
‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नाराका साथ ३८औं विश्व एड्स दिवस मनाउँदा नेपालका दुई सन्देश सकारात्मक छन् । पहिलो, एचआइभी संक्रमितको संख्या निरन्तर घटिरहेको छ । अर्को, संक्रमितको आयु बढिरहेको छ । एचआइभी/एड्स संक्रमितको यो तथ्यांकले नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा भएको सुधारको संकेत देखाएको छ । कुनैबेला भयावह दरले फैलिएको यो संक्रमण पछिल्ला तीन आर्थिक वर्षमा निरन्तरण घट्नु महत्वपूर्ण उपलब्धि हो । रोग प्रतिरोधात्मक औषधि (एआरटी)को पहुँच विस्तार, व्यापक जनसचेतना, जोखिम समूहलक्षित सेवा र सरकारी पहलले संक्रमणदरमा आएको घटेको हो । एचआइभी संक्रमितले साधारण मानिसझैं जीवन बाँच्न सम्भव हुँदै गएको छ, जुन सुखद् छ । तर यत्तिमै सन्तुष्ट हुने अवस्था भने छैन । अहिले पनि नेपालमा ३४ हजारभन्दा बढी एचआइभी संक्रमित रहेका छन् । तीमध्ये बर्सेनि झन्डै ५ सयको मृत्यु भइरहेको छ । दैनिक मृत्यु अनुपात पनि उल्लेख्य छ । तैपनि संक्रमितको संख्या घट्नु र आयु बढ्नु आफैंमा सकारात्मक छ ।
एचआइभी पहिलेजस्तो उपचारै नहुने प्राणघातक रोग रहेन । अहिले देशभर ९६ वटा एआरटी केन्द्रमार्फत संक्रमितले सेवा लिइरहेका छन् । त्यसले संक्रमितको आयु बढाउन मद्दत पुर्याइरहेका छन् । तर दुर्गम तथा जोखिम समूह बसोबास गर्ने क्षेत्रका एआरटीलगायत औषधि नियमित उपलब्ध हुनुपर्छ । एचआइभी संक्रमितको उपचार पहुँच र निरन्तरतामा सुधार गर्नुपर्ने देखिन्छ । अर्को, एचआइभी संक्रमितप्रति अहिले पनि भेदभाव कायमै छ । संक्रमित केही वर्ष मात्र बाँच्छन् भन्ने भ्रमले पनि उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण भिन्न छ । आयु लामो नभएको भन्दै परिवारभित्रबाटै परीक्षण टार्ने, उपचार छोड्ने, वा संक्रमित लुकाउने प्रवृत्ति व्यापक छ । जबकि चिकित्सकहरूले समेत एआरटी सेवन गर्ने संक्रमित सामान्य जीवन बाँच्न सक्ने बताइरहेका छन् । संक्रमितले पनि स्वस्थ बच्चालाई जन्म दिन सक्ने स्वास्थ्य प्रविधि विकास भइसकेको छ । गर्भवती महिलाको परीक्षण र शिशुमा संक्रमण रोकथाम कार्यक्रमलाई अझै सशक्त बनाउनुपर्छ । एचआइभी संक्रमितका लागि सहज र निःशुल्क स्वास्थ्य परीक्षण तथा संक्रमण रोकथाम सेवा गाउँसम्मै बिस्तार गर्नुपर्छ । यो सन्देश अझ प्रभावकारी रूपमा समुदायसम्म पुर्याउनु आवश्यक छ ।
नेपालमा संक्रमितमध्ये अधिकांश लागूऔषध प्रयोगकर्ता, यौनकर्मी तथा उनका ग्राहक, समलिंगी पुरुष, ट्रान्सजेन्डर, विदेश जाने पुरुष र उनीहरूका पत्नीहरू छन् । कारागारमा समेत ५० संक्रमित छन्, जो नियमित एआरटी सेवा लिइरहेका छन् । यस स्थितिमा सबैभन्दा पहिले संक्रमितको पहिचान दर बढाउनुपर्नेछ । अहिले पनि २३ प्रतिशत संक्रमित पहिचानबाहिर रहेको तथ्य आफैंमा चुनौतीपूर्ण छ । मोबाइल क्लिनिक, समुदाय–केन्द्रित परीक्षण सेवा, जोखिम समूहमा गोपनीय परीक्षण कार्यक्रमलाई अझ मजबुत बनाउनुपर्छ । संक्रमण दर घट्दै गएको अवस्थामा अब स्वास्थ्य नीतिसहित नयाँ प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता छ ।