
एकिकृत समाजवादीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको प्रस्ताव ल्याउँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहितका पदाधिकारीहरु त्यसको विपक्षमा उभिए । पार्टीले बहुमतका आधारमा एकताको निर्णय लिँदा खनालले छुट्टै दल खोलेर समाजवादी यात्रा अघि बढाउने घोषणा गरे । तर संस्थापनसँग असन्तुष्ट समूहमै विभाजन आएपछि भने उनी एक्लिए । आफूलाई कसैले साथ नदिएपछि अन्ततः उनी युटर्न भए र वाम दलहरुको एकता सम्मेलनमा सहभागी हुन पुगेका छन् ।
भृकुटीमण्डपबाट घोषणा भएको नेपाली कम्युनिस्ट पार्टीमा खनालले तेस्रो वरीयतामा पाउने भएका छन् । यसअघि वामदेव गौतम तेस्रो वरीयतामा थिए । बुधबार बिहान खनाल र प्रचण्डबीच छलफल भएपछि शीर्ष नेताहरु उनलाई तेस्रो वरीयता दिने सहमतिमा पुगेका हुन् । यसअघि मंगलबार साँझ उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास गुण्डु पुगेका थिए । एमालेमा फर्किन उनले जबज छाड्नुपर्ने लगायतका चार सर्त राखेका थिए । तर, ओली तयार भएनन् ।
पार्टी संस्थापन एकतामा गएपछि महासचिव भुसाल र झाँक्री समूहको साथ पाउने उनको आशा थियो । तर ती दुई समूह पनि आआफ्नो बाटोमा लागेपछि पूर्वप्रधानमन्त्री खनाल एक्लिएका थिए । बुधबार बिहान मात्रै झाँक्री समूहले एमालेमा फर्किने घोषणा गर्यो भने भूसालले पार्टी पुनर्गठनको आह्वान गर्यो । ती दुई समूहले पत्रकार सम्मेलन गर्दासम्म खनालले कित्ता क्लियर गरेका थिएनन् । एकतामा नगए झन् एक्लिने बुझेपछि अन्ततः उनी भृकुटीमण्डप पुगेका थिए ।
एकता सम्मेलनमा पुगेर उनले आफ्नो ध्येयबारे लामै प्रष्टिकरण दिए । कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने आफ्नो ध्येय रहेको उल्लेख गर्दै खनालले भने, ‘प्रचण्डसँग केही कुरामा फरक मत भए पनि म सिंगो मुलुकलाई एकताबद्ध गर्नका लागि वामपन्थीहरु एकताबद्ध हुनुपर्ने अडान छु । त्यसैले ढिलो गरेर भए पनि सहभागी भएँ ।’ उनले मुलुकलाई संकटबाट पार लगाउन सिंगो वामपन्थी दलहरु एकठाउँ उभिनुको विकल्प नरहेको पनि बताए ।