२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

किशोर जोगाऊ

Nada
२०८२ चैत १९ गते ०६:१०
Shares
किशोर जोगाऊ

देशभरका बाल सुधारगृहमा रहेका एक हजारभन्दा बढी किशोरमध्ये झन्डै ५९ प्रतिशत यौनजन्य अपराधमा संलग्न रहेको पाइएको छ । यीमध्ये अधिकांश जबरजस्ती करणीको अभियोग ठहर भएका किशोर हुन् । केही सुधारगृहमा त आधाभन्दा बढी किशोर नै यस्तै अपराधमा कैद छन् । यो तथ्यांकले आफ्ना सन्तानको किशोरावस्थाप्रति अभिभावकले विशेष ध्यान दिनुपर्ने देखाएको छ । किशोरावस्था संवेदनशील उमेर समूह हो । १० देखि १९ वर्षबीच शरीर, भावना र सोचमा तीव्र परिवर्तन आउँछ । किशोरकिशोरीमा जिज्ञासा बढ्छ । विपरित लिंगीप्रतिको आकर्षण बढ्छ । तर, निर्णयका लागि परिपक्व भइसकेका हुँदैनन् । यस्तो बेला सही मार्गदर्शन नपाए किशोरहरू जस्तोसुकै गलत बाटोमा जान सक्छन् । 

ncell

किशोरहरू ठूलो संख्यामा यौन अपराधमा संलग्न देखिनुले विद्यालयमा यौन शिक्षाको अभाव खट्किएको छ । अहिले पनि विद्यालयमा खुलेर यौन शिक्षा पढाइन्न । आपसी सम्बन्धका सीमा र कानुनी व्यवस्थाबारे किशोरकिशोरी अनभिज्ञ भएरै हुर्किन्छन् । मधेस र पहाडी क्षेत्रमा किशोरावस्थामै भागेर बिहे गर्नेको संख्या ठूलो छ । बालविवाहलाई सामान्य मान्ने प्रवृत्तिले पनि सामाजिक समस्या गहिरिँदै गएको छ । पछिल्लो समय किशोरहरूमा सामाजिक सञ्जालको लत बसेको छ । त्यहाँ भेटिने जस्तासुकै सामग्री हेर्ने र त्यहीअनुसार गतिविधिमा लाग्नाले पनि विकृति बढेको छ । अर्को समस्या कानुनी ज्ञानको कमी हो । १८ वर्षमुनिको शारीरिक सम्बन्ध कानुनतः बलात्कार हुने धेरै किशोरलाई थाहा नहुनसक्छ । जसका कारण कम उमेरमै यौनजन्य गतिविधिमा किशोरकिशोरीको संलग्नता बढेको पाइन्छ । सहमतिमै भए पनि त्यस्तो सम्बन्ध बलात्कार हुन्छ । यसले पीडितलाई मात्र होइन, पीडक भनिएका किशोरको जीवनमा गहिरो असर गर्छ । विद्यालय, परिवार र समाजले यसबारे बेलैमा नबुझाउँदा अहिले समस्या बढेको देखिन्छ । 

यौनजन्य अपराधबाट किशोरहरूलाई जोगाउन मुख्यतः केही कदम चाल्नुपर्ने देखिन्छ । पहिलो, विद्यालयमा व्यावहारिक यौन शिक्षा अनिवार्य पढाउनुपर्छ । किशोरावस्था, यौन र कानुनी व्यवस्थाबारे राम्ररी बुझाउनुपर्छ । अर्को, परिवारमा संवाद बढाउनुपर्छ । आफ्ना सन्तानको मनोविज्ञान अभिभावकले जति अरूले बुझ्न सक्दैन । त्यसैले आफ्ना छोराछोरीको संगत, उठबस, बानीव्यवहार हेरेर उनीहरूलाई गलत बाटोमा जानबाट रोक्नुपर्छ । त्यस्तै, मोबाइल र इन्टरनेट प्रयोगमा निगरानी आवश्यक छ । यसमा पनि अभिभावक सजग हुनुपर्छ । बलात्कारजस्तो जघन्य अपराधमा किशोरहरूको संलग्नता बढ्नु चिन्ताको विषय हो । यो क्रम रोक्न कडा कानुनी व्यवस्थाले मात्र पुग्दैन । अपराध भइसकेपछि पछुताउनुभन्दा पहिल्यै आफ्ना सन्तानलाई सही बाटो देखाएर जोगाउनुपर्छ । केहीअघिसम्म किशोरी जोगाऊ अभियान चलाइँदै आइएकोमा अब किशोर जोगाउनुपर्ने बेला आएको छ । 

सम्बन्धित खबर