२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

संकटबाट निस्कने कांग्रेसको बाटो

Nada
२०८२ मंसिर १२ गते ०६:१०
Shares
संकटबाट निस्कने कांग्रेसको बाटो

सात दशकको राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज आफैं अनिर्णयको बन्दी बनेको छ । एक महिना लामो बैठक बसेर पनि कुनै ठोस निर्णयमा पुग्न नसक्नुले उसको निर्णय क्षमतामाथि मात्र प्रश्न उठाएको छैन, पार्टी गम्भीर संकटमा पुगेको सन्देशसमेत दिइरहेको छ । विधानले प्रस्ट बोले पनि कांग्रेसले १५औं महाधिवेशनको मिति टुंग्याउनसम्म सकेको छैन् । संस्थापन समूह आमचुनावपछि महाधिवेशन गर्ने भन्दै नियमित महाधिवेशन नै टार्ने रणनीतिमा छ भने संस्थापनइतर समूह सके नियमित नभए विशेष महाधिवेशन नै गरेर भए पनि नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने अडानमा छ । दुई पक्षका आआफ्ना स्वार्थले कांग्रेसले मिलनबिन्दु भेटाउन नसक्दा कांग्रेस अनिर्णयको बन्दी बन्न पुगेको छ । दुई समूहका अडानले पार्टीलाई फुटतर्फ लैजाने त होइन भन्ने संशय पनि कार्यकर्ता पंक्तिमा उत्पन्न गरिदिएको छ । त्यसको प्रभाव कांग्रेस पार्टीमा मात्र नभई समग्र राष्ट्रिय राजनीतिसम्मै देखिन थालेको छ । 

ncell

पुरानो लोकतान्त्रिक दल भए पनि कांग्रेसमा कहिल्यै समयमा पार्टी महाधिवेशन हुन सकेको छैन । भ्रातृ संगठनमा समेत नियमित अधिवेशन हुँदैन । नेपाल विद्यार्थी संघ, तरुण दलजस्ता भ्रातृसंगठन वर्षांैदेखि मनोनीत नेतृत्वबाट चल्दै आएका छन् । त्यसले कांग्रेसको लोकतान्त्रिक छविलाई नै धुमिल पारिदिएको छ । जेनजी आन्दोलनले गरेको राजनीतिक परिवर्तनले सत्ता उलटफेरसँगै शक्ति–सन्तुलनमै उथलपुथल ल्याउँदासमेत कांग्रेस महाधिवेशनको निर्णय गर्न नसक्ने स्थितिमा पुगेको देखिन्छ । 

त्यसो त कांग्रेस लामै समयदेखि आफ्नो राजनीतिक मूल्यमान्यताबाट टाढिँदै गइरहेको छ । आन्तरिक लोकतन्त्र कमजोर छ, गुटबन्दीले एउटा दलभन्दा ज्यादा विभिन्न समूहहरूको मोर्चाजस्तो बनेको छ । यस्तोमा नयाँ पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कार कम्तीमा अहिलेकै अवस्थाको कांग्रेसबाट सम्भव देखिँदैन । अहिलेको संवेदनशील घडीमा कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई बेवास्ता गर्न मिल्दैन । पार्टीलाई सही दिशातर्फ ल्याउन सबैभन्दा पहिले निर्णय क्षमता देखाउनुपर्छ । नियमित वा विशेष महाधिवेशन बोलाएर नेतृत्व तथा संगठन दुवैलाई पुनर्जीवन दिनुपर्छ । प्रक्रिया पुर्‍याउन मात्र महाधिवेशन गर्ने होइन कि प्रतिस्पर्धात्मक एवं निहित स्वार्थबाट मुक्त नेतृत्व चयन गरेर देखाउनुपर्छ । जनतासँग टुटेको सम्बन्ध पुनः जोड्न सुशासन, विकास र भ्रष्टाचारविरुद्ध स्पष्ट योजना र कार्यान्वयनयोग्य नीति अघि सार्नुपर्छ । यी काम गर्न कांग्रेस जति ढिलो हुन्छ, राष्ट्रिय राजनीतिमा उसको निर्णायक क्षमतामा ह्रास आउनेछ । एउटा परिपक्व लोकतान्त्रिक दलको छवि धुमिल हुनेछ भन्ने हेक्का कम्तीमा नेतृत्वले राख्नुपर्छ । अहिलेको समय नेतृत्वको स्वार्थ–आश्रित मौनता होइन, साहसिक आत्मपरीक्षण र निर्णायक कारबाहीले मात्र कांग्रेसलाई संकटबाट बाहिर निकाल्न सक्छ ।

uae

सम्बन्धित खबर