनि विस्तार हुँदै गएको छ । नेपाली पसलमा मसलादेखि चाडपर्वका सामग्रीसम्म पाइन थालेका छन् । विभिन्न संघसंस्थाले दसैं, तिहार, तिजजस्ता पर्व सामूहिक रूपमा मनाउँछन् । सांस्कृतिक कार्यक्रम, भेटघाट र कहिलेकाहीँ नेपालबाट कलाकार बोलाएर गरिने कार्यक्रमले परदेशमा पनि नेपालीपनको अनुभूति गराउँछ ।
तर परदेशको दसैंको सबैभन्दा ठुलो अर्थ अर्को पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिराख्नु हो । क्यालगरीमा नेपाली भाषा र संस्कृति संरक्षणका लागि दुईवटा नेपाली पाठशाला सञ्चालनमा छन् । त्यहाँ बालबालिकाले भाषा सिक्नुका साथै जमरा राख्ने, टीका लगाउनेलगायतका परम्परा पनि सिक्छन् ।
उनीहरूले नेपालमा हुर्केर दसैं अनुभव नगरे पनि यस्ता प्रयासले संस्कृति र पहिचान पुस्तान्तरण गर्न मद्दत गर्छ ।
हिजो सासूआमासँग भिडियो कलमा कुरा हुँदा भन्दै हुनुहुन्थ्यो, ‘अब त दसैंको चटारो सुरु भइसक्यो । दक्षिणाका लागि नोट साट्न पनि ढिला भइसक्यो ।’
उहाँको कुरा सुन्नासाथ केही वर्षअघिको एउटा घटना सम्झिएँ । दसैंमा दक्षिणा दिन नयाँ क्यानेडियन नोट साट्न बैंक पुगेकी थिएँ । त्यही साता धेरै नेपाली साना नोट साट्न आएका रहेछन् ।
बैंकका कर्मचारीले सोधे, ‘यो हप्ता धेरै नेपाली ग्राहक साना नोट साट्न आउनुभएको छ । कुनै विशेष कारण हो ?’
मैले मुस्कुराउँदै भनेँ, ‘हो, दसैं आउँदै छ ।’
उहाँलाई दसैंबारे खासै थाहा रहेनछ । मैले टीका, जमरा, आशीर्वाद र दक्षिणाको हाम्रो परम्पराबारे छोटकरीमा बताएँ । त्यो क्षण निकै रमाइलो लाग्यो । हजारौं किलोमिटर टाढा क्यानाडाको एउटा बैंकमा बसेर पनि साना नोटले मलाई आफ्नै घरको दसैं सम्झाइरहेका थिए ।
सानी छोरीले सोधेको प्रश्नको हामीसँग सायद सरल उत्तर छैन, ‘हजुरहरू दसैंमा नेपाल किन नआउनुहुने ?’
समय, परिस्थिति र जिम्मेवारीले हामीलाई देश र आफन्तबाट टाढा राखेको छ । तर एउटा कुरा निश्चित छ– हामी जहाँ भए पनि दसैं आउँदा मन भने नेपालमै पुग्छ । घरको आँगनमा, बुबाआमाको सम्झनामा । आफन्तको बीचमा, टीका र जमराको आत्मीयतामा ।
सायद यही हो– परदेशको दसैं ।
हाल : क्यालगरी, क्यानडा