२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

मन्त्री–सांसद किचलो

draupadi film
जानकी पाठक
२०८१ मंसिर ४ गते ०६:४०
मन्त्री–सांसद किचलो

काठमाडौं : गत शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आमनेसामने भए । विधेयकमाथि छलफल गर्न बसेको बैठकमा महामन्त्री शर्माले प्रश्न गरे, ‘तपाईं गाँसिएको संस्था कालोसूचीमा परेको विवरण सार्वजनिक भएको छ । यसमा गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

पार्टीको नीतिअनुसार जनताको पक्षमा काम गर्नु उनको प्रमुख दायित्व हो । यही दायित्व बहन गर्दै आएको दाबी गर्ने तामाङ गत शुक्रबार कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माको आलोचनाको सिकार भए । 

तामाङले प्रतिवाद गरे, ‘समितिको बैठकको छलफलको विषय कालोसूचीको वा सेतोसूचीको प्रस्ताव ल्याउनेसँग जोडिएको छैन ।’ तथापि, प्रश्न उठेको जस्तो आफ्नो संलग्नताको विषय नरहेको प्रष्टीकरण दिए ।

प्रचलित कानुन नियमअनुसार आफूलाई पार्टीले पठाएपछि ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उनले थपे, ‘कानुनभन्दा ठूलो केही हुँदैन । कानुनले ठहर्‍यो भने म एक मिनेटमै मन्त्री छाडेर आफ्नो पेसा, व्यवसायमा, परिवारमा फर्किएर काम गर्न तयार छु ।’

कान्छाराम कन्स्ट्रक्सन कम्पनी २०४४ सालमा दर्ता गरेको कम्पनी भएको र आफूले सांसद पदमा उठ्ने तयारी गरेसँगै उक्त कम्पनीबाट अलग भएको दोहोर्‍याउँदै उनले गलत गरेको पुष्टि गर्न चुनौती दिए । उनको त्यो चुनौती अरू कसैलाई नभएर आफ्नै पार्टीका महामन्त्री शर्मालाई छ ।

उसोत, कांग्रेसका अन्य सांसद र मन्त्रीहरू समेत सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा देखिन्छन् । गत ३० कात्तिकमा राज्य व्यवस्था समितिमै कांग्रेस सांसद हृदयराम थानी गृहमन्त्री रमेश लेखकप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । 

उनले प्रश्न गरे, ‘काम गर्ने अवसर सधैँ नआउन सक्छ । अवसर पाएको बेला निष्पक्ष काम गर्नुपर्छ, यहाँले गर्नुभएकै होला । तर, ओली जोडिएका गिरी बन्धु टी–स्टेट जग्गा घोटला काण्डको अनुसन्धान कहाँ पुग्यो ? यती र ओम्नी प्रकरणको छानबिन अहिले कुन अवस्थामा छ ? यी ठूला भ्रष्टाचार र हिनामिना प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन ?’ 

प्रतिपक्षमा हुँदा कांग्रेसले नै गिरी बन्धु टी–स्टेट प्रकरण संसद्मा प्रवेश गराएको थियो । सत्तामा पुगेपछि आफ्नै पार्टीका सांसदले गृहमन्त्रीलाई प्रतिपक्ष शैलीमा उक्त प्रश्न गरे । गृहमन्त्रीले कुनै जबाफ दिएनन् । 

कांग्रेस मन्त्री र सांसदबीचको घोचपेच र आरोप प्रत्यारोप संसदीय समितिमा मात्र सीमित छैन । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री बद्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईं सार्वजनिक रूपमा गम्भीर आरोप लगाउँदै हिँडेका छन् । 

सांसद बजगाईँले पर्यटनमन्त्री पाण्डेमाथि घूस लिएर रुपन्देही तिलोत्तमास्थित रोयल टाइगर रिक्रियसनलाई क्यासिनो संचालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । त्यसपछि मन्त्री पाण्डे र सांसद बजगाईंबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोपमै चलिरहेको छ । 

२७ कात्तिकमा सार्वजनिक रूपमै मन्त्री पाण्डेले प्रतिवाद गरे, ‘करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीतिक जीवन छाडिदिन्छु ।’ मन्त्री पाण्डेले पार्टीका सांसद बजगाईंलाई प्रतिवादमा गम्भीर आरोप लगाए, ‘निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोबल, आत्मबल गिराउनेगरी काम गरिरहेका छन् ।’ 

पाण्डे र बजगाईंबीचको आरोप प्रत्यारोप कांग्रेसमा उजुरीका रूपमा दर्ज भएको छ । पाण्डेको सचिवालयले पार्टीमा बजगाईंविरुद्ध उजुरी नै दिएका छन् । आफूमाथि आफ्नै पार्टीका सांसदले आरोप लगाएपछि पाण्डेले पार्टीमा उजुरी दिएका हुन् । 

सरकारमार्फत जनताको एजेन्डा सम्बोधन गर्ने जिम्मेवारीमा छन् प्रमुख सत्ता घटक नेपाली कांग्रेसका नेताहरू । तर, यसरी कैयन नेता, सांसद र मन्त्रीहरू आन्तरिक किचलोमा रुमल्लिरहेका देखिन्छन् । आन्तरिक किचलो पन्छाएर काम गर्नुपर्ने आवाज पार्टीभित्रै समेत उठेको छ । नेताहरूका अनुसार पार्टीमा आन्तरिक किचलो बढेको विषयमा कांग्रेसका शीर्ष नेताहरू अनौपचारिक संवादमा समेत छन् ।

ADV

सम्बन्धित खबर

Advertise