२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

अन्त्य होस् दलभित्रको दलन

Nada
२०८२ मंसिर १४ गते ०६:१०
Shares
अन्त्य होस् दलभित्रको दलन

देश लोकतान्त्रिक रूपान्तरणको दिशातर्फ अघि बढिरहे पनि राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर छ । सबै वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व गराउन दलहरूले कन्जुस्याइँ गर्दै आएका छन् । विशेषतः समाजको पिँधमा रहेको दलित समुदाय सहभागिता, निर्णय प्रक्रियामा पहुँच र नेतृत्व निर्माणको अवसरबाट वञ्चित हुँदै आएका छन् । नेपालको राजनीतिक इतिहास जति लामो छ, दलित समुदायको सहभागिता पनि उत्तिकै लामो छ । तर मुख्य दलहरूका शीर्ष नेतृत्वमा दलित पुग्ने स्थिति बनेको छैन । यसले दलहरूमा आदर्श र व्यवहारबीच गहिरो खाडल देखिन्छ । सतही प्रतिबद्धता, भाषणमा दोहोरिने समावेशीता र दस्तावेजमै सीमित समान अवसरका नारा व्यवहार भने निकै कमजोर साबित भइरहेका छन् । परिणामतः दलभित्रै उब्जिने सूक्ष्म दलन, पद बाँडफाँटमा हुने पूर्वाग्रह र अवसर छान्ने प्रवृत्तिले दलित समुदायलाई संस्थागत रूपमा पछाडि धकेलिरहेको देखिन्छ ।

ncell

लोकतान्त्रिक पार्टीहरू विविधता, समान पहुँच र सहअस्तित्वको मूल मान्यतामा आधारित संगठन हुन् । तर उत्पीडित वर्ग समुदायमाथि दलनका नयाँनयाँ रूप देखापरिरहेका छन् । खुला विभेद घटेजस्तो देखिए पनि आन्तरिक पूर्वाग्रह, व्यवहारको भेद र संरचनागत दबाब अझै बलियो छ । दलित कार्यकर्तालाई देखावटी प्रतिनिधि बनाइए पनि उनीहरूको आवाज सुन्न बेवास्ता गर्नुले दलहरू र तिनका शीर्ष नेतृत्वमाथि निरन्तर प्रश्न उब्जाइरहेको छ । यसले दलित समुदाय अन्यायमा मात्र परेको छैन, समग्र लोकतन्त्रलाई नै कमजोर बनाइरहेको छ । 

यस्ता प्रवृत्ति अन्त्यका लागि दलहरूले अब भाषण र कागजी प्रतिबद्धताभन्दा संरचनामै सुधार गर्नुपर्ने खाँचो छ । त्यसका लागि प्रतिनिधित्वलाई कोटामा सीमित नराखी निर्णय तहमा पुग्ने बाटो खोल्नुपर्छ । नेतृत्व चयन, कार्यविभाजन र मनोनयनमा जातीय पूर्वाग्रह अन्त्य गरी क्षमतालाई आधार बनाइनुपर्छ । अर्को, दलभित्र अनिवार्य समावेशीता लागू गर्ने कडाइका नियम बनाउनुपर्छ, ताकि जनसंख्याका आधारमा प्रभावकारी प्रतिनिधित्व होस् । प्रभावकारी सहभागिताबिना उनीहरूको आवाज औपचारिकता मात्र बन्न पुग्छ । अहिले भइरहेको पनि त्यही हो । दलितको प्रतिनिधित्व र नेतृत्व बढ्नु एउटा समुदाय विशेषको विषय मात्र होइन, हाम्रो लोकतान्त्रिक अभ्यासको स्वास्थ्य परीक्षणको कसी पनि हो । लोकतन्त्रलाई बलियो बनाउन आन्तरिक असमानता अन्त्य गर्नु दलहरूको दायित्व पनि हो । यही बाटोबाट मात्र समावेशी लोकतन्त्र र न्यायपूर्ण समाजको आधार निर्माण हुन सक्छ ।

uae

सम्बन्धित खबर